काठमाडौं-नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी भएका हुन् । नेतृत्व परिवर्तनको माग गरिरहेको समूहबाट उम्मेदवार बनेका देउवा प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेको निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिए ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । देउवा प्रचण्ड बहुमतका साथ संसदीय दलको नेतामा विजयी भएसँगै नेतृत्व परिवर्तनको एजेण्डा बोकेकाहरूलाई समेत धक्का लागेको छ ।
रामचन्द्र पौडेल खेमाको समेत समर्थनमा उम्मेदवार बनेका सिंहलाई केही उनकै प्यानलका सांसदले पनि भोट नदिएको देखिएको छ । किनभने, सिंहका पक्षमा न्युनतम २७ मत खस्ने अनुमान गरिएको थियो । तर, उनका पक्षमा १९ मत मात्र खस्यो ।
जबकी पौडेल पक्षकै १९ सांसद छन्, त्यसमाथि कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षले पनि प्रकाशनमानलाई समर्थन गरेको दाबी गरिएको थियो ।
चार पटक प्रधानमन्त्री भइसकेका सभापति देउवा यो निर्वाचनपछि पुनः पार्टी संसदीय दलको नेता भएका हुन् । उता नेता सिंह भने पार्टीको आन्तरिक निर्वाचनमा पहिलो पटक पराजित भएका हुन् ।
कांग्रेसका संस्थापक नेता महामानव विपी कोइरालालाई आफ्नो राजनीतिक प्रेरणाको स्रोत मान्ने सभापति देउवाले विगतमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाली सकेका छन् ।
कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंहका सुपुत्र नेता प्रकाशमान सिंह यसअघि पार्टीको जिल्ला सभापति, केन्द्रीय उपसभापति, महामन्त्री हुँदै सरकारका उपप्रधानमन्त्री भएका थिए ।
पार्टीको १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा यसअघि पनि संसदीय दलको नेता थिए । नेता सिंह १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
निर्वाचनपछि सभापति देउवाले निर्वाचनमा मतदान गर्ने सबैलाई धन्यवाद दिँदै लोकतान्त्रिक पार्टीमा लोकतन्त्रको जति बढी अभ्यास गरयो त्यति नै लोकतन्त्र बलियो हुन्छ भन्नेमा आफूले विश्वास लिएको बताए । सिंहले पार्टीमा नेता कार्यकर्ताले नेतृत्व परिवर्तनको चाहना गरेबमोजिम आफूले उम्मेदवारी दिएको बताउँदै मतदान गर्ने सबैलाई धन्यवाद दिए ।
निर्वाचनपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई बधाई तथा शुभकामना दिए । साथै, उनले नेता सिंहलाई प्रजातान्त्रिक प्रक्रियाअनुरुप निर्वाचनमा प्रतिस्पर्धा गरेकामा धन्यवाद दिए ।
पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने पार्टी कार्यालयले जनाएको छ ।
राष्ट्रियसभा दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिशमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था छ ।
उनन्साठी सदस्यीय राष्ट्रियसभामा कांग्रेसका १३ सांसद छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी