‘योगेन क्षेत्री मर्यादा र शिष्टताको सीमा नाघेर कुरा गर्छन्’

surya subedi
लण्डन । एनआरएनए युकेका प्रमुख संरक्षक प्रा.डा. सूर्य सुवेदीले एनआरएन केन्द्रले मान्यता दिएका एनआरएनए युके अध्यक्ष योगेन्द्र क्षेत्रीले मर्यादा र शिष्टताको सीमा नाघेर कुरा गर्ने गरेको गम्भीर आरोप लगाएका छन् ।
लण्डनस्थित नेपाली टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा क्षेत्रीप्रति आक्रामक ढंगले प्रस्तुत भएका सुवेदीले भने, “योगेन क्षेत्रीको बारेमा प्रश्नै नगर्नुस् । जो मानिस मर्यादा र शिष्टताको सीमा नाघेर कुरा गर्नुहुन्छ । उहाँका बारेमा विवादै नगरौँ ।”

“कुनै पनि संस्थाभित्र मतमतान्तर विवाद हुन्छन् । २/३ थरी मान्छेहरु हुन्छन् तर त्यसलाई शिष्ट र सभ्य भाषामा समाधान गर्न सकिन्छ” उनले थपे ।
क्षेत्रीको नाम नलिइकन उनले अन्तर्वार्तामा पटकपटक ‘युकेमा आएर पनि नेपालीहरुले सँस्कार नसिकेकोले’ एनआरएन युकेमा समस्या आएको टिप्पणी गरे । ‘भद्रता, शिष्टताको पनि एउटा परिधि छन् । मूल्य मान्यता छन् । मानिसहरुले युके आएर पनि त्यो कुरा सिकेका रहेनछन् । मलाई दुःख लागेको छ’ क्षेत्रीलाई इंगित गर्दै उनले  भने ।
गतवर्षको सहमति तत्कालीन अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको बारम्बारको मौखिक र लिखित अनुरोधमा आफूले गराएको उल्लेख गर्दै सुवेदीले वर्तमान आइसिसीले सो सहमति उल्टाउन नसक्ने जिकिर गरे । “अहिलेको कार्यसमितिको पालामा भएको सहमति होइन । कुनै पनि संस्थामा इतिहास उल्टाउन मिल्दैन । त्यसो गर्ने हो भने त चार वर्ष /छ वर्ष अघिको कुरा पनि त उल्टाए भो नि” उनको भनाइ थियो ।
आफूले सहमति नगराएको भए अहिले एनआरएन धेरै नराम्रो अवस्थामा पुग्ने उनको ठहर छ । त्यतिबेला विश्वभर नै एनआरएन दुई चिरामा विभाजन हुन लागेको र नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलन नै प्रभावित हुन सक्ने खतरा रहेकाले सहमति गराएको सुवेदीको विश्लेषण छ ।
एनआरएन आइसिसीले योगेन क्षेत्रीलाई एनआरएनए युकेको अध्यक्षका हिसाबले काम गर्न दिएको पत्रले एनआरएन आइसिसीले अभिभावकको जिम्मेवारी पूरा गर्न चुकेको सुवेदीको आरोप छ । ‘यो निर्णयले आइसिसीले आफ्नो उचाइ घटाएको छ । निर्णय गर्नअघि इतिहासमा के भएको थियो हेर्नुपर्थ्यो ‘ सुवेदीले भने ।
एनआरएनए युकेमा कुनै विवाद नभएको उनले बारम्बार दोहोर्‍याए । ‘सहमति भइसकेपछि पनि कुनै विवाद हुन्छ’ उनले उल्टै प्रतिपश्न गरे ।
दबाबमा सहमति गराएको भन्ने एकथरीको आरोपलाई उनले ‘सफेद झूठ’ को संज्ञा दिए । “सहमतिमा हस्ताक्षर गर्नेहरुको आग्रह र अनुरोधमा, पटकपटक खेस्रा गर्दै, कार्यबाहक राजदुत र समाजका गन्यमान्य व्यक्तिहरुको उपस्थितिमा चार/पाँच पटक पढेर सुनाइएको सहमतिलाई दबाबमा गराइएको भन्नु सफेद झूठ हो । यस्ता मानिससित संगत गर्न मलाई पटक्कै मन पर्दैन” उनले भने ।
सहमतिलाई आइसिसीले अनुमोदन गर्नु आवश्यक नै नभएको सुवेदीले जिकिर गरे । सहमतिको दस्तावेज आफैंमा पूर्ण डकुमेण्ट भएकाले यसलाई अनुमोदन गर्न जरुरी नभएको उनको तर्क छ ।

सहमति पालना नहुनुमा आफ्नो कुनै दोष नरहेको प्रष्टयाउँदै सुवेदीले जसले सहमति पालना गरेन उसैतिर समाजको ध्यानाकर्षण हुनुपर्ने बताए ।
एकथरीले सूर्य सुवेदीले नै अनुशासनविपरीत काम गर्‍यो भन्ने आरोप छ नि भन्ने प्रश्नको जवाफमा सुवेदी निकै आक्रामक देखिए । “यो सरासर झुठ, पूर्वाग्रही, कपोलकल्पित र आफ्नो पद जोगाउने तल्लोस्तरको काम हो” उनले भने ।
आफूले विभिन्न ठाउँमा बोलेका कुराहरुलाई सन्दर्भ र प्रसंग उल्लेख नगरी दुई/तीन शब्द टिप्दै भिडियो बनाइँदै छ भन्ने सुनेको बताउँदै उनले भने, “त्यस्ता ‘रब्बिस’ कुराको पछि हिँड्न मसित समय छैन ।”
सहमतिका दौरान सदस्यता शुल्कका बारेमा एकखाले सहमति गरेर संस्थालाई आर्थिक नोक्सानी पुर्‍याएको भन्ने आरोपको उनले ठाडै अस्वीकार गरे । बरु उनले उल्टो खुलासा गरे, “पहिलो वर्ष को अध्यक्ष हुने भन्ने मुख्य प्रश्न थियो । पहिलो कार्यकाल आफूले पाए पैसा केही होइन भनेका थिए ।”

एनआरएन युकेको काउन्सिल बैठकमा तपाईले एनआरएन नै अवैधानिक भन्नुभयो नि भन्ने प्रश्नमा उनले आफूले एनआरएन अवैधानिक होइन बरु संस्थाले गरेका चन्दा उठाउने लगायत कतिपय कार्य अवैधानिक भनेको प्रष्ट्याए ।
त्यही बैठकमा योगेन क्षेत्रीले महेन्द्र कँडेललाई कारबाही गर्न उजुरी दिएको भन्ने प्रसंगमा उनले भने, “योगेन क्षेत्रीले म सहमति पनि मान्दिनँ । तर त्यही सहमतिका आधारमा फलानालाई कारबाही गर भने । यस्तो ‘कन्ट्राडिक्ट’ (द्वैध चरित्र) मा मान्छे बाँच्नु हुँदैन । ‘हात्ती पनि ले कमण्डलु पनि ले अनि हात्तीलाई कमण्डलु भित्र हाल भन्ने पनि कहीँ हुन्छ’ ?” उनले भने ।

मान्छेहरु सभ्य, शिष्ट भए र प्रजातान्त्रिक तवरले आए भने अहिले पनि आफू सबैको गुनासो सुन्न तयार भएको उनले बताए । समाजका लागि केही गर्छु भनेर लाग्दा आलोचना आउनु सामान्य भएको उल्लेख गर्दै उनले अर्कोपटक यस्ता संकट आए सोचेर मात्र हात हाल्ने बताए ।
हेर्नुहोस अन्तरवार्ता

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री