लन्डन । लन्डनबाट विगत ११ वर्ष देखि सञ्चालित एउटा इतिहास बोकेको अनलाइन न्यूज पोर्टल ‘नेपाल ब्रिटेन डटकम’ का अध्यक्षसहित सञ्चालकहरु सामूहिक रुपमा अलग्गिने निर्णय गरेका छन् ।
अध्यक्ष चिरन्जिवी ढकालले शुक्रबार अबेर एक विज्ञप्ति प्रकाशित गर्दै जुन उत्साह, उमंग, उद्देश्य र मान्यताका साथ वेवसाइट शुरु गरिएको थियो, सो मुताविक अगाडि बढ्न नसकिएपछि अब उप्रान्त नेपाल ब्रिटेन डटकमसंग कुनै आवद्धता नरहेको जानकारी दिएका छन् ।
वेवसाइटको डोमेन नेम र सम्पूर्ण विवरण आफूसंगै राखेका देवराज आचार्य (चिरन शर्मा) लाई एक पत्र लेख्दै ढकालले आजकै मितिबाट वेवसाइटमा आफूहरुको नाम नराख्न समेत अनुरोध गरेका छन् । नागरिक दैनिक आवद्ध शर्माले प्राविधिक कारणवस अनलाइनको प्रिन्टलाइनमा आफ्नो नाम नराखेपनि सञ्चालन उनीबाटै हुंदै आएको ढकाल बताउंछन् ।
उक्त वेवसाइटको सञ्चालक समितिमा अध्यक्ष ढकाल, एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, एनआरएनए आइसीसी पूर्व सल्लाहकार विश्वआदर्श पण्डित, भण्डारी ब्रदर्शका निर्देशक कमल भण्डारी र व्यवसायी किशोर सापकोटा आवद्ध थिए । उनीहरु सबैले २९ मार्चमा एक बैठक गरि सामूहिक रुपमा अलग्गिने निष्कर्ष निकालेका बताइएको छ ।
‘निष्पक्ष पत्रकारिता गर्ने अभिप्रायले सुरु गरेको नेपाल ब्रिटेन डटकम दुःख सुःख, उकाली ओराली, तीतो मीठो हरेक मोड पार गर्दै आज ११ वर्ष पूरा भयो’, ढकालको विज्ञप्तिमा छ, ‘तर, जुन उत्साह, उमंग, उद्देश्य र मान्यताका साथ काम शुरु गरयौं सो मुताविक सामूहिकरुपमा अगाडि बढ्न सकेनौं भन्ने निष्कर्षमा पुगेकाले हाम्रो सामूहिक निर्णय अनुरुप आज उप्रान्त नेपाल ब्रिटेन डटकमसंग हाम्रो कुनै आवद्धता नरहने व्यहोरा जानकारी गराउंदछौं ।’
विज्ञप्तिमा शर्मासहित नेपाल ब्रिटेन टिमलाई धन्यवाद ज्ञापन गर्दै नेपालमा तिर्न बांकी तलव ६० हजार रुपैयां समेत आफूहरुले नै भुक्तानी गर्ने उल्लेख छ ।
यसअघि नेपाल ब्रिटेन डट कमले आफ्नो ११ औं वार्षिकोत्सव कार्यक्रम आगामी जुलाई १५ तारिख आइतबार लन्डनमा एक भव्य समारोहबीच गर्ने जनाएको थियो । गैर आवासीय नेपाली संघका अधिकांश केन्द्रिय नेताहरुको सहभागिता रहने भनिएको उक्त कार्यक्रममा वर्षका चर्चित १० व्यक्तित्वलाई समेत सम्मान गरिने उल्लेख थियो । तर, वार्षिकोत्सव कार्यक्रम गर्न शर्मा बिना सल्लाह एक्लै अघि सरेको भन्दै अध्यक्ष ढकालसहित सञ्चालकहरुले असन्तुष्टि जनाएका थिए ।
ढकालले आफ्नो समूहले अर्को वेवसाइट छिट्टै शुरु गर्न छलफल थालेको समेत बताए ।
अध्यक्ष ढकालको विज्ञप्ति यस्तो छ-
प्रिय देवराज आचार्य (चिरन शर्मा)
नेपाल ब्रिटेन डटकम
विषयः सामूहिक निर्णय ।
हिजो मिति २९ मार्चमा हामीहरुबीच भएको सल्लाह अनुरुप आज भन्दा ११ वर्ष पहिले आदरणीय विश्व दाईले बेलायती नेपाली समाज तथा एनआरएन डायष्पोराबीच एउटा समाचार माध्यम जरुरी छ भनि पत्रकारिता शुरु गरौं न भनेपछि मैले हाम्रो चिरन भाई छ हुन्छ नि त गरौं भनि हामी तथा हाम्रा मन मिल्ने साथीहरु क्रमशः कुलजी, कमल जी र किशोरजी सहित लिएर निष्पक्ष पत्रकारिता गर्ने अभिप्रायले सुरु गरेको नेपाल ब्रिटेन डटकम यसका दुःख सुःख उकाली ओराली तीतो मीठो हरेक मोडलाई पार गर्दै आज ११ वर्ष पूरा भयो । तर, पनि जुन उत्साह, उमंग, उद्देश्य तथा लक्ष्य र मान्यताका साथ काम शुरु गरयौं, सो मुताविक सामूहिकरुपमा अगाडि बढ्न सकेनौं भन्ने निष्कर्षमा पुगेकाले हाम्रो सामूहिक निर्णय अनुरुप आज उप्रान्त नेपाल ब्रिटेन डटकमसंग हाम्रो कुनै आवद्धता नरहने व्यहोरा जानकारी गराउंदछौं । आजसम्म संगै काम गरेकोमा तपाई लगायत सम्पूर्ण नेपाल ब्रिटेन टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । साथै आजकै मितिबाट वेवसाइटमा हाम्रो नाम नराख्न समेत अनुरोध गर्दछौं ।
अन्त्यमा आज सम्मको तपाईंले भने बमोजिमको नेपालको बांकी रु साठी हजार तलव समेत हामीले नै भुक्तानी गर्ने समेत जानकारी गराउंदछौं ।
धन्यवाद
चिरञ्जीवी ढकाल
अध्यक्ष,
नेपाल ब्रिटेन डट कम
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि