लन्डन । नेपलिज वुमन्स असोसिएसन यूकेले आइतबार लन्डनस्थित नेपाली दूतावासमा एक च्यारिटी डिनर कार्यक्रम गरेको छ । असोसिएसनले वार्षिक च्यारिटी डिनर अन्तर्गत राधा पौडेल फाउण्डेसनको सहयोगार्थ कार्यक्रम गरेको हो ।
मन्तव्यका क्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले मानवीय सहायतामा जुटिरहेको भन्दै संस्थाप्रति धन्यवाद दिए । बेलायती सांसद वीरेन्द्र शर्माले असोसिएसनले आर्थिक सहयोगमात्र होइन, महिलाका मुद्दा समेत उठाइरहेको बताए । शर्माले असोसिएसनले महिलाहरुको उत्थान तथा सशक्तिकरणका लागि गरेको कार्य प्रशंसनीय भएको पनि बताए । ५ पटक नेपाल भ्रमण गरिसकेका सांसद शर्माले नेपालीलाई बेलायती राजनीतिमा समेत प्रत्यक्ष सहभागिताका लागि सुझाव दिए ।
कार्यक्रममा ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष रोजर पोटर र केन्जिंग्टन एण्ड चेल्सीका डेपुटी मेयर मोहम्मद बटले असोसिएसनको मानवीय सहायता सम्वन्धि कार्यको सराहना गर्दै शुभकामना दिए ।
कार्यक्रममा असोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले स्वागत मन्तव्य दिंदै दूतावाससहित सहयोगी सबैमा आभार व्यक्त गरिन् ।
कार्यक्रममा संस्थाकी महासचिव डा. सुधा श्रेष्ठले संस्था स्थापनाको उद्देश्य, यसका गतिविधि र हालसम्म गरेका विविध कार्यक्रमबारे जानकारी दिइन् ।
सन् २०१४ मा स्थापित असोसिएसनले हालसम्म चारवटा कफी मर्निंग, दुई क्राफ्ट फेयर, दुई च्यारिटी डिनर लगायत गतिविधि गरिसकेको छ । पहिलो च्यारिटी डिनर प्रिजनर्स असोसिएसन अफ नेपालको सहयोगार्थ गरिएको थियो जसबाट संस्थाले करिब अढाइ लाख रुपैयां सहयोग गरेको थियो । संस्थाले अटिजम केयर नेपालको सहयोगार्थ च्यारिटी डिनर गरि २ लाख ५६ हजार रुपैयां (दुई हजार पाउण्ड) दिएको थियो भने भूकम्पका बेला भूकम्प सहायता कोषका लागि दूतावासमार्फत पटक पटक गरि ६ हजार ६ सय पाउण्ड प्रदान गरेको थियो । सन् २०१६ मा असोसिएसनले सांसद बीरेन्द्र शर्मा र इलिंग बरोका मेयरको नेपाल भ्रमण समेत गराएको थियो ।
सदस्य प्रसुना कंडेलले राधा पौडेल फाउण्डेशनबारे ‘प्रिजेन्टेसन’ दिएकी थिइन् । एक्सन वक्सकी समेत संस्थापक राधा पौडेल पेशाले नर्स, लेखिका एवं महिला अधिकारवादी हुन् । ‘खलंगामा हमला’ की लेखिका पौडेलले लोकप्रिय मदन पुरस्कार प्राप्त गरेकी थिइन् । उनले दुर्गम जिल्लामा महिला तथा बालबालिकाहरुको स्वास्थ्यका लागि कयौं कल्याणकारी कार्य गर्दै आएकी छन् ।
कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुति समेत भएको थियो । कोषाध्यक्ष एवं गायिका सितु खरेल र संगीतकार डम्बर सुब्बाले गीत/संगीत प्रस्तुत गरे । प्रसुना कंडेलले नृत्य देखाइन् ।
डा. सुधा श्रेष्ठले सञ्चालन गरेको उक्त अवसरमा असोसिएसन कार्यसमितिको परिचय समेत गराइएको थियो ।
कार्यक्रममा संस्थाकी संरक्षक राजदूत पत्नी पुनम सुवेदी, बेलायतका लागि म्यान्मार राजदूतकी पत्नी, दूतावासका उपनियोग प्रमुख शरदराज आरण, अन्य नेपाली डिप्लोम्याट्स, सोलिसिटर राजु थापा, डा. पारस सिंह लगायतको विशेष उपस्थिति थियो । रोजिना प्रधान राई, बिन्दु सुब्बा, सितु खरेल, प्रसुना कंडेल लगायत अतिथी सत्कारमा जुटेका थिए ।
तस्विर- शिव भण्डारी
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]