वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदबारले प्रतिक्रिया दिएका छन ।
चुनावी मैदानमा रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिए भने अर्का प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेनले आफू विजयको बाटोमा रहेको उल्लेख गरे ।
मतगणना भइरहेका बेला सामाजिक सञ्जालहरु मार्फत उनीहरुले अन्तिम नतिजा आफ्नो पक्षमा पर्ने दाबी पनि गरे ।
नेपालको समय अनुसार मंगलबार बेलुकादेखि शुरु भएको मतदान राती अबेर सम्पन्न भएको थियो भने बुधबार बिहानदेखि मतगणना शुरु भएको थियो ।
अहिले विभिन्न राज्यका मत गणनाका परिणामहरु आउने क्रम जारी छ । नयाँ प्रक्षेपणअनुसार महत्वपूर्ण मानिएको फ्लोरिडामा ट्रम्प विजयी भए ।
कुल २९ इलेक्टोरल मत रहेको फ्लोरिडामा अघिल्लो निर्वाचनमा पनि ट्रम्पले नै जितेका थिए । त्यसअघि सन् २००८ र २०१२ को निर्वाचनमा भने डेमोक्र्याट तर्फका उम्मेदवार बाराक ओबामा विजयी भएका थिए ।
नेब्रास्कामा पनि ट्रम्पले नै जित्ने अनुमान गरिएको छ । त्यहाँ पाँच इलेक्टोरल मत मध्ये चार ट्रम्पलाई र एक वाइडेनलाई आउने देखिएको छ । यसअघि सबै ट्रम्पलाई नै गएकोमा अहिले बाइडेनले एक मत खोस्ने देखिएको हो ।
कुल १८ इलेक्टोरल मत रहेको ओहायो र ४ मत रहेको आइडहोमा ट्रम्पले जित्ने र १३ इलेक्टोरल मत रहेको भर्जिनियामा बाइडेनले जित्ने प्रक्षेपण गरिएको छ ।
यी सबै राज्यमा अघिल्लो निर्वाचनमा जस्तो नतिजा आएको थियो अहिले पनि उस्तै नतिजा आउने देखिएको छ ।
प्रत्यक्ष मतदान मंगलबार भएपनि सोमबारसम्म हुलाकबाट झण्डै नौ करोड अमेरिकी नागरिकले मतदान गरेको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाक मार्फत लाखौ मतदाताले मतदान गर्दछन् ।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यस पटक कोरोनाभाइरस महामारीलाई लिएर झण्डै ९ करोडले हुलाकमार्फत् मतदान गरेका हुन् ।
हुलाक मार्फत पठाइएका मत आउने क्रममा रहेको र गणना गर्न समय लाग्ने भएकाले अन्तिम नतिजा आउन केही दिन लाग्न सक्ने बताइएको छ ।
अमेरिकामा इलेक्टोरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसङ्ख्याका आधारमा इलोक्टरल मत तोकिएको हुन्छ ।
यो प्रणालीअन्तर्गत निर्वाचक मण्डलमा कुल ५३८ मत हुन्छ । निर्वाचन जित्न उम्मेदवारले २७० मत जित्नु पर्दछ ।
अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्र्याटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ । परम्परावादी तर्फका ट्रम्प ७४ वर्ष र उदारवादी तर्फका बाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेबारी बुढा नेतालाई नै पर्ने भएको छ ।
बाइडेनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाए भने ट्रम्प आफूमाथि लागेको आरोपहरुको प्रतिरक्षा गर्दै आक्रामक रूपमा प्रस्तुत भए ।
चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनलाई नै अगाडि देखाइएको थियो भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दावी गरिएको थियो ।
अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।
सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् र उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन् ।
यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्टोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गरेका छन् ।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि कुल मतदानमा हिलारी क्लिन्टनले धेरै पाएपनि इलेक्टोरल कलेजको मत डोनाल्ड ट्रम्पले धेरै पाएर उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसैगरी त्यति बेला अधिकांश सर्वेक्षण र सञ्चार माध्यमहरुले हिलारी नै विजयी हुने प्रक्षेपण गरेका थिए ।
अमेरिकामा हरेक चार चार वर्षमा नोभेम्बर ३ तारिखका दिन निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन