काठमाडौँ । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । उक्त निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन् ।
आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने छन् । लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नं दुई र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले वाग्मती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश नं २ मा मात्र भाग लिने जानकारी दिइएको छ ।
आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई पुस १ देखि आजसम्म दल दर्ताका लागि समयावधि प्रदान गरेको थियो । प्रत्येक निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नपर्ने संवैधानिक व्यवस्था छ । उक्त निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।
१९ पदका लागि हुने उक्त निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन् । आगामी यस निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा(एस)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । विज्ञका रूपमा मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि सोही मितिमा पूरा हुनेछ ।
प्रवुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा सदस्यको पदावधि छ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नपर्ने प्रावधान छ । उक्त निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । सोही दिनदेखि निर्वाचन आचारसंहित सबैका लागि लागू गराउने आयोगले सोच बनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग