
लन्डन । नेपालका चर्चित लोक गायक रामकुमार (आरके) गुरुङ गत आइतबार अल्डरसटस्थित निरमाया रोधीघरमा झुल्किए एकल सांझ लिएर । तमु प्ये ल्हु संघ यूकेको निम्तोमा बेलायत आएका आरकेले विभिन्न शहरमा आफ्नो कला प्रस्तुत गर्ने क्रममा निरमायामा
आफ्नो प्रस्तुति दिए । कार्यक्रम क्होला परिवार यूकेले आयोजना गरेको हो ।
उनले एकल सांझमा कयौं ‘भेराइटी’ का गीत गाए । आरकेले गम गुरुङद्वारा निर्मित गुरुङ चलचित्र ‘गोरे बाजे’ को नयां गीत, पूर्व प्रधानाध्यापक एकेन्द्र गुरुङ र फोटोपत्रकार मिलन तमुद्वारा रचित विभिन्न गीत, कौडा, सालैजो र लाइभ दोहोरी समेत प्रस्तुत गरे । उनलाई गायिका ममता गुरुङ र रुपा घर्तीमगरले साथ दिएका थिए ।
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, तमु समाज बेलायतका अध्यक्ष अर्जुन गुरुङ र तमु समाज बेलायत आमा समूहकी अध्यक्ष माया गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी सो एकल सांझको शुरुवात गरिएको थियो । सो अवसरमा क्होला परिवार यूकेका हुम गुरुङले स्वागत मन्तब्य दिएका थिए । गायक आरकेले कार्यक्रम आयोजना गरिदिने क्होला परिवारलाई हृदयदेखिनै धन्यवाद दिंदै सहभागी सबैप्रति आभार व्यक्त गरे ।
एकल सांझमा अधिकांश आफ्नै शब्द र संगीतका गुरुङ भाषाका चर्चित गीतहरु गाएर भरपुर मनोरञ्जन दिलाएका गायक आरकेलाई उपस्थित संगीतप्रेमीहरुले खादा लगाई बधाई दिएका थिए । सांझ ७ बजेबाट शुरु भएको उक्त कार्यक्रममा संगीत पारखीहरु अन्त्यसम्म झुमिरहे ।
हाल सुलिकोट गाउंपालिका अर्थात गोरखा सौरपानी ५ बान्चोकगाउंमा वि.स. २०४१ सालमा जन्मिएका रामकुमार (आरके) गुरुङ झन्डै डेढ दशकदेखि कला क्षेत्रमा निरन्तर सक्रिय छन् । उनको पहिलो कोसेली ङै नासा (मेरो गाउं) चलचित्रको ‘माइली रोधी घरमा संगै नाचौंन’ बोलको कौडा गीत हिट भएपछि गुरुङ यस क्षेत्रमा झन् प्रोत्साहित भए ।
त्यसपछि आरकेले ङै जिन्दगी (मेरो जिन्दगी), ङै क्यां (मेरो बाटो), आश्यो (मावली), म्होरा (सपना), भेडी गोठालो, कुटुम्बेरी साइनो, खै ओ म्ही थेवा (ठूलो मान्छे), तीन्हांगा (आजभोलि), ङोलो ङोल्स्यो (सोल्टी-सेल्टिनी) सहित प्रदर्शनका क्रममा रहेको ‘गोरे बाजे’ नामक गुरुङ चलचित्र र ‘कर्मरेखा’ नेपाली भाषाको चलचित्रको गीत लेखन, गायन र संगीत गरेका छन् । उनले कयौं नेपाली मौलिक गीतहरु सालैजो, कौडा र झ्याउरेमा स्वर, संगीत दिएका छन् भने कतिपयमा शब्द रचना आफैंले गरेका छन् ।
बेलायत बसाइ एकदम रमाइलो भइरहेको आरके बताउंछन् । आफन्त भेटघाट, घुमघाम र विभिन्न संघसंस्थाको सम्मानले यस क्षेत्रमा थप प्रोत्साहन मिलेको उनले सुनाए । जनवरी अन्तिमसम्म बेलायत बस्ने योजना बनाएका उनले बेलायतको फार्नबोरो, ननिटन, अल्डरसट र वेल्समा ’परफर्म’ गरिसकेका छन् भने फेल्थाम, लन्डन हयारो, बेजिङस्टोक, अल्डरसट लगायत शहरमा शो हुंदैछ ।
तस्विर- मिलन तमु
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि