मंगलबार, कार्तिक ४ २०७७ | Tue, October 20, 2020
नेपालको समय: ०२:३९ | UK Time: 21:54

विस्मृतिले अचेट्दै लैजाँदा

वीनेपाली
२०७१ साउन २४ गते ९:४६

naresh
‘तपाईलाई त मैले पहिल्यै देखे–देखे जस्तो लाग्छ’ परिचय भइसकेको मानिसले कुटनीतिक शैलीमा यसो भन्दा कन्पारो तातेर आउँथ्यो । ‘माफ गनुहोला मैले अहिले ठम्याउन सकिनँ’ विनयीभावमा लम्पसार पर्दा समेत तातेको रिस ठण्डा हुन्नथ्यो । हेप्न सक्नेलाई त धम्क्याइन्थ्यो, “तपाईलाई परिचय दे’र के काम ? बिर्सिहाल्नुहुँदो रै’छ ।” पेलाहापन देखाउन नमिल्नेलाई भित्रभित्र सल्किएको रिसको आगो शान्त पार्दै बाहिर शिष्ट टोपल्लिएर भनिन्थ्यो, “हामी फलानो सालको फलानो दिनमा फलानो ठाउँमा भेटेको, अनि फलानो फलानो गरेको । अब त सम्झनु भयो कि ?”

दिनहरु एकनाशको नहुने रैछन् । मानिस उही भए पनि उसको स्वभाव र क्षमता परिवर्तनशील हुने रैछ । कुनै समय एक विधामा खप्पीस मानिस सधैँ उस्तै रहिरहन नसक्दो रैछ । ऋतु परिवर्तनजस्तै मानिसको बाह्य अवस्था मात्र होइन अन्तर्यको खुबी पनि बदलिँदो रहेछ । मन, वचन जति नै तपस्या गरे पनि मानिसको काबुबाहिर हुँदो रैछ ।

एकदशक अघिसम्म एकपटक भेटेको व्यक्तिको नाम ढुंगाको अक्षरजस्तो अटल राख्नसक्ने त्यो क्षमता बिस्तारै ह्रास आएको देख्दा आफैँ अचम्भित पर्दैछु । दुई साताअघि एक जमघटमा पूर्वपरिचित एक मित्रले परिचयको फेहरिस्त लगाउँदा आफैंलाई ग्लानीले पानी पानी बनायो । उनले परिचय दिनुअघि ‘मैले यो मानिसलाई मैले कतै देखेको हुनुपर्छ’ भन्ने लखसमेत काट्न सकेको थिइनँ ।

भेट्दा बुढापाका आफन्तहरु, शुभचिन्तकहरु भन्छन्, ‘बाबु कतै भेट भयो भने बोलाउनु है । हाम्रो त आँखा, कानले धोका दिन सक्छन् ।’ बुढ्यौलीले स्वाभाविकरुपमा धेरै कुरा विस्मृतिमा जाने विषयमा मेरो कहिल्यै र कुनै आपत्ति छैन । तर युवावस्था, शारीरिक, मानसिक रुपमा सक्रिय वयमै धेरै कुराहरु अघि बढ्दै छ पाइला मेट्दै छ हुन्छ भन्नेमा मेरो रत्तिभर भरोसा थिएन । त्यसैले कसैले बिर्सिएको बताउँदा ‘यस्ले आफूलाई सुपर देखाउन नाटक गर्दैछ’ जस्तो लाग्थ्यो । तर त्यो घटनाले भने साँच्चिकै बिर्सिने मेरा होसप्रसाद मित्रहरुप्रति आफूले कति दुर्भावना राखिएछ भनेर मेरो आँखा खोलिदियो ।

सम्झन सक्नेमा कुनै बेला नामुद थिएँ म । तीन चार वर्ष अघिसम्म पनि । गोरखापत्रमा सहकर्मीहरुलाई कुनै स्रोतका फोन नम्बर चाहिए मलाई नै सोध्थे । ती नम्बर भन्नलाई मलाई कुनै डायरी चाहिन्नथ्यो । कुनै व्यक्तिको नामथर, पदका बारेमा अन्यौल भएमा साथीहरुले मलाई नै खोज्थे । एकप्रकारले इन्साइक्लोपेडिया थिएँ म । एकपटक बुटवलमा फुर्सद भएको बखतमा हामी चार जना साथीहरुबीच पाँच मिनेटमा सम्झना भएसम्म धेरै फोन नम्बर लेख्ने होड चल्यो । मैले सय कटाउँदा बाँकी साथीहरु त दर्जन कटाउन नसकेर ठस्ठस्सी कनिरहेका थिए ।

फ्ल्यासब्याकमा त्यसभन्दा अघि पुग्छु । एसएलसी सकेर काठमाडौँमा संघर्ष गर्दा पस्मिना कारखानामा धेरै रंगहरुसित खेल्नुपथ्र्यो । लण्डनको निर्यातकर्ताले दिएको रंगहरुको नाम नानाथरी हुन्थे । अनि त्यो नमूना हेरेर नेपालीहरुले रंग्याएको हुबहु छ कि छैन जाँच गर्नुपथ्र्यो । करिब छ सय रंगहरुको नाम र पहिचान कण्ठस्थै हुन्थ्यो । अझ फर्किएर स्कुले जीवनलाई नियाल्छु । हाजिरी जवाफमा गरेको तरक्की सम्झन्छु । १४ अञ्चल, ७५ जिल्लाका सदरमुकाम मात्र होइन साढे २ सय देशका राजधानी मुखाग्रै थिए । आफू जन्मेको ताप्लेजुङ र हुर्केको झापा जिल्लाका गाविसहरुको नाम मुखमै झुण्डेका थिए । २०४८ र २०५१ को संसदीय चुनावका विजेता र निकटतम प्रतिद्वन्द्वीहरुको नाम मात्र होइन मत हेर्न कुनै सामान्य ज्ञानको पाना पल्टाउनु पर्दैनथ्यो ।

स्मरणको मामिलामा आफैंमा गर्व गर्थेँ । ममुनी वर्षौँटे भाइ जन्मिएको थियो । १४ महिनाको फरकमा जन्मिएको ऊ छ महिनामा बित्यो । अन्त्ष्ठीका लागि उस्लाई हजुरबाले कपडामा बोकेर लगेको दृश्य अहिले पनि झल्झली आउँछ । त्यसबिहान हाम्रोमा भेला भएका मलामीहरुको नाम अहिले पनि लिन सक्छु । २० महिनाको उमेरदेखि म सम्झन सक्छु भनेर फूर्ति पनि हाँक्थेँ कहिले कहिले । तर ती जमाना गए अब ।

गत वर्ष नेपाल जाँदा एसएलसीताका तीन चार महिनासँगै ट्युसन पढेका साथी भेट भए । उनले हामी फलानो कोठामा, फलानो सरसित, फलानो विषय पढ्थ्यौँ । म फलानोको छेउमा बस्थेँ । तिम्ले यस्तो रंगको कपडा लाउँथ्यौ भनेर बेलीबिस्तार लायो । विडम्वना त्यति भनेपछि मैले ‘ए हो, हो, सम्झेँ, सम्झेँ’ भनेर स्थितिलाई सामान्यीकरण गरेँ । तर अहिलेसम्म पनि उनलाई मैले सम्झन सकेको छैन । बरु त्यसैदिन १७ वर्षपछि भेटिएकी मेरा सहपाठी स्कुले मित्रकी ८३ वर्षीया हजुरआमाले नाम काढेर बोलाउँदा पो झसङ्ग भएँ ।

नेपालमा हुञ्जेल मलाई म जन्मेको गाउँ, मैले पाइला टेकेका ठाउँ, मैले भेटेका, बास बसेका व्यक्तिहरुको नाउँ मलाई चाहिएको थिएन । किनभने मसित घोत्लिएर सोच्ने फुर्सद पनि थिएन । दिनहुँ भेटिने व्यक्ति, टेकिने माटोले ती पुराना कुराहरुलाई टाउको उठाउने मौकै दिन्नथ्यो । जब विदेशिएँ अहिले मलाई चाहिएको छ म हुर्केको गाउँ । मेरा छिमेकी अनि मेरा सहपाठीहरुको नाउँ । रहरले, बाध्यताले, लहैलहैले मैले छिचोलेका बाटाहरु । कुइनेटाहरु । घुम्तीहरु । देउरालीहरु । चौताराहरु । पाटी पौवाहरु । पधेँराहरु । तिरतिरे धाराहरु । गाईवस्तु चराएका वनहरु । पौडी खेलेका, माछा मारेका खोला र दहहरु । बदमासी गरेर फलफूल चोर्दै खाएका बगैँचाहरु ।
पत्रकारिता र समुदायिक उत्थानका लागि करिब एक दशक काठमाडौँ केन्द्रीत भई काम गरियो । त्यसबीचमा नापियो पूर्व–पश्चिम, उत्तर–दक्षिणको भूगोल । पाइताला परेका जिल्लाहरु गन्दा पचास नाघेछन् । द्वन्द्वको पीडा पहिल्याउँदा रोल्पा, दाङ बर्दिया, नेपालगञ्ज हुँदै लखनऊसम्म पुगियो । २०६१ मा रोल्पा जाँदा क्रस फायरको भयले दुई दिनको यात्रा एकैदिनमा तय गरियो । फर्कँदा ज्वरोले शेष । सुलीचौरको बिरानो ठाउँमा मलमपट्टि गरिदिने, तातोपानी खुवाइदिने, नजिकैको औषधि पसलसम्म हात थामेर लगिदिने ती दिदीको नाम (म कृतघ्न भएको होइन) बल गरेर पनि अहिले सम्झन सक्दिनँ ।

म सम्झन सक्दिनँ ती बाको नाम, जसलाई मैले नेपालगञ्जको मानवअधिकार आयोगमा भेटेँ । पहिलो भेटमै कुन्नी के ठानेर हो उनले मनपेट खोले । सेनाले हरेक महिना उपस्थित हुन दिएको तारिख खेप्न आएका थिए उनी । विश्वास गरेर उनले बर्दियास्थित आफ्नो घरैमा लगेर माओवादीका भूमिगत प्रकाशनहरु दिएका थिए–सरकारी पत्रिकामा काम गर्ने, यसअघि कहिल्यै नभेटेको, नचिनेको ठिटोलाई विश्वास गरेर ।

अनि म चाहँदा पनि सम्झिनँ सक्दिनँ, दाङका ती चौधरी दिदीबहिनीहरुका नाम । जसका श्रीमान, छोरा, भाइहरुलाई दाइँ गर्दागर्दै खलाखेतमै सेनाको गोलीको चारो बनेका थिए । घोराहीबाट पत्रकार उदय जीएम र म साइकल चढेर पुगेका थियौँ त्यो गाउँमा । हामी फर्किएको एक घण्टापछि आएको सेनाको गस्तीले त्यही गाउँमा एक जना मारेको समाचार हामी पुग्नुअघि नै घोराही पुगिसकेको थियो ।

जोडबल गरेर पनि सम्झन नसक्ने नामहरुमा आउँछ, रोल्पा भावाङकी ती दिदी जसलाई श्रीमानले कुटेर हर खुस्काइदिएका थिए । ज्वरोले आलसतालस मलाई जित्नेगरी पीडाले रातभरि हँ हँ गर्थिन् । जनअदालत खोलेर सामाजिक न्याय दिएको फुइँ हाँक्ने माओवादीले पनि रक्सी खाएर स्वास्नी पिट्ने श्रीमान्कै पक्ष लिएको बताउने ती दिदी अहिलेसम्म जीवित छिन् कि मरिसकिन् होला ?

भन्नेहरु भन्छन्–मानिसको दिमाग जति चलायो उति चल्छ । उदाहरण तेस्र्याउँछन् ‘एक हजार बढी आविस्कार दिएका वैज्ञानिक न्युटनको दिमाग शुन्य दशमलव पाँच प्रतिशत मात्र चलेको थियो रे !’ शुरुमा त मलाई पनि हो कि जस्तो लाग्थ्यो तर अब भोग्दै गइयो तब त्यसो भन्नेहरुले पनि आफूले प्रयोग गरेर होइन अरुले भनेको साभार गरेजस्तो लाग्यो । के ग्रन्थीले कसरी स्मरण शक्ति नियन्त्रण गर्छ मैले वैज्ञानिक अनुसन्धान गरेको छैन । तर परेको के छ भने दिनहुँ सम्झन नसकेका पात्र, घटना, सन्दर्भहरुको थाक बढ्दो छ । ए बाबै, यति छिट्टै मलाई बुढेसकालले भेटेको हो त ??

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक