गोरखा भूतपूर्व सैनिक संघको ३५ औँ स्थापना दिवस मनाइयो


काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को ३५ औँ स्थापना दिवस मनाइएको छ । उपसभापति जीतबहादुर राईको अध्यक्षता र कानुनविद् ‌डा. गोपाल शिवाकोटी ‘चिन्तन’को प्रमुख आतिथ्यतामा शनिबार काठमाडौंमा एक कार्यक्रमबीच गेसोको स्थापना दिवस मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कानुनविद् शिवाकोटीले गोरखा आन्दोलनको सुरुवाती, गोरखा मुद्दा कसरी बेलायती अदालतसम्म पुर्‍याइयो भन्ने विषयमा बोल्नुभएको थियो । उहाँले बेलायती अदालतमा मुद्दा दर्ता गर्न आवश्यक कागजात उपलब्ध गराएर बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपीले गोर्खाहरुलाई ठूलो गुन लगाएको स्मरण गराउनुभयो ।

यस्तै उपसभापति जीतबहादुर राईले दुई देशका सरकारबीच भइरहेको वार्ता र भावी योजनाका बारेमा धारणा राख्नुभयो । कार्यक्रममा संघका सभापति कृष्णकुमार राईले बेलायतबाट पठाउनुभएको शुभकामना सन्देश उहाँले वाचन गर्नुभएको थियो । सभापति राईले विगतमा गेसोले विभिन्न उपलब्धि हासिल गर्न गरेको प्रयासबारे उल्लेख गर्दै स्थापना दिवसका अवसरमा बेलायतस्थित गोर्खा अभियन्ताहरूलाई सम्झिँदै सबैको योगदानप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

आफू स्थापना दिवसमा सहभागी हुने चाहना हुँदाहुँदै पनि बेलायत सरकारसँगको वार्ताका लागि बेलायतमै बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले गेसोले अझ बढी उपलब्धिमूलक संघर्ष गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

यस्तै गेसोका काठमाडौं र ललितपुर जिल्ला समिति सभापतिद्वय सुनिता गुरुङ र इन्द्रकुमारी राईले संस्थाको स्थापना दिवसको बारेमा आफ्ना विचार राख्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैले प्राप्त उपलब्धिलाई गेसोको सम्पत्तिको रुपमा ग्रहण गर्ने र भावी कार्यक्रमहरुलाई जी टेनमार्फत छलफल गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएका कार्यवहाक सभापति जीतबहादुर राईद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रम उपमहासचिव बुद्धिराज राईले सञ्चालन गर्नुभएको थियो । साथै उपस्थितलाई खानपिनको व्यवस्था कोषाध्यक्ष सहरमान तामाङले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री