
लण्डन । अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्व गोरखा सैनिक हरिबहादुर बुढामगरले कृतिम खुट्टाको सहारामा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी इतिहास रचेका छन् ।
नेपालबाट प्रकाशन हुने द हिमालयन टाइम्स दैनिकका अनुसार बुढाले हिजो दिउँसो ३ बजेर १० मिनेट जाँदा सगरमाथाको चुचुरोमा टेक्न सफल भएका हुन् । उनीसँगै अन्य चार जना पनि शिखरमा पुगेको बताइएको छ ।
४३ वर्षीय बुढामगर असम्भव केही छैन र अपाङ्गता भएका व्यक्तिले पनि चाहेको कुरा पूरा गर्न सक्छ भन्ने सन्देश दिन सगरमाथा आरोहण गरेको बताउँछन् । कन्वेरिङ ड्रिम्स एक्सपिडीसन्स नाम दिइएको आरोहण अभियानबाट सगरमाथा आरोहण गरेका बुढामगरले सामाजिक सञ्जालमा पोष्ट गरिएको छोटो भिडियोमा नसोचेको कुरा भयो भनेका छन् ।
सगरमाथाको सफल आरोहण सँगसँगै बुढामगरले घुँडाभन्दा माथिको कृतिम खुट्टाको सहारामा सगरमाथा चढ्ने पहिलो व्यक्ति बनेर विश्व कीर्तिमान पनि राखेका छन् । तथापि यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।
उनको सगरमाथा आरोहण एचएसटी एडभेन्चरका हरिकृष्ण थापामगरमार्फत भएको थियो । थापा बेलायतको स्पेशल फोर्समा काम गरिसकेका पूर्व गोरखा सैनिक हुन् ।
बुढामगरको जनसम्पर्क कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार चुचुरोमा पुगेपछि बुढामगर ‘हामीले शिखर चुम्यौँ’ भनेर चिच्याएका थिए ।
त्यसपछि सेटेलाइट फोन सम्पर्कमा उनले सगरमाथा आरोहण सोचेभन्दा गाह्रो भएको बताएका छन् । उनले जति लामो समय लागे पनि जति सास्ती भएपनि हामीले शिखरमा पुग्ने लक्ष्यलाई जारी राख्ने र जोड दिने कार्य गर्याैँ भनेका छन् ।
“यदि म शिखरमा पुग्न सक्छु भने सबै जना पुग्न सक्छन् चाहे उनीहरु जस्तोसुकै अपाङ्गता भएको होस् । सबैले सपना पूरा गर्न सक्छन्” उनले भनेका छन् । उनले आरोहणमा सहयोग गर्ने परिवार र सबैलाई सम्झेका छन् । उनीहरुको सहयोग बिना आरोहण सम्भव नहुने पनि बताएका छन् ।
उनले सन् २०१८ मा सगरमाथा चढ्ने योजना बनाएका थिए । तर अहिले सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा सगरमाथा आरोहण गर्न पाउँदा विशेष लागेको उनले बताएका छन् ।
उनले आरोहणको उद्देश्य अपाङ्गता बारेको बुझाइलाई परिवर्तन गर्नु र हरेकलाई आफ्नो सपना पूरा गर्न प्रोत्साहित गर्नु रहेको स्मरण गराएका छन् । “जतिसुकै विशाल र चुनौतीपूर्ण तपाईको सपना होस्, उचित मानसिकता भयो भने हरेक चीज सम्भव छ“ उनले भनेका छन् ।
बुढामगरको आरोहणलाई करिब ३० वटा संस्था र करिब ६०० व्यक्तिहरुले सहयोग गरेका छन् भने उनले पाँचवटा च्यारिटीका लागि ८ लाख ८४ हजार ९०० पाउण्ड सहयोग उठाउने लक्ष्य राखेका छन् । उनले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
बुढामगरले यसअघि नै घुँडाभन्दा माथिको कृतिम खुट्टाको साथमा ६ हजार ४७६ मिटर अग्लो मेरा पिक लगायतका हिमाल चढेर विश्व कीर्तिमान राखिसकेका छन् ।
रोल्पा मिरुलमा बुढाले सन् २०१० मा अफगानिस्ताको हेल्मण्डमा खटिएको बेला दुश्मनको एम्बुसमा परेर दुवै गोडा घुँडाभन्दा माथि गुमाएका छन् । त्यसयता उनी बेलायतमा प्रेरणादायी प्रवचन दिने, साहसिक खेलमा सहभागी हुने, सामाजिक तथा व्यावसायिक कार्यमा सक्रिय छन् ।





नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन