लन्डन । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेले नेतृत्व चयन प्रक्रिया गाह्रो र असाध्यै खर्चिलो हुंदै गएको टिप्पणी गर्दै यसलाई सुधार गर्न तुरन्तै कदम नचाले संगठनप्रति धेरै ठूलो वर्गको मोहभंग हुने चिन्ता व्यक्त गरेका छन् ।
काठमाण्डौंमा नवौं विश्व सम्मेलन समापन भएको भोलिपल्ट शनिबार सोसियल मिडियामा एक स्टाटस लेख्दै उनले संगठन विस्तारले गर्विलो इतिहास निर्माण गरे पनि केही अनपेक्षित विकृति र अप्ठ्याराहरूको सामना गर्नु परिरहेको यसपटक सबैले महसुस गरेको उनले टिप्पणी गरेका छन् ।
‘हामीले नेतृत्व चयन प्रक्रियालाई सुधार गर्न तुरन्तै कदम चालेनौं भने धेरै ठूलो वर्गको यो संगठनप्रति मोहभंग हुने अब निश्चित भइसक्यो । हाम्रो भूमिकाको बारेमा गहन छलफल गर्नुपर्ने सम्मेलन चुनाव केन्द्रित र विभिन्न किसिमका उचित, अनुचित र असामयिक प्रभावको कैदी हुंदै गएको छ’- उनले भनेका छन्, ‘यस्तो प्रवृत्ति बढ्दै गएमा हाम्रो सांगठनिक शक्ति उद्देश्यच्युत र पथभ्रष्ट हुने ठूलो खतरा छ । यो अवस्थातिर जानबाट संगठनलाई रोक्ने जिम्मा एउटा कुनै कार्यसमिति वा पदाधिकारीको होइन, गैरआवासीय नेपाली संघसंग जोडिएका हरेक सदस्यको हो भन्ने आत्मसात गरौं ।’
उनले अगाडि भनेका छन्, ‘नेपालमा हामीले गर्ने हरेक क्रियाकलाप अत्यन्त सुक्ष्म ढंगले हेर्ने गरिन्छ र एयरपोर्टदेखि एयरपोर्टसम्म हामीले गर्ने व्यवहारले सम्पूर्ण समुदायलाई प्रतिनिधित्व गर्छ भन्ने कुरा पनि हरदम सम्झिनु जरुरी छ ।’
एनआरएनए सम्मेलनलाई दशैंमा पारिवारिक भेटघाट र रमाइलो गर्न मातृभूमि फर्केको जमातको जमघट र कुनै एक व्यक्तिको क्रियाकलापलाई सम्पूर्ण समुदायको प्रतिनिधि घटना ठान्ने प्रवृत्ति नेपालमा व्याप्त भएको उल्लेख गर्दै एकताको सन्देश दिन, सहमतिको वातावरण निर्माण गर्न, विकास र समृद्धिको एजेण्डामा गहन विमर्श गर्न र विश्वमा हासिल गरेका उत्कृष्ट अनुभव र संस्कारको नेपालमा प्रदर्शन गर्न चुकियो भने ती आरोप झन् घनिभूत हुने र यथार्थ ठहरिने उनको धारणा छ ।
‘यो संगठनको अस्तित्वको सारमा रहेको ‘नेपालीका लागि नेपाली’ भन्ने महान मन्त्रको उच्चारण गर्दै, सम्मेलन अवधिमा भोगेका नकारात्मक अनुभवलाई बिर्सेर आ आफ्नो कर्मभूमिमा फर्केपछि एकता र भाइचाराको संदेश छर्न र संगठनमा अझ धेरै नेपालीको सहभागितालाई सुनिश्चित गर्न र नेपालको समृद्धि अभियानमा उत्साहका साथ जोडिन नयां कार्य समितिका साथीहरुलाई सफलता मिलोस्, शुभकामना’- उनले भनेका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण