
लन्डन । विश्व प्रख्यात पर्यटन मेला ‘वर्ल्ड ट्राभल मार्केट–२०२४’ (डब्लुटीएम) मा नेपालले सहभागिता जनाएको हो ।
यही ५ नोभेम्बरदेखि ७ (कात्तिक २० देखि २२ गते) सम्म आयोजना भएको वर्ल्ड ट्राभल मार्केटमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले सहभागिता जनाएको हो । नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यका रूपमा आफ्नो उपस्थिति जनाउँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि समन्वय गर्न विश्वपर्यटन उद्योगको ध्यानाकर्षणसमेत गराएको छ ।
बोर्डले आफ्नो ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिएको हो । एक सय ८४ देशहरूबाट ४३ हजार सहभागी रहेको डब्लुटीएममा तीन हजार आठ सय ७५ प्रदर्शकहरू सहभागी थिए । मेलामा ८२ वटा सम्मेलन सत्र आयोजना गरिएको थियो ।
हालै लोन्ली प्लानेटद्वारा सन् २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा घोषित भएपछि यस वर्ष डब्लुटीएममा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको बोर्डले जनाएको छ । यसले विश्वभरका यात्रुहरू र पर्यटन व्यवसायीसामु नेपालको सम्पदालाई प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो ।
वर्ल्ड ट्राभल मार्केटमा नेपालको सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउने र यसले नेपाललाई शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यहरूको साथ उभ्याउने उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपालको यो सहभागिताले नयाँ व्यावसायिक अवसर विकास गर्दै हाम्रो समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य र पर्यावरणमैत्री पर्यटनमा रुचि राख्ने वातावरणीय सजग यात्रुहरूसँग सम्बन्ध स्थापित गर्ने अवसर प्रदान गर्ने बताउनुभयो ।
“लोन्ली प्लानेटले नेपाललाई बेस्ट इन ट्राभल गन्तव्यका रूपमा सम्मानित गरेको छ । लोन्ली प्लानेटको यो मान्यताले नेपालको पर्यटन सेवाहरूलाई थप विश्वसनीयता प्रदान गरेको छ । यो सहभागिताले मुलुकका अनुपम परिदृश्यहरू प्रख्यात हिमालदेखि प्राचीन सांस्कृतिक स्थललाई समेटेको छ”, जोशीले भन्नुभयो ।
नेपाल विश्वका लागि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको सन्दर्भमा नेपाललाई साहसिक यात्रा, अध्यात्म र सम्पदाको संयोजनको गन्तव्यका रूपमा थप परिचित र बलियो बनाउने कार्यमा यो मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको उहाँले बताउनुभयो ।
नेपालबाट डब्लुटीएमा विभिन्न क्षेत्रका पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल, रिसोर्टका प्रतिनिधिहरूको सहभागिता थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि