लण्डन । नेपाली राजदूतावासले गणतन्त्र दिवस–२०७५ को उपलक्ष्यमा जेठ १५ गते एक विशेष समारोहको आयोजनासहित नेपालमा लगानी, व्यापार र पर्यटन प्रवर्द्धन एवं द्विपक्षीय सहयोगको अभिवृद्धिमा केन्द्रित गरी नेपाल विकास सम्मेलन गरेको छ ।
संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा. दुर्गावहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथि संयुक्त अधिराज्य सरकारका पूर्वमन्त्री सम्माननीय टोनी बाल्ड्री र विशिष्ट अतिथि लण्डन पूर्व लर्ड मेयर सम्माननीय एन्ड्रियू पार्मली एवं अतिथिहरुमा वेलायतको हाउस अफ लर्डसका सांसद लोर्ड स्वीन्फेन, नेपालका लागि पूर्व बेलायती राजदूत एन्ड्रियू स्पार्कस र ब्रिटेन-नेपाल सोसाइटीका अध्यक्ष रोजर पोटर र संयुक्त अधिराज्य सरकारका परराष्ट्र एवं कमनवेल्थ मामिला मन्त्रालय उप-निर्देशक श्रीमती लेस्ली क्रेग रहनु भएको थियो ।
समारोहमा प्रमुख अतिथि बाल्ड्रीले संयुक्त अधिराज्य र नेपालवीच दुईसय वर्ष भन्दा लामो घनिष्ठ मित्रता रहेको उल्लेख गर्दै यो ऐतिहासिक सम्वन्धलाई व्यापार र लगानीको अभिवृद्धिसहित ठोस र सार्थक सहयोगद्वारा अझ प्रगाढ गर्न अपरिहार्य रहेको बताउनुभयो ।
नेपालमा सन् २०१५ मा जारी भएको लोकतान्त्रिक संविधानमा अन्तर्रभूत संघीय संरचनाअन्तर्गतका तीनै तहका निर्वाचन शान्ति र सफलतापूर्वक सम्पन्न भई राजनैतिक स्थायित्वसहितको सरकार निर्माण भइसकेको र उक्त सरकारले आर्थिक विकासको लक्ष्य निर्धारण गरेको वर्तमान परिप्रेक्ष्यमा नेपाल र नेपालीलाई सहयोग गर्न उपयुक्त समय रहेको उहांले बताउनुभयो ।
बेलायत र नेपालीवीचको द्विपक्षीय सम्वन्ध सुदृढ गर्नुका साथै सो सम्वन्ध जनस्तरमा अभिवृद्धि गर्न नेपाली राजदूत डा. सुवेदीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बाल्ड्रीले राजदूतावासमा नेपाल विकास सम्मेलनको आयोजना र व्रिटेन–नेपाल एनजिओ नेटवर्कको उद्घाटन उल्लेखनीय आरम्भ रहेको विचार व्यक्त गर्नुभयो ।
समारोहलाई विशिष्ट अतिथिका रुपमा सम्वोधन गर्दै लण्डनका पूर्व लर्ड मेयर पार्मलीले लण्डनको लर्ड मेयरका रुपमा गत वर्ष आफूले नेपालको औपचारिक भ्रमण गरेको र भूकम्पपछिको पुननिर्माण कार्यहरुको अवलोकन गर्ने अवसर पाएको उल्लेख गर्नुभयो ।
नेपाल प्रकृति र संस्कृतिको समृद्ध राष्ट्र रहेको उल्लेख गर्नुहुँदै उहांले नेपाली जनता पनि शिष्ट रआत्मीय हुनुका साथै बेलायती जनताप्रति आदर र स्नेहको भावना राख्ने उल्लेख गर्नुभयो ।
राजनैतिक संक्रमण पार गर्दै नेपाल आर्थिक र सामाजिक विकासको बाटोमा अग्रसर रहेको बताउंदै पूर्व लर्ड मेयर पार्मलीले ऐतिहासिक सम्वन्ध भएको मुलुकको अग्रमनमा बेलायतले सहयोग र सदाशय राखेको र आगामी वर्षहरुमा सहयोगका क्षेत्र र आयामहरु अभिवृद्धि हुनेछन् भन्ने विश्वास व्यक्त गर्नु भयो ।
अतिथिका रुपमा संयुक्त अधिराज्य सरकारका परराष्ट्र एवं कमनवेल्थ मामिला मन्त्रालयका उप-निर्देशक श्रीमती लेस्ली क्रेगले संयुक्त अधिराज्य सरकारले नेपालसँगको सम्वन्धलाई प्राथमिकतामा राखेको र नेपालको लोकतान्त्रिक संविधानवमोजिम निर्वाचन सम्पन्न भई निर्माण भएको जननिवार्चित सरकारको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न संयुक्त अधिराज्य सरकार सहयोगको निरन्तरता र अभिवृद्धिका लागि प्रतिवद्ध रहेको विचार व्यक्त गर्नुभयो ।
अतिथि नेपालका लागि पूर्व बेलायती राजदूत एन्ड्रियू स्पार्कस र व्रिटेन – नेपाल सोसाइटीका अध्यक्ष रोजर पोटरले बेलायती जनताको नेपाल र नेपालीप्रति आदर र स्नेहको भावना रहेको बताउंदै अब यो मैत्रीपूर्ण भावनालाई नेपाल र नेपालीको आर्थिक र सामाजिक विकासका निम्ति पनि उपयोग गर्नु आवश्यक रहेको बताउनुभयो ।
विशेष समारोहमा प्रमुख अतिथि सम्माननीय बाल्ड्री र महामहिम डा सुवेदीले नेपाल र नेपालीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र प्राविधिक विकासमा संलग्न तीन सय पचास गैर–सरकारी संस्थाहरुको छाता संगठन व्रिटेन– नेपाल एनजिओ नेटवर्क (BRANNGO) को उद्घाटन गर्नुभएको थियो ।
सोही समारोहमा व्रिटिस लेखक सियन र बब गिबोन्सद्वारा लिखित ‘अ ट्रेक टु धौलागिरी’ नामक पर्यटन कृतिको समेत प्रमुख अतिथि, राजदूत र विशिष्ट अतिथिहरुले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।
उक्त समारोहमा कलाकार श्रीमती सम्झना राजभण्डारीद्वारा सिर्जित ५४ वटा नेपालको प्रकृति, संस्कृति र सम्पदा झल्किने कृतिहरु सम्मिलित नेपाली कला प्रदर्शनीको प्रमुख अतिथि र राजदूतले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमको दोस्रो खण्डमा आयोजित ‘नेपाल विकास सम्मेलन’ मा नेपालको विकासमा बेलायतको सरकारी र गैरसरकारी सहयोगका क्षेत्र र सम्भावनाहरु विषयक सातवटा कार्यपत्र पेश भए ।
महामहिम राजदूत डा. सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा रोयल बोटानिकल गार्डेन, एडिनवर्गका प्रमुख साइमन मिलन, नवगठित BRANNGO का अध्यक्ष डेभिड थोमस, व्रिटेन– नेपाल सोसाइटीका युवा विभाग प्रमुख सुश्री एलिसन मोरिसन, लण्डन विश्वविद्यालयका प्राध्यापक डा. माइकल हट, लिभरपुल विश्वविद्यालयका डा. सारा वार्कर र श्रीमती सिर्जनासिंह योञ्जन, गोर्खा वेलफेयर ट्रस्टका निर्देशक एल होवार्ड, प्रसिद्ध न्यूरोसर्जन डा विलियम हार्कनेस र डिएफआइडीका उपनिर्देशक डयान कासपर्जले कार्यपत्रहरु पेश गर्नु भएको थियो ।
कार्यक्रममा संयुक्त अधिराज्यकी महारानीबाट क्यूसी उपाधिद्वारा विभूषित नेपाली डायस्पोराका अग्रगण्य व्यक्तित्व तथा विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय कानूनविद प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई राजदूतावासका तर्फबाट सम्मान गरिएको थियो ।
समारोहलाई सम्वोधन गर्दै प्राध्यापक डा. सुवेदीले आफूलाई प्राप्त सो सम्मान वेलायतवासी सवै नेपालीहरुको सम्मान ठानेको बताउनुभयो ।
नेपाल अब संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको छ भन्नुहुँदै प्रा डा. सुवेदीले संसदमा दुई तिहाइ भन्दा वढीको स्पष्ट वहुमत प्राप्त गरेको जननिर्वाचित सरकारले राजनैतिक स्थायित्व र सुशासनसहित आर्थिक विकास आफ्नो प्राथमिकता निर्धारण गर्नु नेपाली जनताको उज्ज्वल भविष्यको संकेत हो भन्नुभयो ।
समारोहमा राजदूत सुवेदीले गणतन्त्र दिवसको शुभ उपलक्ष्यमा संयुक्त अधिराज्य, माल्टा र आयरल्याण्डवासी नेपालीहरुको तर्फबाट मुलुकमा लोकतन्त्र, गणतन्त्र र मानवअधिकार हासिल गर्न जीवन उत्सर्ग गर्ने प्रात: शहीदहरुमा श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै लोकतान्त्रिक गणतन्त्रकोआलोकमा नेपाल राजनैतिक स्थायित्व, सामजिक रुपान्तरण र आर्थिक समृद्धि सहित ‘समृद्ध नेपाल र खुसी नेपाली’ को लक्ष्य हासिल गर्न अग्रसर रहेको बताउनुभयो ।
राजदूत डा. सुवेदीले राष्ट्रियता, सामाजिक न्याय, राजनैतिक स्थिरता, लोकतान्त्रिक मूल्य मान्यता र मौलिक हक अधिकारहरुको सुनिश्चितासहित जननिर्वाचित सरकारले मुलुकको विकासको लक्ष्य अघि सारेको यस घडीमा विदेशमा रहने नेपालीहरुको पनि सार्थक योगदानको खाँचो रहेको औंल्याउनुभयो ।
मुलुकको विकासका लागि बेलायत सरकार, नागरिक र गैर सरकारी संघसंस्थाहरुसहित नेपालीहरुको संलग्नता र सक्रियताका निम्ति आह्ववान गर्दै नेपाल विकास सम्मेलनको आयोजना गरिएको वताउदै राजदूत सुवेदीले यस्ता सार्थक र रचनात्मक कार्यक्रमहरु भविष्यमा पनि निरन्तर हुने स्पष्ट पार्नुभयो ।
राजदूतावासका उप–नियोग प्रमुख शरदराज आरणले सञ्चालन गर्नुभएको सो समारोहमा सपनकुमार राई, वी. वी अनुरागी र सितु खरेलले राष्ट्रिय गीत र स्थानीय कलाकारहरुले नेपाली सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।
बेलायती र नेपाली संघसंस्था र समाजका प्रतिनिधि गरी तीन सय भन्दा वढीको सहभागिता रहेको कार्यक्रममा नेपाली दिवाभोज समेत व्यवस्था गरिएको थियो ।
तस्बिरहरु- नरेन्द्र बस्नेत
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक