बेलायतमा १५९औं मोती जयन्ती तथा रचना वाचन कार्यक्रम सम्पन्न

लन्डन । नेपालको वर्तमान आन्दोलन, राजनीतिक तरलता र देशको गम्भीर अवस्थालाई कतै सांकेतिक र नरम भाषामा त कतै आगो ओकेलिएको रचनाहरु वाचन गरिएको छ ।

बेलायतमा सक्रिय अग्रणी नेपाली साहित्यिक संस्थाहरू नेपाल मुक्तक प्रतिष्ठान यूके र अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को सह-आयोजनामा गत शनिबार २० सेप्टेम्बरमा १५९औं मोती जयन्ती तथा मुक्तक र गजल वाचन कार्यक्रम सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेपाल, यूके, बेल्जियम, जर्मनी, पोर्चुगल र फ्रान्सका गरी करिब दुई दर्जन साहित्यकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्यबहादुर खड्का ‘बिखर्ची’ले आफ्ना दुई मुक्तक वाचन गरेर कार्यक्रमको ढोका उघार्नुभएको थियो । कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार डा.रुपक श्रेष्ठले मोतीराम भट्टको व्यतिक्त्व र कृतिहरुबारे सविस्तार चर्चा गर्नुभएको थियो । उहाँले भट्ट बहुआयामिक व्यक्तित्वका धनी, कम उमेरमा नेपाली साहित्यका २५ वटा पुस्तकहरु प्रकाशन गरेको उल्लेख गर्नुभयो । खासगरी मुक्तक र गजललाई निकै उचाई दिएको र भानुभक्तलाई आदिकविको रुपमा नेपाली साहित्यमा स्थापित गरेकोसमेत उल्लेख गर्नुभयो ।

त्यसैगरी अनेसास यूकेका अध्यध्य राज श्रेष्ठले बिखर्चीको प्राज्ञिक यात्राबारे चर्चा गर्नुभएको थियो । उहाँअनुसार बिखर्ची आजीवन साहित्यमा साधनारत एउटा अब्बल साहित्यकार हुन् र हालसम्म ६१ वटा विभिन्न विधाका कृतिहरु प्रकाशित गरिसकेको बताए ।

नेपाल मुक्तक प्रतिष्ठान यूकेका उपाध्यक्ष तथा १५९औ मोती जयन्ती कार्यक्रमका संयोजक प्रतिमा केसी ‘प्रवासी’को स्वागत तथा संचालनमा भएको कार्यक्रममा अनेसास पोर्चुगलका अध्यक्ष एन.बि ‘अन्जान’, अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारंजित, अनेसास जर्मनीका अध्यक्ष सुजिता घिमिरे, अनेसास फ्रान्सका अध्यक्ष प्रसान्त उप्रेती ‘भुँइमान्छे’ अतिथि थिए र उहाँहरू सबैले आफ्ना गहन रचनासमेत वाचन गर्नुभएको थियो ।

कार्यक्रममा मुक्तककारहरू डा.रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ, राज श्रेष्ठ, माया गुरुङ, विनोद अधिकारी, दुर्गाप्रसाद पोख्रेल, सारा गुरुङ, नानु राना थापा, अहिल्या कुँवर, प्रतिमा केसी, बिसन थापा मगर, निलमकुमार पौडेल र मोहन आचार्य ‘जलद’ले अत्यन्तै खारिएका, चोटिला तथा समसामयिक मुक्तकहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति तथा प्रमुख अतिथि बिखर्चीले मन्तव्य राख्नुहुँदै मोतीराम भट्ट भनेका जून र घाम रहेसम्म नेपाली साहित्यले सम्झिरहने महान् व्यक्तित्व भएको बताउनुभयो । उहाँले आफ्ना निकै गहकिला मुक्तक वाचन गर्दै आयोजकलाई धन्यवाद दिनुभएको थियो ।

अन्तमा कार्यक्रमका अध्यक्ष तथा नेपाल मुक्तक प्रतिष्ठान यूकेका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले सबैलाई आफ्ना चोटिला, पोटिला र समसामयिक रचना वाचन, १५९औँ मोती जयन्ती कार्यक्रममा सहभागिता र आतिथ्यताको लागि धन्यवाद दिएर कार्यक्रम समापन गर्नुभएको थियो । उहाँले कार्यक्रममा वाचित सबै रचनाहरूको संक्षिप्त समीक्षासमेत गर्नुभएको थियो ।

कार्यक्रममा हालै नेपालमा भएको ‘जेन-जी’ आन्दोलनमा मृत्युवरण गर्ने सबै मृतकप्रति एक मिनेट मौनधारण समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री