ठूला दुर्घटनाका चालकमाथि ज्यान मुद्दा

काठमाडौं। सरकारले ठूलो दुर्घटनामा संलग्न गाडीका चालकमाथि ज्यानमुद्दा चलाउन शुरु गरेको छ। डोटीको छतिवन बस दुर्घटनाका चालक तथा मालिक वीरेन्द्र साहुमाथि लापरवाही रुपमा मोटर चलाएर ज्यान लिएको अभियोग लगाइने भएको छ। रुट पर्मिटसमेत नभएको सडकमा क्षमताभन्दा तेब्बर यात्रु राखेर चलाएको बस असोज २० गते भीरबाट खस्दा ३० जनाको मृत्यु भएको थियो।

मकवानपुरको बासामाढीमा दुर्घटनाग्रस्त बनेको बस। तस्वीर : देवराज पन्त

मकवानपुरको बासामाढीमा दुर्घटनाग्रस्त बनेको बस। तस्वीर : देवराज पन्त

सरकारले गत शनिबार मकवानपुरमा रक्सीको नशामा अर्को बसमा लगेर बस ठोकाउने काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको शुभश्री बसका चालकमाथि कर्तव्य ज्यानको मुद्दा चलाउन शुरु गरेको छ। सो दुर्घटनामा एक विदेशी महिलासहित १० जनाको मृत्यु भएको थियो।

मंगलबार मात्रै मकवानपुरमा सात जना यात्रुको ज्यान जाने गरी भएको ट्रक दुर्घटनाका चालक, सह चालक र मालिकमाथि सरकारले ज्यान मुद्दा चलाउने भएको छ।

चुरियामाइ नजिक भएको सो दर्घटनामा चालकले सह चालकलाई ट्रक चलाउन दिएर आफू सुतेका थिए । क्षमताभन्दा बढी भारी ट्रक पल्टिदा धान काट्न हिडेका सात मजदुरको इट्टाले थिचिएर निधन भएको थियो।

तीन साताअघि राजधानीको बबरमहलमा लापरबाहीपूर्वक बस चलाएर दुर्घटना गराउने चालक चन्द्रबहादुर तामाङविरुद्ध पनि सरकारले कर्तव्यज्यान मुद्दा नै चलाउने भएको छ। बबरमहलमा मोटरसाइकलहरुलाई ठक्कर दिएर बस पल्टिदा ४ जनाको मृत्यु भएको थियो भने एक दर्जन घाइते भएका थिए।

त्यसैगरी सरकारले बाराको अमलेखगञ्जमा ट्याक्टरलाई ओभर टेक गर्न क्रममा बसलाई ठक्कर दिने ट्रकका चालकलाई पनि लापरवाहीपूर्ण रुपमा सावरी साधन लाएको अभियोगमा कर्तव्य ज्यान मुद्दा चलाउने शुरु गरेको छ। कातिक ५ गते भएको सो दुर्घटनामा बसका सवारी ६ जनाको मृत्यु भएको थियो।

डोटी दुर्घटनामा सरकारले चालक मात्र होइन, उक्त बस आबद्ध ‘सुदूरपश्चिम यातायात व्यवसायी समिति’ र रुट नै नभएको कच्ची बाटोमा यात्रुबाहक बस गुडाउँदा पनि बेवास्ता गर्ने प्रहरी, जिल्ला यातायात कार्यालयका कर्मचारीलाई समेत हदैसम्म कारबाही गर्ने तयारी गरेको छ। चालक आफैं बसधनी भएकाले उनीमाथि थप कारबाहीसमेत गर्न अनुगमन समितिले सिफारिस गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री