सेप्टेम्बर २२ देखि हङकङमा चलिरहेको आन्दोलनले त्यहाँ रहेका नेपालीहरुलाई पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित तुल्याइरहेको छ । आन्दोलनले बेलायत र नेपालमा रहेका नेपालीहरुलाई पनि चिन्तित पार्नु स्वाभाविकै हो । खासमा हङकङमा चलिरहेको आन्दोलन के हो र यसबाट नेपालीहरुलाई के फाइदा बेफाइदा हुन्छ भन्ने बारेमा हामीले १८ वर्षदेखि हङकङमा बसोबासरत् र हालमा हङकङ विश्वविद्यालयमा विद्यावारिधि (पिएचडी) गरिरहेका चुरा थापासित वार्ता गरेका थियौँ । प्रस्तुत छ वार्ताको सारसंक्षेप :

अहिले किन हङकङमा आन्दोलन चलिरहेको छ ?
हङकङमा लामो समयदेखि चिनियाँ पक्षधर र चीन विरोधी समूह क्रियाशील छन् । ब्रिटिशको उपनिवेशकालका हर्ताकर्ताहरु अहिले चीन विरोधी छन् भने त्यतिबेलाका उपनिवेश विरोधीहरु अहिले सत्तामा छन् । उनीहरुबीच लामो समयदेखि राजनीतिक खिचातानी चलिरहेको छ । यसै बीचमा यही अगष्टमा चिनियाँ जनकाँग्रेसले सन् २०१७ देखि हङकङका जनताले प्रत्यक्षरुपमा सरकार चुन्न पाउने तर त्यसरी चुनिन चाहने उम्मेदवार निर्वाचन आयोगबाट अनुमोदित हुनुपर्ने र बढीमा तीन जनामात्र उम्मेदवार हुन पाउने व्यवस्था पारित गर्यो । सो प्रावधानले आफूहरुको अधिकार हनन भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रे । विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि सर्वसाधारणहरु पनि प्रदर्शनमा उत्रे ।
अहिले आन्दोलन कस्तो छ ?
अहिले धेरै मत्थर भइसकेको छ । पहिले जस्तो विशाल संख्या छैन । सडकमा २-४ सय प्रदर्शनकारी होलान् ।
यो आन्दोलनमा नेपालीहरुको पनि सहभागिता छ ?
छ । विशेषगरी युवा विद्यार्थीहरुको सहभागिता छ । खासमा आन्दोलन केका लागि भन्ने भन्दा पनि विद्यार्थीहरुमाथि दमन गरियो भनेर ‘इमोसनल’ भएर आन्दोलनमा लागेका छन् । केही वयस्कहरु पनि आन्दोलनमा सक्रिय छन् । हुँदाहुँदा नेपालीबीच पनि आन्दोलनको विषयलाई लिएर विषवमन भइरहेको छ ।
त्यहाँस्थित नेपाली महावाणिज्यदूताबासले नेपालीहरुलाई आन्दोलनमा सरिक नहुनु भनेर विज्ञप्ति पनि निकालेको छ । त्यस्तो विज्ञप्ति निकाल्नुपर्ने अवस्था किन आयो ?
नेपालीमात्र होइन यहाँ रहेका अन्य देशका नियोगहरुलाई पनि चीनको हङकङ हेर्ने निकायले ‘यो हाम्रो आन्तरिक मामिला हो यसमा कुनै पनि देशले उक्साउने काम नगर्नु होला’ भनेर पत्राचार गरेको थियो । त्यसकै आधारमा नेपाली महावाणिज्यदूताबासले सर्कुलर गरेको हो । यस्तो सर्कुलर अरु देशले पनि निकालेका छन् ।
यो आन्दोलन सफल भयो भने नेपालीहरुलाई के फाइदा हुन्छ अथवा असफल भयो भने के घाटा हुन्छ ?
सुन्दा अलि अप्रिय लाग्ला, यो आन्दोलन हाम्रा लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो हो । आन्दोलन भइरहेको क्षेत्र वरिपरि काम गर्ने नेपालीहरुलाई आवतजावत र रोजीरोटीमा बरु व्यवधान भइरहेको होला । तर आन्दोलन सफल भए पनि नेपालीहरुले पाउने केही छैन । असफल भए पनि गुमाउने केही छैन । यो आन्दोलनका माग हङकङको कार्यकारी अधिकृत आफैँले चुन्न पाऊँ भन्ने छ । चीनको कानुन अनुसार सो पदमा चिनियाँ बाहेक अरु चुनिन पाउँदैन । बरु आन्दोलन लम्बियो भने, राजस्व संकलनमा ह्रास आयो भने, विकास निर्माणको काम रोकिने हुँदा नेपालीहरुले रोजगारी गुमाउने र अल्पसंख्यकका हैसियतमा पाइआएको भत्ता नपाउने हुन सक्छ ।
आन्दोलनको विषयलाई लिएर नेपालीबीच पनि विभाजन रहेछ नि ?
हङकङको समाज ब्रिटिशकालदेखि नै विभाजित समाज हो । त्यसमा नेपालमा पनि विभिन्न खेमामा विभाजित भएका नेपालीहरु आएका छन् । हामीले ‘यो आन्दोलन हाम्रा लागि होइन । बरु आफ्नो सुरक्षाको ख्याल गर्नुहोला’ भन्दै आएका छौँ । तर नेपालभित्रै उपेक्षित र उत्पीडित समुदायलाई अधिकार दिन हुन्न भन्ने नेपालीहरु यहाँको विकसित समाजमा सुविधासम्पन्न जनताको अधिकारका लागि वकालत गरिरहेका छन् । तटस्थ अवस्थामा रहेका वयस्क नेपालीलाई भड्काउने कोसिस गरिरहेका छन् ।
भनेपछि बहुसंख्यक नेपालीहरु यस आन्दोलनमा तटस्थ छन् ?
हो, बहुसंख्यक नेपाली यो आन्दोलनमा तटस्थ छन् । राजनीतिलाई नै समर्थन गरेर आन्दोलनमा जानेहरु अत्यन्त न्यून छन् । कतिपय त रमिता हेर्न र फराकिलो सडकमा हिँड्न भनेर गएकाहरु पनि छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा