काठमाडौँ । कोभिड–१९ सङ्क्रमणका बेला महामारी नियन्त्रणका लागि नेपालमा जारी बन्दाबन्दीका समयमा यहाँ अलपत्र परेका आफ्नो देशका नागरिकको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ ।
दूतावासको टाउन हलमा आज आयोजित भर्चुअल कार्यक्रममा दूतावासले बोर्डलाई सम्मान गरेको हो । बन्दाबन्दीको कठिन समयमा बोर्डले उद्धार उडानमार्फत आफ्नो देशका पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको र त्यो कार्यको अमेरिकी जनता र दूतावासले उच्च मूल्याङ्कन गरेको उल्लेख गर्दै बोर्डलाई उक्त सम्मान प्रदान गरिएको दूतावासले जनाएको छ ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाल र अमेरिकाबीच लामो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकाले सधैँ सहयोग गर्नेसमेत बताउनुभयो ।
यस्तै अमेरिकन सिटिजन सर्भिसका चिफ डेमार्क स्चुल्जले कोभिड–१९ का समयमा बोर्डले खेलेको भूमिका प्रशंसनीय भएको बताउँदै त्यसका लागि अमेरिकी नागरिकका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
दूतावासको सम्मानपछि प्रतिक्रिया दिँदै बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कोभिडका समयमा नेपालले गरेका कार्यबाट बोर्डले सम्मान पाउनु नेपाली पर्यटन क्षेत्रका लागि खुसीको कुरा भएको बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा), होटल एशोसिएसन नेपाल (हान), नेपाल माउन्टेनरिङ एशोसिएसन (एनएमए) प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल, र्याफ्टिङ एजेन्सिज एशोसिएसनलगायतका पर्यटनसँग सम्बन्धित विभिन्न संस्था र बोर्डका कर्मचारीको सामूहिक प्रयासबाट पर्यटक खोज तथा उद्धार गरिएको थियो ।
बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले दूतावासले प्रदान गरेको यो सम्मान नेपालको समग्र पर्यटन र नेपाली आतिथ्यताको सम्मान भएको बताउनुभयो । सन् २०१९ देखि विश्वव्यापीरूपमा सुरु भएको कोभिड–१९ ले नेपालमा सन् २०२०–२०२१ मा बढी प्रभाव पारेको सो समयमा बोर्डले स्ट्रयान्डेड इन नेपाल अनलाइन अभियान सञ्चालन गरी नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका एक हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी), जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्था तथा नेपालस्थित विभिन्न कूटनीतिक नियोगसँगको समन्यवमा बोर्डले रिपाट्रिएशन फ्लाइटमार्फत करिब पाँच हजारभन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो । बोर्डले विदेशी पर्यटकको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै यसअघि सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) कै अवसरमा नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्डसमेत प्राप्त गरेको थियो । विश्व चर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई उक्त अवार्ड प्रदान गरेको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने