
काठमाडौँ । नेपालमा उत्पादित बिजुली भारतपछि शुक्रबारदेखि बङ्गलादेशतर्फ पठाउन सुरु भएको छ ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुलकबीर खानले भर्चुअल प्रविधिमार्फत संयुक्त रुपमा स्वीच थिचेर विद्युत् निर्यातको सुभारम्भ गरे । नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ ।
नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बङ्गलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बङ्गलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) चार सय केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत् पुग्नेछ । नेपालबाट भारत हुँदै बङ्गलादेशतर्फ विद्युत् निर्यात आज मध्यान्ह १२:३० बजेदेखि सुरु भएको हो । यसवर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात आजराति १२ बजेसम्म मात्र हुनेछ ।
त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ देखि बङ्गलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८ दशमलव ६० र २१ दशमलव ४० गरी ४० मेगावाट विद्युत् बङ्गलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो ।
केन्द्रीय विद्युत् प्राधिकरणले दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बङ्गलादेश निर्यात स्वीकृति दिएको हो । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् । नेपाल विद्युत् प्राधिकरणले वर्षायामको छ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्षसम्म ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्नेछ ।
प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट (आजको विदेशी मुद्रा विनियम दर अनुसार आठ रुपैयाँ ६२ पैसा) पाउने छ । नेपालले विद्युत् बिक्रीबाट पहिलो पटक डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुँदै आएको छ ।
प्राधिकरणले आज ११ घण्टा ३० मिनेट बङ्गलादेशतर्फ विद्युत् निर्यात गरी २८ हजार एक सय ६० अमेरिकी डलर पाउने छ । बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले बेहोर्नेछ । मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्कहरू बङ्गलादेशले बेहोर्नेछ । नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बङ्गलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन, भारत र बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो ।
त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बङ्गलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरण बिहीबार स्वीकृति दिएपछि आजदेखि विद्युत् निर्यात सुरु गरिएको हो ।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय