
न्यूयोर्क । लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्यूचोलो’अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको छ ।
समुन्द्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको हो । जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियो जस्ता प्रतिष्ठित फिल्म संस्थाहरू पनि सहभागी हुनेछन् ।
यसवर्षदेखि फिल्म मार्केट पनि सुरु गर्न लागेको तस्वीर फिल्म मार्केटले दक्षिण एसियाली डायस्पोराका फिल्म निर्माता र सर्जकलाई लक्षित गर्दै उनीहरूलाई फिल्म विकास र वितरणका लागि आवश्यक स्रोतहरू प्रदान गर्ने उद्देश्य राखेको छ । तस्वीर फिल्म फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले मार्केटको थालनीलाई निकै सकारात्मक मान्नुभएको छ । उहाँले यस फेस्टिभललाई अस्कर योग्य दक्षिण एसियाली फिल्म फेस्टिभलको रुपमा हेर्दै फिल्म निर्माताहरूका लागि यो महत्वपूर्ण अवसर हुने बताउनुभएको छ ।
फिल्म ‘गुन्यूचोलो’ मा नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा उहाँले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गर्नुभएको छ । यो भूमिका नेपाली सिनेमा जगतमा एक साहसी प्रयासको रुपमा हेरिएको छ। फिल्ममा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । यो फिल्म भट्टको दोस्रो निर्देशकीय फिचर हो । यसअघि उहाँले ‘आधा पेज’ निर्देशन गर्नुभएको थियो ।
नेपालको पहिलो पूर्ण रूपको ट्रान्स स्टोरीमा निर्मित यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको हो । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ। चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिनुभएको छ भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गर्नुभएको छ । २०२४ कै बहुप्रतीक्षित हलिउड चलचित्र ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिनुभएको छ ।
यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुनुहुन्छ भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुनुहुन्छ ।
आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ । यो फिल्मलाई फेस्टिभल सर्किटपछि नेपालमा प्रदर्शन गरिने निर्देशक भट्टले जानकारी दिनुभयो ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु