
वासिङ्टन, २५ फागुन– संयुक्तराज्य अमेरिका र चीनबीच तीन महिनादेखि जारी व्यापार वार्ताका विषयमा वासिङ्टन र बेइजिङबाट आइरहेका विवादास्पद टिप्पणीले समस्या समाधानमा अन्यौल बढेको विज्ञहरुले औंल्याएका छन् । दुबै देशका उच्च व्यक्तित्वबाट आएका टिप्पणीले विश्व शेयर बजारमा समेत असर परेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू व्यापार वार्ताप्रति आशावादी रहेको तर अमेरिकाका जायज सरोकारहरु सम्बोधन नहुँदासम्म चीनसँग कुनै सम्झौता नहुने स्पष्ट गर्नुभएको छ । राष्ट्रपतिका एक जना आर्थिक सल्लाहकारले पनि राष्ट्रपति ट्रम्प वार्ताबाट कुनै पनि समय बाहिरिन सक्ने चेतावनी दिनुभयो ।
गत वर्षदेखि नै दुई आर्थिक महाशक्ति राष्ट्रहरु चीन र अमेरिकाबीच व्यापारका विषयमा विवाद चुलिएको थियो । दुबै देशबाट एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानको आयात निर्यात गर्दा करवृद्धि गर्ने घोषणा गरिएको छ । यी कदमले विश्वको आर्थिक वृद्धि र व्यावसायिक आत्मविश्वासमा जोखिम सिर्जना गरेको छ ।
“मलाई सम्झौता हुनेमा पूर्ण विश्वास छ, तर यसमा अमेरिकी हित नसमेटिए म हस्ताक्षर गर्दिनँ,” आँधीले तहसनहस भएको अलाबा राज्यको भ्रमणमा निस्कनुअघि ह्वाइट हाउसमा संवाददाताहरुलाई राष्ट्रपति ट्रम्पले बताउनुभयो ।
अमेरिकी र चिनीया अधिकारीहरुले विवाद समाधानतर्फ सकारात्मक प्रगति भइरहेको बताएका छन् तर बेइजिङस्थित अमेरिकी कुटनीतिज्ञले शुक्रबार तत्कालै दुबै मुलुकबीच सम्झौता भइहाल्ने स्थिति नरहेको बताउनुभएको छ ।
अमेरिकाले चीनमा गहिरो संरचनात्मक परिवर्तन हुनुपर्ने माग गरिआएको छ । विदेशी लगानीकर्ताहरु र आफ्नो स्वामित्वका उद्यमहरुमाथि चीनले गरिरहेको फरक व्यवहारमा परिवर्तन गर्नुपर्ने अमेरिकी माग छ । साथै, अमेरिकाले चिनीया मुद्रा र अमेरिकी प्रविधिको संरक्षणलाई प्रमुख विषयका रुपमा उठाएको छ ।
ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले चिनीया राष्ट्रपति सी चिनफिङसँग हुने भनिएको शिखर वार्ता आगामी अप्रिलमा मात्र हुन सक्ने बताउनुभयो । दुबै देशका अधिकारीहरुले यसअघि शिखर वार्ता यसै महिना अर्थात मार्चको अन्त्यतिर हुन सक्ने बताएका थिए ।
कुड्लोले अमेरिकी टेलिभिजन च्यानल सीएनबीसीसँग कुरा गर्दै शिखर वार्तामा सहमति हुने सम्भावना नभए राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँगको हनोई शिखर बैठकमा झैं वार्ताबाट बाहिरिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति सीसँगको बैठकको समयसीमा अहिल्यै भन्न सकिन्न ।”
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले पनि दुई देशबीच व्यापार सम्झौता गराउन निरन्तर कार्य गरिरहनुभएको छ । व्यापार वार्ता सकारात्मक दिशातर्फ नै अग्रसर रहेको जनाउँदै भन्नुभयो, “फ्लोरिडामा बैठक हुन सक्छ । यो बैठक यसै महिना वा अर्को महिनाको शुरुमा हुन सक्दछ ।”
अमेरिकासँगको व्यापार वार्ताप्रति आशावादी छौं – चिनीया अधिकारी
चीन र अमेरिकाबीचको व्यापार वार्तामा सकारात्मक प्रगति हुनेमा चीन आशावादी रहेको चिनीया अधिकारीहरुले बताएका छन् । चीनका बाणिज्य उपमन्त्रीले दुबै देशका वार्ताकारहरुले अहोरात्र खटिएर व्यापारमा देखिएका असमझदारी हटाउन प्रयास गरिरहेको बताउनुभयो ।
दुबै देशका मध्यस्थकर्ताहरुले यसअघि तीन पटक वार्ता गरिसकेका छन् । अर्को साता हुने छलफलमा सम्झौतालाई अन्तिम स्वरुप दिन प्रयास गरिने बताइएको छ ।
“चीन–अमेरिकाबीच जारी व्यापार परामर्श बैठकले कुनै निचोड निकाल्नेमा म ज्यादै आशावादी छु,” उपमन्त्री वाङ शाउवेनले बताउनुभयो ।
बाणिज्य अधिकारीहरुले चीनले प्रस्ताव गरेको विदेशी लगानीसम्बन्धी कानुनले सरकारी टेन्डरहरुमा विदेशी कम्पनीले पनि भाग लिन पाउने व्यवस्था गरेको जानकारी दिए । चिनीया जनकङ्ग्रेसमा प्रस्तुत गरिएको उक्त कानुन अर्को शुक्रबार पारित हुने अपेक्षा गरिएको छ ।
उपमन्त्री वाङले प्रस्तावित कानुनमा ४८ वटा क्षेत्रलाई “संरक्षित सूची” मा राखिएको छ जहाँ विदेशी लगानीलाई या त निषेध गरिएको छ वा विशेष अनुमति आवश्यक पर्नेछ । “सम्पूर्ण प्रक्रिया खुला छ र विदेशी लगानीकर्ताका लागि कानुनी संरक्षणको व्यवस्था छ ।”
विदेशी फर्महरुका लागि चीनको व्यवसायिक वातावरणका बारेमा उत्पन्न चासोलाई सम्बोधन गर्ने लक्ष्य लिइएको यो कानुन पारित भएमा विदेशी लगानी अझ बढी आकर्षित हुने चीनको विश्वास छ ।
यो कानुनले प्रविधिको गैरकानुनी हस्तान्तरणलाई प्रतिबन्ध लगाएको छ भने विदेशी व्यवसायमा अवैध सरकारी हस्तक्षेपलाई पनि रोक्नेछ । यी दुई विषयलाई अमेरिकी सरकारले विगतदेखि नै उठाउँदै आएको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?