
काराकास । भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरूले पुष्टि गरेका छन् ।
हालसम्म प्राप्त विवरणअनुसार भूकम्पमा पोर्चुगिज नागरिक वा पोर्चुगिज मूलका १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । पोर्चुगलको विदेश मन्त्रालयले यसअघि नौ जनाको मृत्यु र ५६ जना बेपत्ता रहेको जनाएको थियो ।
चीनको सरकारी प्रसारक सिसीटिभीले काराकासस्थित चिनियाँ दूतावासलाई उद्धृत गर्दै सात चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ । दूतावासले भेनेजुएलामा रहेका आफ्ना नागरिकलाई पराकम्पन तथा अन्य सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ ।
स्पेनले पनि आफ्ना कम्तीमा पाँच नागरिकको मृत्यु भएको तथा ११९ जना अझै बेपत्ता रहेको जनाएको छ । भग्नावशेषबाट १४ जनालाई फेला पारिएको स्पेनी अधिकारीहरूले बताएका छन् । स्पेनले राहतका लागि १० लाख युरो सहयोग घोषणा गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार भेनेजुएलामा करिब एक लाख ४७ हजार स्पेनी नागरिक बसोबास गर्दै आएका छन् ।
ब्राजिलको विदेश मन्त्रालयले भूकम्पमा आफ्ना दुई नागरिक–एक पुरुष र एक महिलाको मृत्यु भएको पुष्टि गर्दै उनीहरूका परिवारलाई कन्सुलर सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।
इटालीको विदेश मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रभावित ला गुएरा क्षेत्रमा भवन भत्किँदा काराकासमा जन्मिएका तथा इटालियन र भेनेजुएली दुवै नागरिकता भएका ५० वर्षीय एक पुरुषको मृत्यु भएको छ । इटालीका करिब एक लाख ७० हजार राहदानीवाहक भेनेजुएलामा बसोबास गर्दै आएको अनुमान गरिएको छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]