लन्डन । अल्डरसटमा बनाउन लागिएको शिव मन्दिरका लागि बेलायतका नेपालीले चन्दा कबुल गरेर पनि दिन आलटाल गरेपछि चिन्ता बढेको छ ।
शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरले शिव मन्दिर तथा सामुदायिक केन्द्र स्थापनार्थ भवन खरिदका लागि सहयोग जुटाउन गत जनवरी ४ तारिख देखि गरेको ३ दिने श्रीमद्भागवत पुराण, वेद र बुद्ध दर्शन सम्बन्धि आध्यात्मिक प्रवचनमा सहयोगका लागि धेरैले बोले, खादा लगाए तर खातामा पैसा अझै हालेनन् ।
सेन्टरका महासचिव विक्रम भट्टराईले शुक्रबार राती फेसबुकमा लेखे- ‘मन्दिरको भवनको चाबी बुझ्ने दिन नजिकिंदै गर्दा तीन लाख पाउण्ड जुटाउन नसक्ने हो कि भन्ने चिन्ता पनि बढ्दै छ । पुनः अनुरोध कृपया सक्दो चांडो तपाईंले वाचा गर्नुभएको सहयोग रकम खातामा जम्मा गरिदिनु होला र अरु सबैलाई भनिदिनु पनि होला ।’
वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको सुमधुर वाचनमा भएको उक्त आध्यात्मिक महोत्सवमा चेक र नगद गरि ९ हजार पाउण्ड खातामा आयो तर प्रतिवद्धता रकम ४२ हजार पाउण्ड अझै आएन ।
उक्त भवन खरिद गर्न ३ लाख पाउण्ड आवश्यक पर्नेछ । अहिलेसम्म प्रोपर्टीलाई दिएको दश प्रतिशत डिपोजिटसहित २ लाख ३० हजार पाउण्ड सेन्टरको बैंक खातामा छ । ‘मोर्गेज फ्रि’ गर्न ७० हजार पाउण्ड नभइ हुन्न । बोलेको रकम त एक लाख पाउण्ड बढि छ तर बैंक खातामा पैसा आइनसक्दा २८ जनवरीमा भवनको चाबी लिन नपाइने हो कि भन्ने चिन्ता सेन्टरलाई छ ।
महासचिव भट्टराईका अनुसार, १० हजार प्रतिवद्धता गर्ने व्यवसायी योगेन क्षेत्री, सदस्यहरुबाट उठाएर १० हजार पाउण्ड दिने प्रतिवद्धता गरेको तमुधिं यूके, श्रृजनशील नेपाली समाज यूके, पासा पुचः यूके, मोना यूके, फ्रिम्ली पार्क हस्पिटल र रोयल सरे गिल्फोर्डमा कार्यरत नेपाली, ५ हजार पाउण्ड बोल्ने तीन जना लगायत कयौंले रकम ‘ट्रान्सफर’ गर्न बांकी छ ।
साइ सेन्टर फार्नबोरोले ५० हजार मध्ये ४० हजार पाउण्ड दिइसकेको छ । सेन्टरले प्रतिवद्धता रकम छिटो दिएर आफ्नो अभियान सार्थक तुल्याइदिन अपिल गरेको छ ।
बास्तु शास्त्र अनुसार मन्दिरमा मूर्ति कता राख्ने भनेर पण्डित निलहरि घिमिरे र व्यवसायी रबिजंग लामिछानेले शुक्रबार भवन निरिक्षण गरेका थिए । शिव मन्दिर भवनका लागि व्यक्तिगत रुपमा लामिछानेले सबैभन्दा बढि १३ हजार २७ पाउन्ड दिइसकेका छन् ।
पण्डित दिनबन्धु कार्यक्रम सकेर शनिबार नेपाल फर्कंदै छन् । उक्त आध्यात्मिक प्रवचनको उद्घाटन र समापन राजदूत डा. दुर्गाबहादुर सुवेदीले गरेका थिए । राजदूत सुवेदीले नेपाल सरकारका तर्फबाट मन्दिरलाई पशुपतिनाथ मन्दिरको प्रतिनिधित्व गर्ने मूर्ति हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
समारोहमा तीन दिनभित्र करिब ६५० जना श्रद्धालु भक्तजन सहभागी भएको सेन्टरले जनाएको छ ।
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न