
लण्डन । शिक्षा क्षेत्रमा विश्वमै कहलिएको बेलायतमा एक नेपाली महिला प्राज्ञले प्रोफेसरमा छनौट हुने मौका पाउनुभएको छ ।
चितवन पुर्ख्यौली घर भई हाल बेलायतको ब्राइटनमा बसोबासरत डाक्टर प्रियंवदा पौड्याल बेलायतकी कील (Keele) विश्वविद्यालयमा प्रोफेसरमा नियुक्त हुनुभएको छ ।
उहाँले नोभेम्बरदेखि सो विश्वविद्यालयमा जनस्वास्थ्य विषयको प्राध्यापकको कार्यभार सम्हाल्नु हुनेछ । यसका साथै सो विश्वविद्यालयको इन्स्टिच्यूट अफ ग्लोबल हेल्थको डाइरेक्टरको जिम्मेवारी पनि उहाँले पाउनु भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबायोलोजीमा स्नातकोत्तर गरी सन् २००५ मा उच्चशिक्षा अध्ययनका लागि उहाँ बेलायत आउनुभएको थियो । उहाँले एबरडिन विश्विद्यालयबाट स्नातकोत्तर र विद्यावारिधि गर्नुभएको छ । उहाँको विद्यावारिधि नेपालको गार्मेन्ट उद्योगमा काम गर्ने श्रमिकहरुको स्वास्थ्यका बारेमा थियो ।
विद्यावारिधिपछि एबरडिन विश्वविद्यालयमा नै रिसर्च असिस्टेन्ट हुनुभएकी पौड्याल प्लेमथ विश्वविद्यालयमा रिसर्च फेलो हुँदै अहिले ससेक्स विश्वविद्यालयमा सिनियर लेक्चररको रुपमा कार्यरत हुनुहुन्छ ।
विगत १७ वर्षदेखि बेलायतमा प्राज्ञिक क्षेत्रमा कार्यरत पौड्याल आफ्नो अधिकांश अध्ययन अनुसन्धान नेपाल र नेपालीको बारेमा केन्द्रीत रहेको बताउनुहुन्छ । नयाँ जिम्मेवारीले अझ नेपाल र दक्षिण एसियाको स्वास्थ्य क्षेत्रका बारेमा अनुसन्धान गर्न सजिलो बनाउने उहाँको अपेक्षा छ ।
बेलायतमा आप्रवासीहरुमाथि विभिन्न क्षेत्रमा जातीय भेदभाव हुने गरेको प्रसंग उठाउँदा उहाँले भन्नुभयो, ‘जातीय विभेद प्राज्ञिक क्षेत्रमा छँदै छैन भन्ने होइन तर मैले आजसम्म खासै अनुभव गर्नु परेको छैन ।’
अहिले बेलायतमा नवपुस्ताका धेरै नेपालीहरु विश्वविद्यालयमा अध्ययनरत छन् । उनीहरुमध्ये कतिको प्राज्ञिक पेशा अपनाउने रुचि पनि होला । उनीहरुलाई के भन्न चाहनुहुन्छ भन्ने प्रश्नमा उहाँले ‘आफ्नो निरन्तर लगन, मिहिनेत, परिश्रम तथा गुरुहरुको मार्गनिर्देशन महत्वपूर्ण हुन्छ । आफू एक्लैले धेरै गर्न गाह्रो हुन्छ । गुरुहरु, परिवार, साथीभाइ सबैसँग मिलेर सिक्दै अघि बढेमा माथिसम्म पुग्न सकिन्छ’ भन्नुभयो ।
बेलायतमा औँलामा गन्नसक्ने संख्यामा नेपालीहरु प्रोफेसर भएका छन् । जसमा लिड्स विश्वविद्यालयका सूर्य सुवेदी, कार्डिफ विश्वविद्यालयका कुल लुइँटेल, हडर्सफिल्ड विश्वविद्यालयका पदम सिम्खडा, अक्सफोर्ड विश्वविद्यालयका दीवाकर आचार्य, युनिभर्सिटी कलेज लण्डनका तेजेन्द्र फेराली, स्ट्राथक्लाइड ग्लास्गो विश्वविद्यालयका चन्द्र थापा, एसेक्स विश्वविद्यालयका पवन अधिकारी लगायत छन् । तर अहिलेसम्म महिलाहरुले भने प्रोफेसर बन्ने अवसर पाएका थिएनन् ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
विचार : सहजताको मूल्य र गोपनीयता
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा