गुड मर्निङ जोज् । सबेरै डेढ माइल दौडेर मालपास पार्क आइपुग्दा क्षणभरमा उनका अरु हितैषी पनि एकत्रित भइसक्छन् । सप्ताहन्तमा फूर्सदिला देखिएका केटाकेटी टेबुल टेनिस खेल्न तंछाडमछांड छन् । त्यतिबेलासम्म जोज्ले क्याराभानमा थापिएको एउटा सानो पसलबाट कयौंलाई चिया, कफी खुवाइसके । चियाको सुर्कोसंगै ब्रिटिश साथीभाइसंग विहानी कसरतका केही किस्सा सकेपछि एकजना समाजसेवी प्लस् व्यवसायी राजु आचार्य वातचित थाल्छन् टुरोस्थित आफ्नै रेष्टुरेन्ट, नेपाली खाना, अतिथी सत्कार र समाजसेवाको ।
लन्डनबाट दुई सय ८० माइल (पांचसय किमी) टाढा अवस्थित प्रख्यात पर्यटकीय शहर कोर्नवाल टुरोमा चालु काठमाण्डौं प्यालेस् रेष्टुरेन्टका मालिक आचार्यको छिट्टै घुलमिल हुने बानीले आसपास क्षेत्रमा उनी सबैका परिचित छन् । समाजसेवा वा नेपाली खानाको प्रसंग जोडेर उनलाई तारिफ गर्नेको जमात अत्यधिक छ ।
१२ वर्ष जर्मनी बसेर दशकअघि कोर्नवाल आएदेखि आचार्य स्थानीयको सामिप्यतामा सधैं रहिरहे । सन्् २०१२ मा बेलायतको लोकप्रिय अखवार इन्डिपेन्डेन्टले ‘टप ५०’ करिज् हाउस्मध्ये काठमाण्डौं प्यालेस् ‘टप १६’ मा छानेपछि त आचार्यलाई नचिन्ने कमै भए । उस्तो नचल्ने बंगालीको एउटा रेष्टुरेन्ट किनेर उनले चिल्लो, पिरोरहित खाना र न्यानो आतिथ्यता पस्कंदा चांडै नै कर्निस्को मन जितेका हुन् । वेष्ट करी र हस्पिटालिटीका लागि सन् २००८ मा कोर्नवाल सोसियल ग्रुपले गोल्ड अवार्ड प्रदान गरेपछि उनको ‘फेमिली रन’ विजनेशमा ‘सुनमा सुगन्ध’ थपियो ।
उनकै शब्दमा रेष्टुरेन्टमा उपलव्ध एकसय १७ आइटममध्ये मःम, छोयला, एभरेष्ट चिकेन, हिमाली ल्याम्ब, चितवनको तरकारी, झिंगे माछा, भिन्डी, काठमाण्डौं चिकेन चिल्ली आदि कर्निस्को जिब्रोमा गढेको छ । व्यापारिक सफलताको प्रसंग आउंदा उनले स्वादिष्ट खानाका लागि हेड सेफ रविन ज्ञवाली र प्रेरणाको श्रोत धर्मपत्नि सुमित्रालाई भुलेनन् ।
बढ्दो सफलतासंगै साझेदारीमा चारवटा रेष्टुरेन्ट चलाएका छन् उनले । व्यापारमात्र होइन, आचार्यको मन झन् फराकिलो छ । एकथरि विश्लेषण गर्छन्, उनी विना समाजसेवा चल्ला तर समाजसेवाविना आचार्य चल्न सक्दैनन् प्यारालाइसिस विरामी जस्तै ।
चिल्ड्रेन हस्पिस साउथवेष्ट, क्यान्सर रिसर्च यूके, वाटर एड यूके र डिसेवल च्यारिटीलाई नियमित आर्थिक सहयोग गरिरहेका छन् उनले । हेल्प नेपाल नेटवर्कका आजीवन सदस्य उनी त्यो संस्थालाई तीन वर्ष यता वर्षेनी लाख रुपैयां दिन्छन् । बेलायतमा वर्षको ६ पटक च्यारिटी गर्ने आचार्य नेपालीले गर्ने हरेक च्यारिटीमा पुगेर धेरथोर सहयोग गरेकै छन् । ‘हाम्रो कमाइको सानो अंश दुःखी गरिवलाई दिंदा मन सन्तुष्टि हुने भएर समाजसेवा मन पर्छ’, उनले एकसांझ सुनाए । गत वर्ष बेलायतबाट आफ्नै खर्चमा दन्त चिकित्सकको टोली पठाएर आचार्यले चितवनमा निशुल्क दन्त शिविर समेत सञ्चालन गरिदिए । उनले वर्षेनी ब्रिटिश पर्यटकको दुई तीन समूह नेपाल पठाएर पर्यटन प्रवद्र्धन गरिरहेका छन् । चितवन भण्डारा ८ का स्थायी वासिन्दा उनले विशेषगरि चितवनका स्कुल, हेल्थ पोष्ट र एम्बुलेन्स्मा पटक पटक सहयोग गरेका छन् ।
तीन छोरी, एक छोरा र श्रीमतिका साथ बेलायत बस्दै आएका आचार्यले केटाकेटीको शिक्षादीक्षापछि भविष्यमा नेपाल नै फर्किएर समाजसेवामा लाग्ने योजना सांचेका
छन् । राजनीतिक अस्थिरतासंगै छोराछोरीको सुनौलो भविष्य सांचेर दुई दशकअघि जर्मनी हान्निएका आचार्यलाई प्रवासी जीवन फाप्यो । जेठी छोरीले सानैमा पिएचडी गरिन्, छोराले प्रख्यात मानिने किङ्स कलेजमा टप टेनमा नाम निकाले । माइली
छोरी डिग्री पढ्दैछिन् भने कान्छी छोरी नर्सिङ ।
‘पहिले घरपरिवार बनाएर अनि समाजसेवा’, कुरा बिट मार्दै उनले भने, ‘इमान्दार र दत्तचित्त भएर लागेमा कुनै पनि क्षेत्रमा सफलता पाइने रहेछ ।’
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते