पोर्चुगल । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको भीषण पहिरोमा परि ज्यान गुमाएका परिवारका महिला तथा बालबालिकाहरुको सहयोगार्थ पोर्चुगलका नेपाली दिदीबहिनीहरुको साझा संस्था नेपाली महिला समाज पोर्चुगल मार्फत यसपालीको तीज मनाउने र दर खाने पैसा नगद रु ५० हजार पहिरो पीडितलाई सहयोग गर्ने भएका छन् ।
“नेपाली महिला समाजले विगत बर्षहरुमा पोर्चुगलमा सार्वजनिक कार्यक्रम गरी भव्य रूपमा तीज मनाउने र दर खाने गरेको थियो । तर यसपटक कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी सार्वजनिक रूपमा तीज मनाउने र दर खाने कार्यक्रम स्थगित गरी दर खाने र कार्यक्रम गर्ने पैसा पहिरो पीडित महिला दिदिबहिनी तथा बालबालिकाका लागि रु ५० हजार नगदै सहयोग पठाउने निर्णय भएको” महिला समाजकी अध्यक्ष निर्मला ढकाल खरालले बताइन् ।
कोरोना महामारीले रमाइलो गर्ने माहोल त छैन नै, अहिले पोर्चुगल सरकारको नीति निर्देशन बमोजिम तीज मनाउन जमघट र सार्वजनिक कार्यक्रम गर्नु उचित पनि छैन, त्यसैले हामी दिदीबहिनीहरुले दर खाने र तीज मनाउने सानै रकम भए पनि पहिरो पीडितलाई पठाउने भएका हौं, समाजकी महासचिव सरिता शर्माले जानकारी दिइन् । पैसा स्थानीय निकायका जनप्रतिनिधि मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिने तयारी रहेको समाजकी सचिव सरला तिमिल्सिनाले जनाइन् । कोरोना महामारीको चपेटाले सबैको स्थिति कठिन भएको बेला पनि तीज मनाउन तयार गरेको पैसा पहिरोले आहत भएको परिवारलाई केही राहत होस् भन्ने हेतुले प्रदान गर्न लागिएको र यसमा सहयोग गर्ने सबैमा कोषाध्यक्ष सुशीला थापाले धन्यवाद दिइन् । सहयोगदाताहरु सबैको नामावली केही दिनमा नेपाली महिला समाज पोर्चुगलको फेसबुक पेजमा प्रकाशित गरिने पनि उनले बताइन् ।
कोरोना महामारीको बीचमा तीज मनाउन तयार गरिएको रकम महिला समाज पोर्चुगल मार्फत पहिरो पीडितलाई दिने अत्यन्त उदारणीय र अनुकरणीय कार्य गरेको भनी पोर्चुगलको नेपाली समुदायले सघ सस्थाका अगुवाहरुले प्रशंसा र धन्यवाद दिएको पाइएको छ । नेपाली महिला समाज पोर्चुगललाई निर्मला ढकाल खराल, माया खराल, सरिता शर्मा, सरला तिमिल्सिना, सुशीला थापा, शान्ति अर्याल अधिकारी, शोभा गिरी, नानीमाया तामाङ, सुमित्रा दिवाली, सर्मिला ढुंगाना, सरस्वती पौडेल तिवारी, देवका थपलिया, गोमा गैरे देवकोटा, रितु सापकोटा, इन्दिरा परियार लगायतका महिलाहरुले नेतृत्व र अगुवाई गरिरहेका छन् ।
अहिले के छ लिदी पहिरोको अवस्था ? पहिरामा परी मृत्यु भएकाहरुमा हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिमा मात्रै छन् । पहिरामा ज्यान गुमाउने २८ जना पुगेका छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन् । एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती