
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरत सिंह भण्डारीले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा मङ्गलबार एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको टोलीसँगको भेटमा मन्त्री भण्डारीले नेपाली नागरिकको हितका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै यसमा एनआरएनएको सहयोग र समन्वय अपेक्षित रहेको बताउनुभयो । उहाँले विदेशमा ५ हजारभन्दा बढी नेपाली श्रमिक रहेका देशहरूमा श्रम सहचारी नियुक्त गर्ने सरकारी निर्णय भए पनि स्रोतको अभावमा यो कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताएको एनआरएनएका अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । हाल केही देशमा स्थानीयस्तरमा कर्मचारी राखेर काम भइरहेको भए पनि धेरै देशमा श्रमिकका समस्या जटिल बन्दै गएको उहाँले स्वीकार गर्नुभयो ।
विशेषगरी श्रम स्वीकृति, भिसा नवीकरण र अन्य प्रशासनिक प्रक्रियामा नेपाली श्रमिकहरूले विदेशमा दुःख भोग्नुपरेको उहाँको भनाइ छ । यी समस्याको सहजीकरणको लागि एनआरएनएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूसँग समन्वय गरेर अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री भण्डारीले मन्त्रालय डिजिटलाइजेसनको प्रक्रियामा अघि बढिरहेको र यसमा एनआरएनएको प्राविधिक सहयोग आवश्यक रहेको बताउनुभयो । साथै, मन्त्रालयले सन् २०२४ सेप्टेम्बरसम्म विभिन्न माध्यमबाट विदेश पुगेका नेपाली श्रमिकहरूलाई वैधानिक करण (लिगलाइजेसन) गर्ने प्रक्रिया सुरु गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो । यो प्रक्रियामा पनि एनआरएनएको सहयोगका लागि उहाँले आग्रह गर्नुभयो ।
छलफलका क्रममा मन्त्री भण्डारीले मन्त्रालयले ‘श्रम संसार’ नामक मोबाइल एप्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । यो एप्सलाई नागरिक एप्ससँग एकीकृत गरेर विश्वभर रहेका नेपाली श्रमिकहरूलाई सहज र सरल रूपमा सेवा प्रदान गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । यो एप्समार्फत श्रम स्वीकृति, भिसा नवीकरण, स्वास्थ्य सेवा, लगायतका सुविधाहरू पहिलो चरणमा समावेश गरिने छ । यसले विदेशमा रहेका नेपाली श्रमिकहरूको प्रशासनिक झन्झटलाई कम गर्ने र सेवा प्राप्तिमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
भेटमा एनआरएनएका अध्यक्ष श्रेष्ठले विदेशस्थित नेपाली दूतावास र कन्सुलर कार्यालयहरूमा कर्मचारी अभावका कारण नेपाली नागरिकले सेवा प्राप्तिमा कठिनाइ भोगिरहेको उल्लेख गर्दै यो समस्याको समाधानमा सहयोग गर्न एनआरएनए तयार रहेको बताउनुभयो । उहाँले एनआरएनएले प्रणालीगत रूपमा (सिस्टम बनाएर) सहयोग गर्ने योजना रहेको र संघको प्राविधिक टोलीले १५ दिनभित्र ठोस नतिजा दिने गरी काम अघि बढाउने बताउनुभयो ।
भेटमा एनआरएनएका कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानालगायतको उपस्थिति थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा