
गान्तोक(सिक्किम) । याक्थुङ लिम्बु समुदायको मुन्धुम र इतिहासका क्षेत्रमा काम गरिरहेका लेखकद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे ‘मिहाङ’ सिक्किममा सम्मानित भएका छन् ।
समुदायको पहिचानका लागि अनुसन्धान र लेखनबाट योगदान दिएको भन्दै उनीहरू सम्मानित भएका हुन् ।
सिक्किम राज्यको राजधानी गान्तोकमा सुक्खिम पुङ्वा युमा साम्यो सोसाइटीले आयोजना गरेको कार्यक्रममा लेखकहरूलाई अखिल भारतीय लिम्बु महासभाका अध्यक्ष एवम् लेखक एस आर खजुम, बी आर मुरिङ्ला, लेखक बल मुरिङ्ला लगायतको उपस्थितिमा सम्मान गरिएको सोसाइटीका अध्यक्ष विजय प्रतापहाङ सुब्बा (थेगिम)ले जनाए ।
याक्थुङ हिम भवनमा आयोजित कार्यक्रममा लेखकद्वयलाई सम्मान पत्र र खादाले अभिनन्दन गरिएको थियो । गत साल उनीहरूद्वारा लेखिएको पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिङ चेम्जोङको लेखोट’ले प्रतिष्ठित पहिचान पुरस्कार प्राप्त गरेको थियो ।
नेपालकै सर्वाधिक नगद राशी रहेको पुरस्कार गत मार्चमा भोजपुरको चखियामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा वितरण गरिएको थियो । सो पुस्तकलाई सिक्किम अल्पाइन विश्वविद्यालयको लिम्बु विभागले आफ्नो स्नातक तहको पाठ्यक्रममा समेत राखेको छ ।
लेखकहरू सवा दुई दशकदेखि लेखन, अनुसन्धान र प्रकाशनका कार्यमा संलग्न राख्दै आएका छन् ।
त्यसअघि, सोसाइटीले एक दिने याक्थुङ मुन्धुम विषयक गोष्ठी राखेको महासचिव सन्ध्या सिङ्जाङ्गोले बताइन् । युवा र विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको उनले जनाइन् । गोष्ठीमा मुख्य सल्लाहकार लेखक बल मुरिङ्लाले मूल रूपमा सम्बोधन गरेका थिए । सो अवसरमा लालीगुराँस नगरपालिकाका मेयर समेत रहेका माबुहाङले ‘सि तङ्सिङ् मुन्धुम र तेन्धाम् मुन्धुमको विशेषता’ बारे कुरा राख्दै याक्थुङ मुन्धुम जीवन सञ्चालनको स्रोत र मूल जीवन दर्शन रहेको जनाए । त्यस्तै, लेखक एवम् साँस्कृतिक अभियन्ता थेबेले सिरिजङ्गा थेबेमाथि प्रकाश पार्दैै सिरिजङ्गा लिपिका निर्माणकर्ता र प्रचारक थेबेलाई राष्ट्रिय विभूति र आदिम सहिद घोषणा गरिनुपर्ने तर्क राखे । अर्का लेखक हितराम तिल्लिङले याक्थुङ वंशावली लेखनको प्रवृत्तिउपर धारणा राख्दै प्राज्ञिक विधिबाट वंशावली निर्माण गर्नुपर्ने बताए । त्यस्तै, विनय वनेम फागोले दैनिक जीवनमा मुन्धुमको उपयोगिताबारे बोले ।
सोसाइटीका अर्का महासचिव गुमानसिं नेम्वाङले सञ्चालन गरेको कार्यक्रम बी आर मुरिङ्लाको सभापतित्वमा भएको थियो । डेढ सय बढीको सहभागिता रहेको कार्यक्रममा सिलगुडी तराई लिम्बु एसोसिएसनका अभिराज सुब्बा, दार्जिलिङकी लेखिक अमल सुब्बा क्षेत्री, सुक्खिम याक्थुङ साप्सक् सङ्चुम्भोका अध्यक्ष चन्दनसिं ताम्लिङ, शेरमान ताम्लिङ, सिक्किम विश्वविद्यालयको लिम्बु विभाग प्रमुख आस बहादुर मुरिङ्ला, डा. ग्रेसी लिम्बु, प्रोफेसर स्वर्णिम सुब्बा, सञ्चारकर्मी करण लिङ्देन, सिक्किम राज्यका विभिन्न विश्वविद्यालय, कलेज र स्कुलका शिक्षक र विद्यार्थीहरू लगायत सहभागी थिए । सोसाइटीको स्थपाना सन् २०२२ मे १० मा भएको थियो । संस्थाले युमा साम्योलाई आदिम धर्मको रूपमा स्थापना गर्दै याक्थुङ लिम्बुको पहिचानका लागि समय समयमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन