
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल अघि बढाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको छ । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भइरहेको छ ।
आइतबारको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गर्दा पनि सभामुख देवराज घिमिरेले बैठक अघि बढाउनुभएको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै उहाँले प्राङ्गारिक र प्राकृतिक मल उत्पादनलाई प्रवर्द्धन, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यसमा लागेको कर हटाइएको तथा बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि वृद्धि हुने बताउनुभएको थियो ।
अर्थमन्त्री पौडेलले प्रस्ताव प्रस्तुत गरिरहनुभएका बेला सांसद राजेन्द्र पाण्डेले सांसदको नाराबाजीका कारण मन्त्रीले भनेको कुरा नसुनिएकाले यसलाई एउटा निष्कर्षमा लगेरमात्र सभा सञ्चालन गर्न माग गर्नुभएको थियो ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाउनुभएको थियो । विरोधका बीच पनि सभामुख देवराज घिमिरेले बैठक चलाएको भन्दै राप्रपाले बैठक बहिष्कार गरेको हो ।
‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । रास्वपाले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको हो ।
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
काठमाडौँमा सुरु भयो नेपाली कांग्रेसको विशेष महाधिवेशन
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंमा, महामन्त्रीद्वयको अगुवाइ
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ