
बेनी (म्याग्दी) । उमेरले ७४ वर्ष पार गर्नुभएका लालबहादुर पुन मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा सक्रिय हुनुहुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका पुन लोप हुने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लाग्नुभएको छ ।
नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लाग्नुभएका उहाँ पछिल्लो समय सिरफूले, यानिमया, सालैजो, ठाडो, खेली, साइलोलगायतका पुराना र मौलिक भाकाहरूको संरक्षणमा जुट्नुभएको हो । उमेरले बुढ्यौली लाग्दै गए पनि आफू भने हराएर जाने अवस्थामा रहेका गीत र संस्कृति संरक्षणको अभियानमा जुटेको पुनले बताउनुभयो ।
विसं २०७२ मा मगर समुदायको मौलिक भाकाका रूपमा रहेको पुर्ख्यौली गीतको म्युजिक भिडियो तयार गर्नुभएका पुनले अहिलेसम्म २० वटा परम्परागत र मौलिक भाकामा तयार गरिएका गीतको म्युजिक भिडियो नै तयार गरिसक्नुभएको छ । पुर्ख्यौली गीतको म्युजिक भिडियोमा बुढ्यौली लागेका पुन आफैँ मादले बनेर नाच्ने गर्नुहुन्छ ।
गाउँमा मेलाजात्रा, रोधी बस्दा, घाँस दाउरा गर्न जङ्गल जाँदा, खेतबारीमा काम गर्दा र विवाह, व्रतबन्ध, छेवरलगायतका परम्पराजन्य कार्यक्रममा गुञ्जिने मौलिक भाका हराउन थालेपछि आफू संरक्षणमा जुटेको उहाँको भनाइ छ ।
“मेरो अधिकांश समय पुराना हराएर जाने अवस्थामा पुगेका भाकामा गीत तयार गर्नमा बित्ने गर्छ, गीत तयार भएपछि आफैँ पनि स्वर भर्ने गर्छु, कतिपय अन्य कलाकारलाई समेत स्वर भर्न लगाउँछु र त्यसलाई छायाङ्कन गरेर म्युजिक भिडियोसहित बाहिर ल्याउने गरेको छु”, सर्जकसमेत रहनुभएका कलाकार पुनले भन्नुभयो ।
पुनले तयार गर्नुभएको पुर्ख्यौली गीत हालै जिल्लाको अन्नपूर्ण –८ काफलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल करबाकेलीमा म्युजिक भिडियो छायाङ्कन गरिएको छ । कलाकार पुनले खेली, चुट्के खेली, साइलो भाका, यानिमयालगायतका विभिन्न छवटा गीतमा आफैँ स्वरसमेत दिनुभएको छ ।
गाउँका परम्परागत मौलिक भाकाका गीत सुनिन छाडेपछि पुनले अभियान नै चलाएर पुराना भाकाहरूको सङ्कलन र गीत लेखन सुरु गर्नुभएको थियो । “गाउँमा बुवाआमाले गाउने भाका कहीँकतै पनि सुन्न पाउने अवस्था छैन, कम्तीमा हामी गीत सुनेकाले यसको संरक्षण गरे भाकाहरू पुस्तान्तरण हुन पाउँछन्, मैले सिर्जना गरेका सबै गीतको लय र ताल पुराना र मौलिक छन्, त्यसैमा मैले शब्द सिर्जना गरेर गीत तयार गर्दै आएको छु”, पुनले भन्नुभयो ।
गाउँका रैथाने संस्कृति हराएर जान नदिन आफूले ठेट लय नबिग्रने गरी गीत बनाउने गरेको उहाँको भनाइ छ । पुनका चारवटा सालैजो, पुर्ख्यौली सोरठी भाकामा रेकर्ड भएका गीतलाई म्युजिक भिडियो बनाउने तयारी गरिएको छ । म्याग्दीका विभिन्न गाउँबस्तीमा गाइने रेलिमै, सेदोलगायतका भाकामा समेत गीत बनाउने पुनले तयारी गर्नुभएको छ । उहाँले मगरहरूको पुर्ख्यौली गीतिसङ्ग्रह पुस्तकसमेत प्रकाशन गर्नुभएको छ । यस पुस्तकमा पुर्ख्यौली नाचका विभिन्न ५९ गीत समावेश गरिएको छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान