
ताफेघते । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै हताहती दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन् । पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिण पश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा परी दुई हजार १२ जनाको मृत्यु भएको तथा दुई हजार ५९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये एक हजार चार सय जनाको अवस्था गम्भीर छ । भुइँचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेको बताउँदै मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएको जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु रहेको अल–हौज प्रान्तमा सबैभन्दा बढी एक हजार दुई सय ९३ जनाको मृत्यु भएको छ भने ताराउदान्ट प्रान्तमा चार सय ५२ जनाले ज्यान गुमाएका छन् । मौले ब्राहिम गाउँमा कलिला केटाकेटीका शव देखेर भक्कानिएका ७० वर्षका बौचारा उद्धारकर्मीले घर नजिकै ५० जनाको शव गाडेको बताएका छन् ।
निरन्तरको पराकम्पले भयभीत मोरक्कोबासीहरु मध्यरातमा घर छोडेर भागेका थिए । उनीहरूले दुई रात घरबाहिर सडकमा बिताएका छन् । अहिले पनि अधिकांश मानिस घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । सार्वजनिक स्थान, चौरस्ता एवं डबलीमा उनीहरूले आश्रय लिएका छन् ।
पहाडी क्षेत्रमा भएको क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन । भूकम्पबाट अति प्रभावित दुर्गम पहाडी गाउँमा पुग्न सेना र आपतकालीन सेवाका अधिकारी खटिएका छन् । उद्धार टोलीहरू भूकम्पले भग्नावशेषमा परिणत गरेका स्थानमा कोही जीवित भेटिन्छन् कि भन्ने आशमा दौडिएका छन् । उद्धारकर्मी र टोलीको सङ्ख्या बढाइएको गृह मन्त्रालयले जनाएको छ ।
“मैले सबै गुमाएँ,”श्रीमती र चार छोराछोरी गुमाएका मौले ब्राहिमको पहाडी गाउँका बासिन्दा लाहसेन बर्बरी आसुँ झार्दै भन्छन् । उद्धारकर्मीहरूले लाहसेनका तीन छोरीको शव घरको भग्नावशेषबाट निकालेका छन् तर अहिलेसम्म उनकी श्रीमती र छोराको शव फेला परेको छैन । “म अब केही गर्न सक्दिन, म संसारबाट टाढा जान चाहन्छु,” विलाप गर्दै उनको मुखबाट अवर्णनीय पीडा अभिव्यक्त हुन्छ ।
भूकम्प प्रभावित एउटा गाउँको एक स्थानमा भग्नावशेष पन्छाउँदा १८ जनाको शव निकालिएपछि एक जना ज्येष्ठ महिला नागरिकले डाको छोडेर रोयको दृश्यले उद्धारकर्मी तथा सञ्चारकर्मीलाई पनि भावुक बनाएको थियो । केन्द्रविन्दुभन्दा करिब ५० किलोमिटर पर अवस्थित ताफेघते गाउँमा केही भवनबाहेक अधिकांश ध्वस्त भएका छन् । बहत्तर वर्षीय ओमर बेन्हाना आफ्ना तीन जना नातिनातिनी र बुहारी एकै चिहान भएको बताउँछन् । शनिबार नै उक्त गाउँका स्थानीयले ७० जनाको शव व्यवस्थापन गरेका थिए ।
तीन दिन राष्ट्रिय शोक
मोरक्कोका राजा मोहम्मद छैटौँले तीनदिने राष्ट्रिय शोक घोषणा गर्दै पीडित परिवारलाई खाना आवासको व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ भने उद्धार टोलीहरूलाई सघाउन देशको राष्ट्रिय सेनालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय शोकको यो घडीमा सार्वजनिक स्थल र सरकारी भवनहरूमा फहराईएका राष्ट्रिय झण्डा आधा झुकाइने सरकारी समाचार समितिले जनाएको छ ।
यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट अगादिर शहर तहसनहस भएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी