वासिङ्टन । संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ ।
गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरेको छ ।
सेनाले निर्वाचित सरकारलाई विस्थापित गरेको छ भने नेतृ आङ सान सू की र अन्य नेताहरुलाई नजरबन्दमा राखेको छ ।
अमेरिकी व्यापार प्रतिनिधि केथेरिन ताईले जारी गर्नु भएको विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारको तत्काल पुनर्वहाली भएको हेर्न चाहन्छ भनिएको छ ।
संयुक्तराज्य अमेरिका बर्मेली सेनाले निहत्था नागरिकमाथि गरिरहेको हिंस्रक आक्रमणप्रति कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दै विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शनकारी, विद्यार्थी, कामदार, श्रमिक नेताहरु, स्वास्थ्यकर्मी, र बालबालिकाको हत्याले अन्तर्राष्ट्रिय समुदायलाई हतप्रभ बनाएको छ ।”
साथै विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले म्यान्मारसँग सन् २०१३ मा गरेको व्यापार तथा लगानी संरचना सम्झौतालाई तत्काल निलम्बन गरेको उल्लेख छ । उक्त सम्झौता बमोजिम दुई मुलुकले म्यान्मारको अर्थतन्त्रलाई विश्व व्यापारसँग एकीकृत गर्ने प्रयास स्वरुप व्यापार र लगानीका विषयमा सहकार्य हुँदै आएको छ । म्यान्मारको सेनाले लोकतान्त्रिक शासन व्यवस्थालाई समर्थन जनाएपछि उक्त सम्झौता गरिएको थियो ।
तर अमेरिकी व्यापार प्रतिनिधि ताईको सोमबारको घोषणाबाट दुई मुलुकबीचको व्यापार भने तत्काल रोकिने छैन ।
यही कारण संयुक्तराज्य अमेरिकाले म्यान्मारमाथि अलग्गै प्रतिबन्धहरु लगाउँदैछ । उदाहरणका लागि, संयुक्तराज्य अमेरिका र बेलायतले म्यान्मारको सेनाको नियन्त्रणमा रहेका दुई ठूला व्यापारिक कम्पनीहरु म्यान्मार इकोनोमिक होल्डिङ्स लिमिटेड र म्यान्मार इकोनोमिक कर्पोरेसनमाथि प्रतिबन्ध लगाइसकेका छन् ।
ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले म्यान्मारको निर्यात व्यापारमा नियन्त्रण गर्न थालिएको र केही बर्मेली व्यवसायलाई कालोसूचीमा राखिएको जानकारी दिनु भएको छ ।
म्यान्मार र संयुक्तराज्य अमेरिकाबीचको व्यापार त्यति ठूलो छैन । गत वर्ष अमेरिकाले म्यान्मारतर्फ करिब ३३ करोड ८० लाख डलरको सामग्री निर्यात गरेको थियो भने करिब एक अर्ब डलर बराबरको आयात गरेको थियो ।
तर अमेरिका र अन्य विकसित मुलुकहरु म्यान्मारका तयारी पोशाकका प्रमुख खरिदकर्ता रहेका छन् । यी कारखानाहरु अधिकांश विदेशीले खोलेका छन् । यी कारखानाले गरिबीको चपेटामा परेको म्यान्मारमा लाखौंलाई रोजगारी उपलब्ध गराएका थिए ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी