चिन्ताले लैजान्छ चिता

265417_10150241950363963_541360_o

चिन्ता हाम्रो शरीरको प्राकृतिक प्रतिक्रिया हो, जसले सुरुमा हामीलाई फाइदा गर्दछ । यसले खतरालाई औंल्याउंदछ । व्यक्तिगत विजयको र जीवनको अर्थबारे अनुभव गराउँदछ । बांच्नको निमित्त हामीमा निश्चित चिन्ता चाहिन्छ । यो विना हामीलाई पछुतो र वोर लाग्छ । चिन्ताले हाम्रो सामर्थ्य, शक्ति र साहसमा आउने  कठिनाइबाट जोगाउँदछ । चिन्ताले हाम्रो चाख बढाएर निर्धक्क प्रतिस्पर्धाबाट बचाएर व्यक्तिगत केही पाएको जस्तो बनाउँछ । चिन्ता भनेको कुनै पनि माग हामीमा राखिएको त्यो मागको हाम्रो अनुभव नै हो चिन्ता प्रत्येक व्यक्तिमा फरक फरक हुन्छ । किनभने हामी सबैसँग वितेका दिनहरुको अनुभव अलग अलग छन् । यदि  हामीमा चिन्ता  छैन भने कुनै प्रतिस्पर्धा रहँदैन र जीवनमा हामीले प्राप्त गरेका सफलता र हाम्रो जीवनको उद्देश्य र कुनै अर्थ रहँदैन ।

चिन्ताका प्रकार 

  • सुक्ष्म चिन्ता:

क्षमताको कम उपयोग हुन्छ, केही गर्ने सामर्थ्य विना पछुतो र वोर हुन्छ । व्यक्तिगत सफलताको निमित्त केही ईख रहदैन । जीवनको उद्देश्य मानेमा नै कमी आउँदछ ।

  • उचित चिन्ता: जीवन भनेको सन्तुलित व्यवस्थापन हो । यसले व्यक्तिले चाहेको सफलता हासिल गर्दछ र कामको सन्तुष्टिको अनुभव लिन्छ । यसलाई व्यक्तिगत बिजय ठान्दछ ।
  • अति चिन्ता: सधै पिर बढिरहन्छ, चाहेको केही पनि नपाउनु  । जीवनमा आफूले प्राप्त गर्ने चाहेको सफलता धेरै कठीन  हुनु ।
  • विकृत चिन्ता : अति चिन्ताले अति धूमपान र मद्यपान गर्ने, काममा दुर्घटना हुन सक्ने हुन्छ । यो बेला व्यक्तिले टेन्सनलाई सामना गर्न सक्दैन । परिवार र साथीभाई बिचमा व्यक्तिगत नाता कमजोर हुन्छ । यदि यस अवस्थामा व्यक्तिले चिन्ता सन्तुलन गर्न तत्काल कदम नचालेमा शारीरिक वा मानसिक रूपले असन्तुलन आउछन । जस्तै हृदयघात र डिप्रेसन हुन्छ ।

चिन्ताका खतरनाक लक्षणहरू

मनोवैज्ञानिक लक्षणहरू

– धैर्य हुन नसक्ने र झर्को लाग्ने, इच्छाविहीन हुनु, दोषी ठान्नु, मुड फेरिरहने, नियन्त्रण गुमेको अनुभव, आत्मबलको कमी, ध्यान नपुर्‍याउनु, उत्पादक कम हुनु, नर्भस हुनु, हिंसात्मक हुनु, भावुक, निर्णय लिन कठिनाइ, त्यसै थकाइ लाग्ने, स्मरणशक्ति हराउने, सजिलोलाई पनि गाह्रो बनाउने, समय कम भएको लाग्ने, दुःख र हेपेको लाग्ने, डर लाग्ने/एकदम आतिने ।

शारीरिक लक्षणहरू

सुत्ने बानीमा परिवर्तन हुने, चिन्ताले थकित, पाचन प्रणालीमा फरक–टाउको दुखिरहनु, रिंगटा लाग्ने, बेहोश हुने, उल्टी हुने, दिशा लाग्ने, धड्कन बढ्नु, उच्च रक्तचाप, पसिना आउने, डरले काप्नु, अक्सर रुघा लाग्ने, वजन घट्ने बढ्ने,नपुंसक हुनु, शरीरका विभिन्न भागमा दर्द हुने, हात खुट्टो झमझमाउनु आदि ।

धेरै चिन्ता भएर व्यवहारमा हुने लक्षणहरू

भोकमा परिवर्तन: खांदै नखाने या एक दम धेरै खाने भोक, मदिराको सेवन र धूमपान बढी, बेचैन हुने, नङ टोक्ने, कपाल तान्ने, सामाजिक रूपमा पछाडि हुने, झगडा गर्न खोज्ने,चाखमा गिरावट, स्वयं तिरस्कृत, इच्छामा भारी गिरावट, धेरै काममा नजाने या वहुत काम गर्ने, साँचो बोल्नमा कमी, एउटै चिन्तनमा लागिरहने ।

चिन्ताका कारणहरू 

चिन्ताका बाहिरी र भित्री कारणहरूमा हुन्छन् ।

बाहिरी कारणहरू

  • शारीरिक वातावरण : हल्ला, मोटर गाडीको, काम गर्ने या वस्ने ठाउँ नराम्रो, चर्को बत्ती, न्यानो तापक्रम, साँगुरो ठाउँ, मानिसहरूको भिड
  • सामाजिक : सन्तानहरुको शिक्षा, बिबाह, सामाजिक उठवस्, वादविवाद, नराम्रो बोली, बुझाइ र सहयोगको कमी, अरूले उक्साउने, अरूले झर्को लाग्ने व्यवहार गर्ने ।
  • संस्थागत : नियम र कानुन, समयको माग, कमजोर व्यवस्थापन
  • जीवनको ठूलो घटना: आफ्नो नजिकको मानिसको मृत्यु, पारपाचुके, खराव स्वास्थ्य आदि
  • दैनिक झमेला: हर दिन यात्रा गर्नुपर्ने, गाडी, मेसिन विग्रनु, साँचो हराउनु ।
  • सामान्य :  चाडपर्व, छुट्टी, रोपाइ, असिना पानी पर्नु आदि ।

भित्री कारणहरू:

  • नकारात्मक सोच राख्नु, स्वयमं आलोचना, चाहिने भन्दा बढी विचार विमर्श ।
  • दिमागको धराप: असम्भब उद्देश्य राख्नु, सबै अथवा केही पनि सोच्ने, बढाइ चढाइ गर्ने, सवै कुरा व्यक्तिगत रूपमा लिने ।

चिन्तित व्यक्तिको विशेषता : धेरै काम गर्ने, सवैको ज्ञाता ठान्ने, ज्यादै प्रतिस्पर्धात्मक र सधै हतार हुने, आनन्द गर्न नसक्ने, गलत समयमा दुई वा बढी कामहरू एक साथ गर्ने ।

–जीवनशैलीको छनोट: धेरै कार्यव्यस्तता, कम सुताइ, अस्वस्थ्यकर खाना, बढी क्याफिन खाने ।

–सत्य बोल्नको कमी:  कसैलाई ‘हुदैन भन्न नसक्ने, कसैको दूत हुन नसक्ने ।

–विनाकारणको विचार

यो महत्त्वपूर्ण हो कि के कारणले आफ्नो जीवनमा चिन्ता बढाएको छ, त्यसलाई निर्क्योल गर्नुपर्दछ र त्यसलाई समाधान गर्ने उपाय तय गर्नुपर्दछ । चिन्ता बढाउने कारणहरू के के हुन एउटा कागजमा लेखेर विचार गरेमा समाधानका उपायहरू निकाल्न सजिलो पर्दछ ।

चिन्ता निवारणका तरिकाहरू

जीवनशैली बदलिएर

नियमित व्यायाम:

घटीमा ५ /६ पल्ट हप्तामा २०–३० मिनेट व्यायाम गर्नुपर्दछ । एरोविक व्यायाम गर्नु राम्रो मानिएको छ । यो व्यायाम गर्दा हाम्रो पूरा शरीरको ठूलो अस्थिपन्जर मांशपेशी को उपयोग हुन्छ अनि यसले शरीरमा अक्सिजन सक्षम तरिकाबाट सदैव माग गर्दछ । एरोविक व्यायामका उदाहरणहरूमा पौडी खेल्नु, साइकल चलाउनु, नाच्नु, दौडनु आदि पर्दछन् । छिटो हिड्नु अझै पनि सबै भन्दा वेस एरोविक व्यायाम हो, यसको लागि पैसा खर्च गर्नु पर्दैन । आफ्नो रुटिङमा कसरी नियमित व्यायाम गर्न सकिन्छ विचार गर्नुपर्दछ जस्तै पसलमा जाँदा गाडीको सट्टा हिँड्ने, बसबाट झर्दा अलि वरै झर्ने अनि बाँकी हिड्ने, साथी भाइसँग पनि बसेर गफ गर्नुको सट्टा हिँडेर गर्ने आदि । नियमित व्यायामले शक्ति र मांशपेशीको तागत बढाउँदछ । महत्त्वपूर्ण कुरा चाहिं यस्तो व्यायाम गर्दा धेरै बल जाने तर कम शक्तिको गर्नुपर्दछ । आफूलाई मनपर्ने कुनै काम गरे हुन्छ जसले आफ्नो उमेर क्षमता, दक्षता अनुरुप पनि विचार गर्नुपर्दछ । चाहिने भन्दा बढी व्यायाम गरेमा नोक्सान हुन्छ, दुविधा भए डाक्टरसँग परामर्श गर्नुपर्दछ ।

नियमित व्यायामका फाइदाहरू-

–व्यायाम गर्दा इडोर्फिन  रगतमा छोडिन्छन्, यो केमिकलले सकारात्मक सोच र खुसी बढाउँदछ ।

–व्यायामले दिमागको नकारात्मक सोच घटाउँदछ, गहिरो निन्द्रालाई बढाउंछ ।

–कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेभल कम गर्न मद्दत गर्दछ ।

-रक्तचाप कम गर्न मद्दत गर्दछ, मुटुरोग लाग्ने कम जोखिम हुन्छ ।

–शरीरको मोटोपनको प्रतिशत घटाउँदछ ।

–जोर्नीहरूलाई मद्दत पुर्‍याउँदछ । मसलको शक्ति र तागत बढाउँदछ ।

-आत्मविश्वास तथा काम गर्न सक्ने क्षमता बढाउँदछ ।

स्वास्थ्यकर खाना :

स्वस्थ्यकर खानाले, चिन्तासँग लड्न सुधार पुर्‍याउँदछ । खानाले हाम्रो शरीरको प्रत्येक अङ्गहरूमा असर गर्दछ, मुटु, फोक्सो दिमाग आदिमा । स्वस्थ्य खानाले तन्दुरुस्तीका साथसाथै शक्ति, नसाहरूमा पोषण, रगत संचालनमा सुधार, स्वास प्रस्वासमा सजिलो, रक्तचाप कम, पाचन प्रणालीमा सहयोग, पक्षघात हुने जोखिमबाट कम, सामान्य स्वस्थ्यमा सकारात्मक र शान्त रहन मद्दत आदि गर्दछ ।

खानामा हर हमेसा चिल्लो, चिनी, नुन, क्याफिन,मदिरा आदि कम खाने गरेमा स्वस्थकर बन्न सकिन्छ । दिनमा प्रसस्त फलफुल र सब्जी खानु पर्छ। शरीरलाई आवस्यक मात्रामा पानी पिउनु पर्दछ।

आराम: आराम गर्दा किताव पढ्ने, आफूलाई आनन्द लाग्ने क्रियाकलापहरू गर्ने, साथीभाइसँग भेटघाट  आदिले हाम्रो चिन्ताको लेभललाई कम गर्ने महत्त्वपूर्ण काम हुन्छ । यो कार्य दैनिकरुपमा गर्न सकेमा अझ जीवन सुन्दर हुन्छ ।

निन्द्रा: बेचैन हुनु चिन्ताको उग्ररुप हो । जति थकाइ लाग्दछ उति चिन्ता बढ्छ र सुत्न गाह्रो पर्दछ । त्यसैले निन्द्रा ठूलो औषधी हो, जति गहिरो निन्द्रा पर्‍यो स्फूर्ति शरीरमा आउछ । नियमितरुपमा बेलुका चाँडै सुती बिहान चाँडै  उठ्नु उत्तम हो ।

धूमपान त्याग: धूमपानले विभिन्न किसिमका क्यान्सर, स्वास प्रस्वास, उच्च रक्तचाप र मुटुको रोगलाई निम्त्याउछ । धुम्रपान त्याग्नु नै स्वास्थ सुधार्नु हो। यसको लागि आफ्नो इच्छा शक्ति महत्वपूर्ण कुरा हो।

आफ्नो विचार व्यवहार परिवर्तन :

–दृष्टिकोण: हामीले हेर्ने चिजहरूलाई दृष्टिकोण फरक पार्ने हो जसले गर्दा ती चिजहरूबारे राम्रो विचार बनोस । यसले वाहिरको पदार्थ परिवर्तन गर्दैन तर चिजहरूलाई फरक किसिमबाट कम चिन्तामा देख्न सकिन्छ, उदारहणको लागि एउटा आधी पानी भएको गिलासमा आधी खाली देखिनु जस्तै ।

–सकारात्मक सोचाइ: जहिले पनि सकारात्मक सोच बनाउन अत्यावश्यक छ । चिन्ताले दिमागमा धेरै नकारात्मक बिचार आउंछन् जसले  गर्दा आत्मग्लानी, भयभित अनि नाजुक अवस्थामा पुर्‍याउँदछ । आफ्नो व्यक्तिगत विश्वास कम भई आफ्नो अस्तित्वमा नै प्रश्न आउन सक्छ ।

मनको सत्य भन्ने :  यो भनेको रिस उठ्ने, झोक्किने होइन, खाली सरल रूपमा नियन्त्रण लिने र आफ्नो इच्छा चाहनालाई बुलन्द पारी अरूको हितलाई पनि ध्यान दिने तरिका हो ।  आफूलाई उपयुक्त हुने समय, मिलाई अरूको ध्यान पाउने गरी गर्ने । त्यसपछि विस्तारै कसैलाई पनि आरोप नलगाई सत्य तथ्य वर्णन गर्ने जस्तो “अघि लन्च खानु अघि तपाईले मलाई दुई जना मान्छेको अगाडि गाली गर्नु भयो ।आफूलाई जे लागेको छ भन्ने, जस्तै “मलाई अति लाज लाग्यो अनि दिक्क पनि ।”

-नकारात्मक परिणामवारे खुलाउने: आफूलाई बुझ्न गाह्रो गरी गरेको आलोचनालाई प्रष्ट्याउन लगाउने जस्तै कुन कुराले तपाईको विचारमा म मूर्ख भएँ । यदि त्यहाँ प्रतिज्ञा गरिएको कामवारे नकारात्मक परिणाम आउने भए अरूले परिवर्तन नगरेसम्म आफूले आफ्नो ठाउँ नछोड्ने ।

-प्राप्त गर्न सकिने उद्देश्य मात्र राख्नु पर्दछ ।

-बढी व्यवस्थित हुने: डायरीमा जरुरी कामहरू लेखेर पहिला छुट्याउने, उद्देश्य र क्रियाकलाप बनाउने

–समयको व्यवस्थापनमा सुधार गर्ने ।

समस्या बाँड्ने: नजिकको साथीभाइ, नातेदारलाई मनको चिन्ता या समस्या भन्ने, गुम्स्याएर नराख्ने ।

जति आवश्यक पर्दछ समय लिने । यसले समस्या समाधान गर्दैन तर यसले चिन्ताको लेभल कम गर्न अवसर दिन्छ र समस्याको बारेमा अरू विचार गर्न समय दिन्छ ।

स्वास्थ्यको लागि हाँसौ :  हाँसोले शरीरको मसलको टेन्सनलाई घटाउँछ, श्वास प्रश्वासमा सुधार गर्दछ । मुटुको धड्कनलाई ठिक बनाउँदछ, रगतमा इडोर्फिन  पम्प गर्दछ । मन र दिमागलाई आनन्द दिन्छ। हाँसोले शरीरको चिन्ता कम गर्दछ । सम्भब भएसम्म हाँसो र खुशीको बाताबरणमा समय व्यतित गर्ने प्रयास गरौ।

बर्षौ देखि रहेको चिन्ता निवारण गर्न भने पक्कै सजिलो हुने छैन । तर वितेको आफ्नो कमजोरीबाट सिक्नु पर्दछ । जति कोसिस गर्‍यो उति सहज रूपमा यसको फाइदा पनि पाउन सकिन्छ । चिन्ता अहिले संसारमा मान्छेको स्वास्थ्यमा जोखिम बढाउने प्रमुख कारण हो । चिन्ताबाट न समस्याको हल प्राप्त हुन्छ, न छुट्कारा नै । त्यसैले जति सक्दो चिन्ता पिर कम गरौँ, यही नै सिकौं ।

  • (आचार्य कोरोनरी मुटुरोग-२०१० का लेखक तथा नेप्लिज हार्ट फाउन्डेशन युकेका अध्यक्ष हुन्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री