मिस नेपाल लन्डनमा, छोरी देखेर भक्कानिइन् आमा

तस्विरः राजेन्द्र भट्ट

तस्विरः राजेन्द्र भट्ट

लन्डन । मिस नेपाल सुविन लिम्बु विहीवार विहान लन्डन उत्रिएकी छिन् । मिस वोर्ल्ड २०१४ मा भाग लिन थाइ एयरवेजबाट लन्डन टर्मिनल टु उत्रंदा उनलाई आमाबाबु सहित कयौं भूपू गोर्खा र गैर आवासीय नेपालीले न्यायो स्वागत गरे ।

करिब अढाई वर्षपछि छोरी भेट हुंदा आमा मिनाकुमारी अंकमाल गर्दै भक्कानिइन्, आंखा रसाए । सञ्चो विसञ्चो आदानप्रदान भयो । सुविनका बाबु ५२ वर्षीय भूपू गोर्खा काजीमान लिम्बु छोरी भेट्न पाएर प्रसन्न भए । उनलाई बाबु काजीमानले मिस वोर्ल्डमा सफलता मिलोस् भन्दै अग्रिम शुभकामना पनि दिए । भूपू गोर्खा परिवारकी माइली छोरी सुविनको आवासीय अधिकार नहुंदा बसाइ छिन्न भिन्न छ ।

‘धेरै बस्न त पाइएन तर लामो समयपछि छोरी भेटेर खुशी छौ’ं, उनले वीनेपालीसंग भने, ‘आज एजेन्टले सिधै सेन्ट्रल लन्डन नै लगे । पछि हामी होटलमै भेट्न जान्छौं ।’

सुविन अन्य विश्व सुन्दरीहरुकै साथ होटल मेरियटमा बस्नेछिन् । केही दिनपछि उनीहरुको बन्द प्रशिक्षण शुरु हुनेछ ।

६४ औं मिस वोर्ल्ड २०१४ आगामी डिसेम्बर १४ मा लन्डनस्थित एक्सेलमा हुंदैछ जसमा विश्वभरका एकसय ६४ जनाले प्रतिष्पर्धा गर्दैछन् । मिस नेपाल सुविन लिम्बूले यसपटकको मिस वोर्ल्डमा नेपाली पहिचानको रूपमा लिम्बू समुदायको पहिरन मेख्ली लाउने भएकी छन् । लालीगुराँससँगै लिम्बू समुदायको प्रतिनिधित्वको रूपमा सुनाखरी फूल कुँदिएको ‘मेख्ली’ उनले गत सोमबार राजधानीमा सार्वजनिक गरेकी थिइन्  ।

विश्व सुन्दरीहरु प्रतिष्पर्धाका लागि लन्डन उत्रने क्रम शुरु भइरहंदा मिस होण्डुरस १९ वर्षीया मारिया जोसे अल्भाराडो र उनकी दिदीको हत्या भएको खवरले आयोजक र सुन्दरीहरु विक्षिप्त छन् । मिस वोर्ल्ड अध्यक्ष जुलिया मोर्ले सहित आयोजकले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री