
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।
मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो ।
राष्ट्रपति पदको मतदानका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदानका लागि नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो ।
पूर्व सभामुख समेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्थ्यो भने अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको मात्र साथ थियो ।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने