लन्डन – हाल बेलायत भ्रमणमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको मुहार फेर्ने अहिले उपयुक्त समय भएको बताएका छन् । यहाँस्थित नेपाली दूतावासद्वारा बिहिबार बेलुका आयोजना गरिएको एक स्वागत समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले लामो समयपछि नेपालमा स्थिर सरकार बनेको र विकासको सिढी चढ्न अहिले उपयुक्त समय आएको बताए ।
‘बंगलादेश चढिसक्यो । भुटान र मालदिभ्सले पनि उछिनी सके । यो अवसर पनि हामीले गुमायौं भने इतिहासले के भन्ला ?’- उनले प्रश्न गरे ।
विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुलाई आर्थिक कूटनीतिमा बढी ध्यान दिन पनि उनले सुझाव दिए ।
‘नेपालको व्यापार घाटा डर लाग्दो स्तरमा पुगेको छ । अहिलेसम्म विप्रेषणले धानेको छ, तर त्यो पनि घट्दै छ । यस्तो बेला नेपालको बाह्य व्यापार बढाउन नेपाली नियोगहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ’- उनले भने ।
मुख्यमन्त्री गुरुङले नेपालमा शान्तिपूर्ण क्रान्ति भएकाले सेना, प्रहरी र निजामती सेवामा खासै फेरबदल नगरिएको र नेपालको ‘ब्युरोक्रेसी’ ले अझै पुरानो मानसिकताले काम गरिरहेको गुनासो पनि गरे । उनले नेपाल सरकार नेपालमा विदेशी लगानी भित्र्याउन कटिबद्ध रहेको बताउंदै त्यसमा सघाउन बेलायत लगायत प्रवासमा बसेका नेपालीहरुलाई आग्रह गरे । उनले आउंदो २५ वर्ष भित्र गण्डकी प्रदेशका वासिन्दाको प्रति व्यक्ति आम्दानी वार्षिक १५ हजार डलर पुराउने उद्देश्य लिएर प्रदेश सरकारले काम गरिरहेको पनि सुनाए ।
सो अवसरमा मुख्यमन्त्री गुरुङलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदीले युरोपस्थित सबै मुलुकहरुसंग नेपालको व्यापार घाटा रहेको तर बेलायत संगको व्यापारमा भने नेपाल नाफामा रहेको बताए । उनले भूकम्पपछि नेपाल जाने ब्रिटिश पर्यटकहरुको संख्या घटेर २९ हजार पुगेकोमा गत वर्ष ६३ हजार पुगेको बताए । “यो वर्ष ७५ हजार र आउंदो वर्ष एक लाख ब्रिटिश पर्यटक नेपाल लैजाने उद्देश्यले हामी काम गरिरहेका छौं, यो लक्ष अवश्य पुरा गर्ने छौं,” उनले भने ।
राजदूत सुवेदीले कार्पेट, गार्मेन्ट र हस्तकला बाहेक अहिले आएर बेलायतको बजारमा नेपाली चिया र नेपाली कफीको प्रवर्धन गरिदै रहेको पनि जानकारी दिए । उनले दूतावासले वेल्स, उत्तरी आयरल्याण्ड, डब्लिन लगायत शहर पुगेर नेपाल प्रवर्धनको काम गरिरहेको जानकारी पनि गराए । राजदूत सुवेदी अन्तरराष्ट्रिय कफी संघका उपाध्यक्ष पनि हुन् ।
तमुधि युकेद्वारा गत आइतबार आयोजित नेपाली मेलामा प्रमुख अतिथिको रुपमा भाग लिन गुरुङ बेलायत आएका हुन् । -इकान्तिपुर
तस्वीर- नेपाली दूतावास, लन्डन
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला