काठमाडौं, २२ पुस – विश्वमा तरङ्ग सधैँ उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले नै ल्याएको हुन्छ । कहिले हाइड्रोजन बम मिसाएर ६ म्याग्निच्युडको भूकम्प ल्याउने गरी, कहिले जापानको आकासको बाटो हुँदै क्षेप्यास्त्र हानेर त कहिले अमेरिकाको यो वा त्यो सहरसम्म मारहान्न सकिने भनेर उत्तर कोरियाले तरङ्ग ल्याउने गरेको छ । तर, यतिखेरको तरङ्ग उसको आणविक होडले ल्याएको भने होइन ।
यतिखेरको तरङ्ग पनि उत्तर कोरियाली नेताकै कारण उत्पन्न भएको त हो तर त्यो क्षेप्यास्त्रले नभएर उहाँको सम्बोधनले । नयाँ वर्ष सन् २०१८ को शुभकामना स्वरुप देशवासीका नाममा उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सम्बोधनबाट उत्तर र दक्षिण कोरियामा यतिखेर नाटकीय परिवर्तन आएको छ भने यसले संसारमा नै सकारात्मक तरङ्ग ल्याइदिएको छ । र उत्पन्न यस तरङ्गका कारण कोरियाली प्रायद्धीपहुँदै विश्वसम्म नै शान्तिको आशा पनि पलाउन थालेको छ ।
बारम्बारको क्षेप्यास्त्र परीक्षण र अमेरिका र दक्षिण कोरियामाथि नै आक्रमणको धम्कीका कारण गएको वर्षभरि लगभग विश्व राजनीतिको केन्द्रमा रहेको र अमेरिका तथा विश्वकै टाउको दुखाई बनेको उत्तर कोरियाली नेतामा अहिले देखापरेको यो नरमपनले शान्ति र सौहार्द रुप लेओस भन्ने मनोकांक्षा पनि यतिखेर विश्वका नागरिकमा देखिएको छ ।
कम्तीमा छ दशक लामो यी दुई कोरियाबीचको दुस्मनी र दक्षिणको पक्षधर अमेरिकासँगको टकरावका कारण उत्तर कोरिया अमेरिकाको मात्र नभएर विश्वकै टाउको दुखाई बन्न पुगेको छ । अमेरिकालाई लक्ष्य गरेर गर्ने गरेका एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्रको दुरुपयोगले संसारमा लिनसक्ने स्वरुप सीधामात्र हुदैन भन्ने चिन्ता हो संसारको । त्यसैले त यतिसानो प्रयासमा पनि उनीहरुको शान्तिप्रतिको ठूलो आशा जाग्ने गर्दछ ।
आज अघि बढिरहेको आणविक परीक्षणको होड अनि यसको प्रतिरक्षाका लागि अमेरिका, दक्षिण कोरिया र जापानले गरिरहेको प्रतिरक्षा प्रणालीको विकासको प्रयोग भोलि के त्यही रुपमा हुन सक्ला त भन्ने नै हो विश्वको अहिलेको चिन्ता । यो चिन्तामा केही मलम लगाउने काम उत्तर कोरियाली नेताको पछिल्लो नरमपनले गरेको छ । जसलाई शान्ति वार्ता र त्यसपछि दुई कोरियाको एकीकरणसम्म लैजान सकिन्छ कि भन्ने प्रयास दक्षिणले गर्ने देखिएको छ ।
दक्षिण कोरिया र सम्भवत अमेरिकाले पनि उत्तर कोरियाली नेताले त्यो सम्बोधनमा के घोषणा गर्दैछन् भन्ने बारेमा बडो चनाखो भएर सुनेका थिए । जनवरी १ मा उहाँले गर्नुभएको सम्बोधनमा अर्को नयाँ क्षेप्यास्त्र परीक्षणको घोषणा हुने त होइन भन्ने पनि त्रास थियो । किनभने त्यसको अघिल्लो दिन नै उत्तर कोरियाली नेताले क्षेप्यास्त्रको बटम आफ्नो टेबलमा रहेको र त्यो कुनैपनि बेला पड्किन सक्ने धम्की नै दिनुभएको थियो । त्यसैले यी दुई देश र सम्भवत विश्वले नै उहाँको सम्बोधनको पूर्ण पाठ नै सुनेको थियो ।
त्यस सम्बोधनका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाले राखेको वार्ताको प्रस्ताव स्वीकार गर्नुभएको थियो । यसअघि दक्षिण कोरियाले बारम्बार उत्तरसँग राखेको द्धिपक्षीय वार्ताको प्रस्तावको कुनै पनि ‘रेस्पोन्स’ उत्तरले गरेको थिएन । यसरी एकातर्फ आफ्नो वार्ताको प्रस्तावको बेवास्ता गर्ने र अर्कातर्फ एकपछि अर्को गरी क्षेप्यास्त्र परीक्षण गर्दै जाने उत्तरको चालबालीले गर्दा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन पनि वार्ताको सम्भावना नरहेको अवस्थामा पुग्नुभएको थियो । तर उत्तरको यो पछिल्लो स्वीकारोक्तिले दक्षिणलाई मात्र राहत दिएको होइन, यसले संसारमा नै आशाको सञ्चार गर्न सकेको छ ।
यही सम्बोधनपछि पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा सुधार आएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताको सम्बोधनको तत्कालै स्वागत गर्नुभयो र तत्कालै मन्त्रिपरिषदको बैठक डाकेर उच्चस्तरीय द्धिपक्षीय वार्ताको तयारी थाल्न निर्देशन दिनुभयो । दक्षिण कोरियाले आयोजना गरी सहभागिताका लागि उत्तर कोरियालाई आमन्त्रण गरेको शीतकालीन ओलम्पिक खेलमा पनि उत्तर कोरियाले सहभागिता जनाउने खबर पठाएकोले खेलकूदको तयारी गर्न निर्देशन दिनुभएको थियो ।
दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका प्रवक्ताले सोलमा शुक्रबार आयोजित पत्रकार सम्मेलमा भन्नुभयो— ‘दक्षिण कोरियाले पठाएको उच्चस्तरीय वार्ताको प्रस्ताव उत्तर कोरियाले स्वीकारेको छ र हामीले आयोजना गरेको ओलम्पिक खेलमा पनि सहभागी हुने खबर पठाएको छ, यसप्रति हामी निकै खुसी छौँ र सो वार्ता र खेलकूदको तयारी गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छौँ ।’
सो वार्ता यही जनवरी ९ मा गर्ने गरी तय गरिएको छ । वार्ता दक्षिण कोरियाको नियन्त्रणमा रहेको पानामजुमस्थित शान्तिगृह ‘पिस हाउस’ मा आयोजना गरिएको छ । वार्ताको प्रस्ताव गतवर्ष देखि नै दक्षिण कोरियाले गरेको थियो । वार्ताले यी दुई देशको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उता उत्तर र दक्षिण कोरियाबीच पछिल्लो समयमा सुरुवाता गरिएको हटलाइन टेलिफोन सेवा पनि यही बुधबारबाट पुनः सुरु भएको छ । यसको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गर्नुभएको छ । उत्तर कोरियाली नेता किम जोङ उनको आदेशमा दुईवर्ष अघि बन्द गरिएको उक्त सेवा बुधबार अपराह्नबाट पुनः सुरु भएको हो । महासचिव गुथ्रेसले यस वार्तालाई शान्ति वार्ताका रुपमा सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएपछि इनले दुई कोरियाको एकीकरणसम्मको आकांक्षा व्यक्त गर्नुभएको थियो । दुई कोरियाको विभाजनपश्चात् उहाँका पिता मुन योङ्ग–ह्युङ्ग उत्तर कोरियाबाट पलायन भई शरणार्थीको रुपमा दक्षिण कोरिया प्रवेश गर्नुभएको थियो । इन पनि आफ्ना पिताजीसँगसंगै दक्षिण कोरिया आउनुभएको हो, यद्यपि उहाँको जन्म भने दक्षिणमा नै भएको हो ।
उहाँले बाल्यकालमा रमाएको भूमिमा पुगेर सद्भाव देखाउने र छिट्टै प्योङ्याङ भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । यसमार्फत दुई कोरियाकै एकीकरणमा पनि आफूले सार्थक पहल थाल्ने उहाँको चाहना आजसम्म दुई कोरियाको उच्चस्तरीय वार्तासम्म पनि पुग्न सकेको छैन । यस्तो अपेक्षित सार्थक वार्ताको सट्टा गएको वषएदिन उत्तरतर्फ उल्टै कैयौँ पटक क्षेप्यास्त्र मात्र पड्किएका छन् ।
सन् १९५० जुन २० देखि १९५३ जूलाईसम्म पटक पटक भएका युद्धमा हजारौँ कोरियालीले ज्यान गुमाए र अन्ततः सन् १९५३ मा कोरिया बिभाजन भयो । उत्तर र दक्षिणमा विभाजित यी देशको सीमानासँगै देशबासीका आफन्त पनि छुट्टिए । दुई देशबीच बेलाबखतमा यी आफन्तको मेलमिलाप भएको दृश्यले विश्वको कुनै पनि स्थानमा बसोबास गरिरहेका व्यक्तिको हृदय छुन्छ । बाबु–छोरा, दिदी–बहिनी, दाजु–भाई जस्ता रगतको नाताका सदस्य पनि दुई देशका नागरिक र त्यो पनि शत्रुतापूर्ण रुपमा बाँच्नु परिरहेको छ ।
उत्तरको आणविक होडले आपसमा झन् शत्रुता थप्दैछ । त्यसैले एकिकरणको सपना पालेर बाँचिरहेका यी दुई देशका नागरिकहरुका लागि पनि यतिखेरको सामान्य प्रयासले सार्थकता पाउन सकोस् भन्ने कामना छुट्टिएर रहेका यी परिवारका सदस्य र विश्वकै नागरिकले गरिरहेका छन् । यी दुई देशका बीचमा पलाएको यो पछिल्लो आशाको त्यान्द्रो आपसी सद्भावको विकास हुदै एकीकरणसम्म पुगोस् भन्ने विश्वका शान्तिप्रीय नागरिकको चाहना छ ।
(विभिन्न एजेन्सीको सहयोगमा)
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती