
काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज टेलिफोन संवाद भएको छ ।
करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
सो अवसरमा दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । कुराकानीका क्रममा कोभिडविरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमासमेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
साथै दुई विदेशमन्त्रीबीच साझा स्वार्थका सम्बन्धमा नजिकबाट समान धारणा बनाएर दुई देशबीचको परम्परागत लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुईपक्षीय समन्वय र सहकार्यलाई महत्व दिनेबारे कुराकानी भएको छ । सो क्रममा विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तोसमेत दिनुभएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत