लन्डन । लामो समयदेखि जारी एनआरएनए यूके विवाद सुल्झिएको छ । यहांको विवाद अध्ययन गर्न गठित छानवीन समितिको प्रतिवेदनपछि एनआरएनए आइसीसीको आज शनिवार सम्पन्न बैठकले विवाद समाधान गरिदिएको हो ।
केन्द्रले दुई साताभित्र केही शर्त पालना गर्न निर्देशन दिंदै महेन्द्र कंडेललाई नै अध्यक्षको जिम्मेवारी सम्हाल्न भनेको छ । केन्द्रको शर्त पालना गरेपछि एक विशेष साधारणसभा मार्फत कंडेलले नेतृत्व लिनेछन् । केन्द्रिय अध्यक्ष शेष घलेको निकट भनिएका योगेन क्षेत्रीमाथि नेतृत्व जाने कतिपयको आशंका विपरित बैठकले कंडेललाई अध्यक्षको जिम्मेवारी लिन भनेको बैठकका सहभागीले जनाएका छन् ।
अध्यक्ष कंडेलले केन्द्रको उक्त निर्णयको स्वागत गर्दै अब संस्थाको साख र गरिमा जोगाइ राख्न अहोरात्र खटिने अठोट गरेका छन् । केही महिनायता गिरेको संस्थाको छवि उकास्न पहल गर्ने पनि उनले बताए । उता, वीनेपालीसंग कुरा गर्दै एनआरएनए आइसीसी सल्लाहकार तथा एनआरएनए यूके संरक्षक मेजर रि. डमर घलेले बैठकको निर्णय बमोजिम छिट्टै विशेष साधारणसभा मार्फत नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया बढाइने उल्लेख गरेका छन् । घलेले केन्द्रबाट भएको प्रजातान्त्रिक निर्णय कार्यान्वयन गर्न आफूले पनि पहल गर्ने र विशेष साधारणसभाको मिति केन्द्रले नै छिट्टै तोक्ने जनाए ।
एनआरएनए आइसीसीले एनआरएनए यूके प्रमुख संरक्षक प्रा. सूर्य सुवेदीको अध्यक्षता तथा संरक्षक डमर घलेको संयोजकत्वमा ३० नोभेम्बर २०१४ का दिन बसेको संरक्षक परिषदको विस्तारित बैठकले भने अनुसार कंडेलले तीन हजार सदस्यहरुको हिसाव किताव मिलान गरि सकेपनि सदस्यता नबुझाएको देखिएकाले तीन हजार सदस्यताको फाराम संरक्षक परिषदलाई बुझाउन तथा नामावली सार्वजनिक गर्नुपर्ने शर्त केन्द्रले पनि राखेको छ । घलेले कंडेल समूहले पूर्व सहमति अनुरुप उम्मेदवारी शुल्क समेत तिर्न बांकी रहेकाले उक्त रकम तिर्न बैठकको निर्देशन रहेको पनि उल्लेख गरे ।
संरक्षक परिषदको विस्तारित बैठकले कंडेललाई सदस्यता बुझाउन निर्देशन सहित ९ बुंदे निर्णय गरेको थियो । आइसीसीको निर्णयपछि एनआरएनए आइसीसीका संस्थापक, पूर्व अध्यक्षहरु तथा पदाधिकारीहरुको निमन्त्रणा गरि एक जानकारी समारोह गर्ने निर्णय पनि भएको थियो । एनआरएनए आइसीसी सल्लाहकार घलेका अनुसार, परिषदको उक्त ९ बुंदे मध्ये धेरैजसो बुंदालाई नै एनआरएनए आइसीसी केन्द्रले अनुमोदन गरेको छ । आइसीसीबाट गठित कुलचन्द्र गौतमको अध्यक्षतामा बनेको छानवीन समितिले पनि गत डिसेम्बर तेश्रो साता बेलायत आएर सम्वन्धित एनआरएनए अगुवाहरुसंग सुझाव सल्लाह लिएको थियो ।
परिषदको लन्डनस्थित नेपाली दूतावासमा सम्पन्न उक्त बैठकले २९ सेप्टेम्बर, ०१३ को सहमतिको कार्यान्वयन हुनुपर्नेमा प्रतिवद्धता व्यक्त गर्दै सोही आधारमा नेतृत्व हस्तान्तरण गर्न तथा कार्यान्वयन नभएका बुंदा कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
एनआरएनए यूकेबारे जनमानसमा गलत सन्देश प्रवाह भएकाले योगेन क्षेत्री र महेन्द्र कंडेलले सार्वजनिक रुपमा विज्ञप्तिमार्फत क्षमायाचना गर्नुपर्ने निर्देशन बैठकको थियो । २९ सेप्टेम्बर, ०१३ को सहमतिमा गठन भएका आर्थिक लगायत सबै समिति क्रियाशिल गराउन पनि बैठकको निर्देशन थियो ।
संस्थाको आगामी निर्वाचन सम्पन्न गर्न बन्ने निर्वाचन समिति संरक्षक परिषदको निर्देशनमा गठन गर्ने तथा संरक्षक परिषदले सम्पूर्ण निर्वाचन सम्वन्धि क्रियाकलाप परिवेक्षण गर्ने, सल्लाहकारको नियुक्ति प्रक्रिया तथा वृद्धाश्रम लगायतका सबै कार्यक्रममा निरन्तरता दिन नयां कार्यसमितिलाई निर्देशन दिएको थियो ।
संरक्षक परिषदको विस्तारित बैठकको ९ बुंदे निर्णय
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो