
पिथौरागढ (भारत) । कुमाउँका प्रसिद्ध कवि गुमानी पन्तले आफ्नो कवितामा लेखेका छन् ।
“दिन–दिन खजाना का भार का बोकिया ले,
शिव शिव चुलि में का बाल नैं एक कैका ।
तदपि मुलुक तेरो छोड़ि नैं कोई भाजा,
इति वदति गुमानी धन्य गोर्खाली राजा ।।”
अर्थात् हरेक दिन खजानाको बोझ बोकेर जनताको टाउकोको कपाल उड्यो तर गोरखाको शासन छोडेर देशको कोही पनि नागरिक भागेनन् । त्यसैले हे गोर्खाली राजा तिमी धन्य छौ । भारतको उत्तराखण्डको पिथौरागढस्थित गोर्खाली किल्ला चारैतिरबाट नौ फिट अग्लो पर्खालले घेरिएको छ । पर्खालको चौडाइ पाँच फिट चार इन्च छ । पर्खालमा बन्दुक चलाउन मिल्ने एक सय ५२ वटा प्वाल छन् ।
नालापानी किल्ला जस्तै पिथौरागढको गोर्खाली किल्ला पनि गोर्खालीको बहादुरीको इतिहाससँग जोडिएको ऐतिहासिक ठाउँ हो । जहाँ गोर्खालीले अङ्ग्रेजलाई परास्त गर्दै २५ वर्ष शासन चलाएका थिए । तत्कालीन गोर्खाली सेनाले विशाल नेपाल निर्माणको अभियानलाई पश्चिमतिर विस्तार गर्ने क्रममा अङ्ग्रेज शासकलाई पराजित गरेर यो किल्ला आफ्नो कब्जामा लिएका थिए । त्यति बेला गोर्खाली सेनाले कुमाउँ गडवालतर्फ आक्रमण गर्ने क्रममा सुरुवातमा यो किल्ला कब्जामा लिएर विजयको यात्रा तय गरेको इतिहास जानकार बताउँछन् ।
“विशाल नेपालको अभियानलाई पश्चिमतिर फैलाउने क्रममा तत्कालीन गोर्खा सैनिकले सुरुवातमा यही किल्ला कब्जा गरेका थिए ।” इतिहास जानकार हेमबाबु लेखकले भन्नुभयो–“यही किल्लाबाट गोर्खा सैनिकले निरन्तर कुमाउँ गडवालमा २५ वर्ष शासन गरेको थियो ।” उहाँले तत्कालीन इष्ट इन्डिया एन्ड कम्पनीलाई गोर्खा सैनिकले परास्त गर्दै उक्त किल्ला कब्जा गरेको बताउनुभयो ।
“गोर्खा शासकले आफ्ना प्रशासक राखेर कुमाउँ गडवाल क्षेत्रमा निरन्तर २५ वर्ष शासन गरेको इतिहास छ,” उहाँले भन्नुभयो, “यो किल्लामा गोर्खालीको वीरताको इतिहास छ ।” अहिले यो किल्ला गोरखा किल्ला एवं लन्डन फोर्टका नामले परिचित छ । नालापानीको लडाइँ लड्नुअघि नै पिथौरागढमा सन् १७८९ मा गोर्खाली सेनाले आफ्नो सुरक्षाका लागि यो किल्ला निर्माण गरेका थिए । नालापानी किल्ला र पिथौरागढको गोर्खाली किल्ला दुवै भारतको उत्तराखण्डमा पर्छन् ।
“बहादुर शाहको नेतृत्वमा आएको गोर्खाली सेनाले यो किल्ला कब्जा गरेको थियो ।” इतिहास जानकार रमेश पन्त मीतबन्धुले भन्नुभयो–“यही किल्लाबाट कुमाउ गडवालमा गोर्खालीले निरन्तर २५ वर्ष शासन गरेको हो ।” गोर्खाली किल्लाको लम्बाइ ८८ दशमलव ५ मिटर, चौडाइ ४० मिटर रहेको छ । किल्लाभित्र गहिरो कुवा रहेको इतिहास भए पनि अहिले उक्त ठाउँमा पीपल रोपिएको उहाँले बताउनुभयो ।
यो किल्ला गोर्खालीको इतिहाससँग जोडिएकाले नेपालीका लागि महत्वपूर्ण रहेको वीरबहादुर चन्द बताउँछन् । “६१ वर्षअघि मैले पिथौरागढमा अध्ययन गर्दा यो किल्लामा गोर्खाली किल्लाका नामले चर्चित थियो ।” चन्दले भन्नुभयो–“यो किल्ला नेपालीका लागि महत्वपूर्ण र एतिहासिक छ ।” । किल्लासँग गोर्खालीको गहिरो साइनो रहेको उहाँको भनाइ छ ।
गोर्खाली किल्लामा रहेको सिलालेखमा विभिन्न वंशले राज्य गर्नेक्रममा सैनिकस्थलका रूपमा उपयोग गरेको उल्लेख छ । पिथौरागढमा मल्ल, बम, चन्द, गोर्खाली र अङ्ग्रेजहरुले शासन गरेको पनि उल्लेख गरिएको छ । अहिले उक्त किल्लाको संरक्षण भारत सरकारले गर्दै आइरहेको छ ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र