लन्डन । कलैयाका विशाल सिंह अनगिन्ती सपना बोकेर ४ फेब्रुअरीमा बेलायत टेकेका थिए । युनिभर्सिटी अफ हडर्सफिल्डमा कम्प्युटर साइन्स पढ्न उनले नेपालबाट ७ हजार २ सय ३५ पाउण्ड (करिब दश लाख ५० हजार रुपैयां) बुझाए ।
११ मार्चमा अर्को किस्ता ५ हजार ५ सय पाउण्ड तिर्ने समयसीमा थियो । तर, बेरोजगार भएकाले आफ्नो फि तिर्न उनले फेरि परिवार गुहारे । ‘घरबाट मेरो खातामा पैसा डिपोजिट हुने बित्तिकै बैंकले शंकास्पद ठानेर अकाउण्ट नै ब्लक गरिदियो’, उनले दुःखेसो पोखे, ‘विश्वविद्यालयको पत्र, पासपोर्ट कपी, पैसा मगाएको सबै प्रमाण दिंदा पनि बैंकले एक महिनादेखि दुःख दिइरहेको छ ।’
जागिर नहुंदाको पीडा छंदै थियो, यही बेला विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण थप चिन्तित छन् उनी । ‘नेपाल जाउं पैसा छैन् । यहां कोरोनाबाट एकदम असुरक्षित महशुस गरिरहेका छौं’, उनले सुनाए, ‘हामी बसेको हडर्सफिल्ड गाउं अहिले पुरै ‘लक डाउन’, चकमन्न र उराठलाग्दो छ । सामान किन्न स्टोर सबै बन्द भएकाले भोकभोकै छौं ।’
कोरोनाकै कारण विश्वविद्यालय सेप्टेम्बरसम्म बन्द भएकाले आफूहरुलाई तुरुन्त नेपाल फर्कने वातावरण बनाइदिन उनले सरकारसंग आग्रह गरेका छन् । टिकट काटेर नेपाल जान कम्तीमा २ हजार पाउण्ड लाग्ने देखिएकाले त्यो आफूहरुबाट सम्भव नभएको विद्यार्थीले बताए ।
नेपालगन्जका २० वर्षीय रिचर्ड पाण्डे पनि युनिभर्सिटी अफ हडर्सफिल्डमै कम्प्युटर साइन्स पढ्न आएका हुन् । बेलायती डिग्रीको सपना सांचेर ‘प्लस टु’ सके लगत्तै शैक्षिक गन्तव्य यूके उचित ठाने उनले । ‘पैसा कमाउने उद्देश्य भन्दा डिग्री लिनकै लागि बेलायत आएको झन् बिजोग भयो’, उनले भने, ‘घरबाट ल्याएको पैसा सबै सकियो, यहां जागिर छैन् । नेपालबाट ल्याएको मुगको दालमोठ खाएर बसेका छौं । मानसिक सन्त्रासमा कोठाबाट बाहिर निस्कन पनि सकेका छैनौं ।’
बिजनेश पढ्न ११ हजार ५ सय पाउण्डमध्ये ७ हजार ४७५ पाउण्ड तिरेर बेलायत आएका सुदिन सुवेदीको हालत पनि दयनीय छ । जागिर र विश्वविद्यालय नहुंदा उनी नेपाल फर्कने प्रतिक्षामा बसिरहेका छन् । ‘हाम्रो विश्वविद्यालयमा महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदीको स्वागत कार्यक्रम हुंदा उहांले केही समस्या परे दूतावास सधैं सहयोग गर्न तयार छ भन्नुभएको थियो’, सुवेदीले भने, ‘आशा छ उहांले हामीलाई केही गर्नुहुन्छ ।’
यी विद्यार्थीमात्र होइन, अहिले लन्डनबाट घण्टौं टाढा रहेका युनिभर्सिटी अफ हडर्सफिल्ड, बोल्टन र यूनिभर्सिटी अफ सेन्ट्रल ल्यानकासायर (यूक्ल्यान) मा अध्ययनरत करिब २ सय नेपाली विद्यार्थीको यतिखेर विचल्ली छ । कोरोना भाइरसका कारण कयौं रेष्टुरेन्ट र अन्य विजनेश बन्द भएपछि विद्यार्थी जागिरविहीन छन् ।
हडर्सफिल्डमा करिब एकसय, यूक्ल्यानमा ७० र युनिभर्सिटी अफ बोल्टनमा ४० जति नेपाली विद्यार्थी अध्ययनरत रहेका विद्यार्थीले बताएका छन् । ति सबै बेलायतमा नयां र बेरोजगार छन् ।
लन्डनबाट झण्डै साढे तीन घण्टाको दूरीमा पुगिने हडर्सफिल्ड रोजगारीको अवसर ज्यादै कम भएको गाउं मानिन्छ । हडर्सफिल्ड युनिभर्सिटी पढ्ने प्राय सबै राइट पाथ कन्सल्टेन्सीबाट आएका विद्यार्थी बताउंछन् ।
पीडित विद्यार्थीले लन्डनस्थित नेपाली दूतावास, विश्वविद्यालयका नेपाली सोसाइटी र नेपाली मिडिया कसैले पनि आफ्ना गुनासो नसुनेको जिकिर गरेका छन् ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरनले नेपाल सरकारले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै नेपाली र गैर नेपालीलाई नेपालयात्रा निषेधित गरेकाले आउंदो अप्रिल १२ सम्म पर्खन विद्यार्थीलाई आग्रह गरे । ‘विश्वमै सृजित विषम परिस्थितिमा सरकारलाई दोष दिन भन्दा पनि यहीं सतर्कता अपनाएर बस्न हाम्रो सुझाव छ’, आरनले भने, ‘यतिखेर नेपाल जाने फ्लाइट पनि छैन् । फेरि कोरोना भाइरस संक्रमण मानवीय स्वास्थ्यसंग जोडिएकाले देश र समाजलाई नै असर हुने सवालमा सबैले बुझिदिनुपर्छ ।’
५ महिना अगाडि बेलायत आएकी न्यान्सी कडायत हडर्सफिल्डमै बस्छिन् । उनले बेलायतका नेपालीमा झन् दुःख दिने मानसिकता रहेको बताइन् । ‘नेपाली रेष्टुरेन्टमा काम गर्न पनि महिलालाई सुरक्षित देखिन’, कडायतले सुनाइन् ।
यसैबीच, बिचल्ली परेका विद्यार्थीलाई सहयोग गर्न यहांका केही नेपालीले चासो व्यक्त गरेका छन् । एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्काले ६ जना विद्यार्थीलाई उनीहरुले चाहेजति समय बस्न र खान दिने प्रतिवद्धता व्यक्त गरेका छन् । अर्की उपाध्यक्ष रोजिना प्रधान राईले पनि त्यति नै संख्याका विद्यार्थीलाई खान बस्न व्यवस्था गरिदिने बताएकी छन् ।
युनी ल्याडर कन्सल्टेन्सीका सिइयो गणेश खड्काले पनि आफूले दुई जना विद्यार्थी राख्ने वचन दिएका छन् । खड्काले बेलायतमा अहिले विद्यार्थीका लागि अनुकुल वातावरण नभएको बताउंदै मे इन्टेकमा नआउन सुझाए ।
बेलायतमा कोरोना भाइरसबाट मर्नेको संख्या शुक्रबारसम्म १७७ पुगेको छ । करिब ४ हजार जनामा पोजेटिभ पाइएको छ । सरकारले शुक्रबारदेखि पब, रेष्टुरेन्ट, क्लब, जिम, सिनेमा हल बन्द गर्न निर्देशन दिएको छ । तर, कामदारहरुलाई तलबको ८० प्रतिशत तीनमहिनासम्म दिइने सरकारले बताएको छ । शुक्रबारदेखि नै बेलायतका स्कुल पनि बन्द गरिएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा