काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हाल छिमेकी, क्षेत्रीय सङ्गठन, बहुपक्षीय सङ्गठन र श्रम गन्तव्यका विषयमा आफ्नो परराष्ट्र नीति केन्द्रित भएको बताएका छन् ।
केही सञ्चारमाध्यमका सम्पादकहरुसँग आइतबार अपराह्न भएको भेटघाटमा उनले वैदेशिक सम्बन्धको आधार भने सार्वभौमिक समानता, अहस्तक्षेप, आपसी सम्मान र पारस्परिक लाभ नै भएको स्पष्ट गरे । उनले भने, “अब उपरान्त आन्तरिक राजनीतिक मामिला द्विपक्षीय छलफलको विषय बन्दैन ।” उनले प्रकृति र संस्कृति नेपालको पर्यटनका मूल क्षेत्र भए पनि नेपालको मौलिक शान्ति प्रक्रियालाई पनि प्रचार गर्नुपर्नेमा जोड दिए ।
परराष्ट्रमन्त्रीले चीन र भारतसँग हाम्रो कुल गार्हस्थ उत्पादनको एक तिहाइ घाटा हुनु डरलाग्दो सङ्केत भएकाले अब सन्तुलनमा ल्याउने प्रयास हुने बताए । भारतसँगको सम्बन्ध विगतमा उतारचढाव भए पनि सन्तुलनमा ल्याउने प्रयास भइसकेको र भारतले पनि आफ्नातर्फबाट महसूस गरेको बताउँदै उनले भारतसँग भएका विभिन्न सम्झौता कार्यान्वयन गर्न नेपालको राष्ट्रिय दिवस अर्थात् संविधान दिवस (असोज ३ गते) को समय तोकिएकामा त्यसमा प्रगति देखिएको जानकारी दिए ।
परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली जुन महिनाको दोस्रो सप्ताहतिर छिमेकी देश चीन जाने जानकारी दिँदै सो अवसरमा क्रसबोर्डर ट्रान्समिसन लाइन, व्यापार र परिवहन, उड्डयन, पाइपलाइन, टोखा–छहरे सुरुङमार्ग तथा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका केही आयोजनाबारे ठोस काम हुने बताए ।
उनले सार्क शिखर सम्मेलनको मिति लम्बिएकामा चिन्ता व्यक्त गर्दै नेपाल सार्कको विकल्प खोज्ने पक्षमा नभएको स्पष्ट पारे । बिम्स्टेकको सम्मेलन यसै वर्ष्भित्र गर्ने योजना रहेको तथा नेपाल साङ्घाइ सहयोग सङ्गठनको संवाद साझेदारबाट पर्यवेक्षक बन्ने प्रक्रियामा रहेको जानकारी पनि उनले दिए । विश्व प्रणालीमा परिवर्तन हुनुपर्ने तथा संयुक्त राष्ट्र सङ्घमा साना राष्ट्रको पनि समयोचित प्रतिनिधित्व हुने गरी सुधार हुनुपर्नेमा उनले जोड दिए ।
उनले नेपालका विकास साझेदारहरुलाई नेपालमा सहयोग अनियन्त्रित ढङ्गले नछरी लगानी र सहयोग बढाउन आग्रह गरिएको जानकारी पनि दिए । परराष्ट्रमन्त्रीले नेपालले धेरै देशसँग श्रम सम्झौता गर्न चाहेको र सम्झौता भएका मुलुकमा नेपाली श्रमिकको हकहित र कमाएको पैसा सजिलै नेपाल पठाउने वातावरण बनाउन प्रयास भइरहेको जानकारी दिए ।
उनले कूटनीतिक आचारसंहिता र राजदूत नियुक्तिको मापदण्ड तयार गर्ने काम र नेपालका राजदूतावास तथा नियोगहरुको स्थितिबारे समीक्षा भइरहेको एवं नेपाली राजदूतहरुको कार्यसम्पादन पनि मूल्याङ्कन भइरहेको बताए । पत्रकारको जिज्ञासामा परराष्ट्रमन्त्रीले नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको कामप्रति सन्तोष व्यक्त गर्दै यही हिसाबले काम अघि बढेमा नेपाल भारत सम्बन्धमा युगान्तकारी घटना हुने विश्वास व्यक्त गरे ।
एक प्रश्नको जवाफमा उनले भने,“विगतमा सत्ता टिकाउन वा प्राप्त गर्न भएका जमानीको स्वामित्व लिँदैनौँ, दलगत स्वार्थमा भएका कुराको जवाफदेही हुँदैनौँ ।”
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]