
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्नुहुने क्रेमलिनले बताएको छ । मस्कोले युक्रेन द्वन्द्वमा पश्चिमबाट अलग्गिए पनि विदेशमा सहयोगीहरूबाट सहयोग पाउने प्रयत्न गरेको छ ।
युक्रेनमा सेना परिचालन गरेपछि पुटिनले आफ्नो अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गर्नुभएको छ र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले उहाँमाथि युक्रेनी बालबालिकालाई निर्वासित गरेको आरोप लगाउँदै उहाँको गिरफ्तारीको वारेन्ट जारी गरेको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मङ्गलबार पत्रकारहरूसँग भन्नुभयो, “राष्ट्रपति पुटिनले भोलि संयुक्त अरब इमिरेट्स र साउदी अरबको कार्य भ्रमणमा जानुहुनेछ ।” साउदी अरबमा पुटिनले क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग व्यापार, अन्तर्राष्ट्रिय राजनीति र मानवीय सहयोगमाथि छलफल गर्नुहुने क्रेमलिनले घोषणा गरेको छ ।
उहाँले व्यापार, ऊर्जा, पर्यटन र शिक्षाका विषयमा युएईमा आफ्ना समकक्षी शेख मोहम्मद बिन जायद अल नाहयानसँग छलफल गर्नुहुनेछ । क्रेमलिनले इजराइल र हमासबीचको द्वन्द्व दुवै बैठकका एजेन्डा हुने बताएको छ ।
युएईले संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप२८) को आयोजन गरिरहेको छ तर पुटिनले कुनै पनि सम्बन्धित कार्यक्रममा भाग लिने कि नलिने भनेर क्रेमलिनले निर्दिष्ट गरेको छैन ।
सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि ठूलो स्तरमा शत्रुता सुरु गरेदेखि पुटिन विदेशमा धेरै उच्चस्तरीय बैठकहरूमा सहभागी हुनुभएको छैन । ‘राजनीतिक प्रदर्शन’ बाट बच्नका लागि अगस्टमा दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलनमा उहाँ सहभागी हुनुभएन ।
उहाँ सेप्टेम्बरमा व्यक्तिगतरूपमा प्रमुख जी२० शिखर सम्मेलनमा पनि सहभागी हुनुभएन । यद्यपि उहाँले नोभेम्बरमा एउटा भर्चुअल जी२० बैठकमा भाग लिनुभएको थियो ।
मार्च महिनादेखि आइसिसीले पुटिनलाई खोज्दै आएको छ । आफ्नो मुलुकमा प्रवेश गरेमा पुटिनलाई आइसिसी सदस्य राष्ट्रहरूले गिरफ्तारी वारेन्टलाई पालना गर्ने अपेक्षा गरिएको छ । आइसिसीको स्थापना सन्धिमा युएई र साउदी अरब दुबै मुलुकले हस्ताक्षर नगरेकाले उहाँलाई त्यहाँ गिरफ्तार गरिने छैन ।
राष्ट्रपति पुटिनले अक्टोबरमा चीनको भ्रमण गर्नुभएको थियो । यस वर्ष पूर्वसोभियत सङ्घबाहिर यो उहाँको पहिलो भ्रमण थियो । धेरै दिनअघि आइसिसीले वारेन्ट जारी गरेपछि उहाँ पहिलो विदेश भ्रमणका रूपमा पूर्वसोभियत किर्गिस्तान जानुभएको थियो ।
यो साता पुटिनको भ्रमणपछि बिहीबार उहाँले इरानका राष्ट्रपति इब्राहिम रायसीलाई भेट्ने अपेक्षा गरिएको छ । रुसले इरानसँगको आर्थिक तथा सैन्य सम्बन्धलाई बलियो बनाइरहेको छ । इरानलाई पनि पश्चिमी प्रतिबन्धको निशाना बनाइएको छ ।
पश्चिमी मुलुकहरूले तेहरानमाथि ठूलो मात्रामा ड्रोन र अन्य हतियार उपलब्ध गराएर युक्रेनमा रुसको आक्रमणलाई समर्थन गरेको आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले गत वर्ष जुलाईमा इरानको भ्रमण गर्नुभएको थियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभले क्षेत्रीय समकक्षीहरूसँग छलफल गर्नका लागि अक्टोबरमा तेहरानको भ्रमण गर्नुभएको थियो ।
इरानको आधिकारिक समाचार एजेन्सी इर्नाले पुटिनको निमन्त्रणपछि रायसीले मस्कोको भ्रमण गर्नुहुने बताएको छ । “एक दिवसीय भ्रमणको शीर्ष एजेन्डामा आर्थिक अन्तरक्रियासहित द्विपक्षीय मुद्दाका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरू विशेषरूपमा गाजाको स्थितिमा छलफल हुनेछ”, इर्नाले भनेको छ ।
मस्कोले इजराइल र हमासबीचको लामो समयदेखि चलिरहेको द्वन्द्व समाधान गर्न असफल भएकामा अमेरिकालाई दोष दिएको छ । साथै इजराइल र हमास दुवैसँग सम्बन्ध कायम राखेको रुसले स्वयंलाई एउटा सम्भावित मध्यस्थकर्ताका रूपमा राखेको छ ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत