एनआरएनए यूकेको भविष्य के होला आजबाट ?

nrn

लण्डन । झण्डै दुई चिरा भएर एकतामा बाँधिएको गैर अावासीय नेपाली संघ बेलायतमा नेतृत्व हस्तान्तरणको लागि सहअध्यक्ष महेन्द्र कँडेलले अध्यक्ष योगेन क्षेत्रीलाई अन्तिम आव्हान गर्ने भएका छन् ।
आज सोमबार राति १२ बजेसम्म अध्यक्ष योगेन क्षेत्रीले सहज रुपमा सहमतिबमोजिम नेतृत्व हस्तान्तरण नगरे स्वयं घोषणा गरेर अघि बढ्न लण्डनको एक रेष्टुरेन्टमा कार्यक्रम राखेका हुन् ।

गत २९ सेप्टेम्बर २०१३ सालमा बेलायतस्थित नेपाली दुतावासमा तत्कालिन अध्यक्ष जीवा लामिछाने र सँस्थापक अध्यक्ष उपेन्द्र महतोको विशेष अनुरोधमा प्राध्यापक डाक्टर सूर्य सुवेदीको पहलमा असाधारण एकता सम्मेलनमार्फत भएको निर्णय कार्यान्वयन स्वत हुने कँडेलको दावी छ ।

औचारिक रुपमा केही नबोले पनि अध्यक्ष योगेन क्षेत्रीले युकेको सहमतिलाई आइसीसी केन्द्रले मान्यता नदिएको बताउँदै नेतृत्व नछाड्ने संकेत गरेका छन् । यद्यपि उनले नेतृत्व हस्तान्तरण आइसीसी अध्यक्ष शेष घलेसँग सल्लाह गरेर मात्र निर्णय लिने जनाउ दिँदै आएका छन् ।

तत्कालिन केन्द्रीय उपाध्यक्ष क्याप्टेन हितमान गुरुङ समेतको सहभागिता रहेको सम्मेलनमा चक्रिय प्रणालीअनुसार नेतृत्व गर्ने सहमतिमा उल्लेख छ । सहमतिको तेस्रो बुँदामा भनिएको छ- ‘एनअारएन युकेमा हालका लागि श्री योगेन क्षेत्री र श्री महेन्द्र कँडेल दुवैलाई अध्यक्षको मान्यता दिने ।आजका मितिबाट अर्को वर्षसम्म अर्थात २९ सेप्टेम्बर २०१४ सम्म श्री योगेन क्षेत्रीले कार्यकारी अध्यक्षको रुपमा काम गर्ने र श्री महेन्द्र कँडेलले सहअध्यक्षका रुपमा काम गर्ने ।’

सहमतिको चौथाे बुँदामा ‘२९ सेप्टेम्बर २०१४ मा स्वत श्री महेन्द्र कँडेलले कार्यकारी अध्यक्षको रुपमा काम गर्ने र श्री योगेन क्षेत्रीले सहअध्यक्षको रुपमा अर्को एक वर्ष काम गर्ने’ उल्लेख छ ।

यसका साथै सहमतिको अन्त्यमा ‘म सूर्य सुवेदी स्वयमले अर्को वर्ष अध्यक्षको माला महेन्द्र कँडेललाई लगाइ दिने छु’ पनि लेखिएको छ ।
सहमति अनुसार आज अध्यक्ष क्षेत्रीले सहअध्यक्ष कँडेललाई कार्यकारी अध्यक्षको पद हस्तान्तरण गर्नु पर्नेछ । सहमतिमा अध्यक्ष क्षेत्रीले हस्ताक्षरण गरि मान्ने जनाउ तत्कालिन समयमै दिएका थिए । उनले सहमतिका सुत्राधार प्रा डा सुवेदीपछि दोस्रो नम्बरमा हस्ताक्षर गरेका छन् ।  तर उनले हाल सहमतिबाट पछि हट्दै पदलोलुपता देखाउन खोजेको आरोप कँडेल पक्षले लगाएको छ । यद्यपि सहअध्यक्ष कँडेलले आज राति १२ बजेसम्मको समय कुर्ने संकेत गरेको छ ।

यसअघि, सहअध्यक्ष कँडेलले सहज वातावरण निर्माणका लागि अध्यक्ष क्षेत्रीलाई गत वर्षको सहमति कार्यान्वयन गर्दै नेतृत्व हस्तान्तरण गर्न आव्हान समेत गरिसकेका थिए । नैतिकताको आधारमा २९ सेप्टेम्बरका दिन नेतृत्व हस्तान्तरणको कार्यक्रम राख्न सार्वजनिक रुपमा माग गरेका थिए ।
सम्मेलनको सहमति कार्यान्वयनबाट अध्यक्ष क्षेत्री पछि हटे पनि आफूले सहमतिको अक्षरशः पालना गर्ने सहअध्यक्ष कँडेल बताए ।

गत वर्ष देखिएको एनआरएन युकेको विभाजन सुवेदीको अग्रसरतामा तत्काललाई साम्य भए पनि सहमति अनुसार पद हस्तान्तरण नभएमा अहिले फेरि समस्या बल्झिने निश्चित छ । शुरुका केही वर्ष आशाको केन्द्रका रुपमा रहेको एनआरएनए युके गत वर्षपछि भने आफैँमा बिचरो साबित हुँदै गएको छ । अब फेरि समस्या ब्यूँतियो भने एनआरएन युके असफल सँस्थाको एक उदाहरण बन्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री