लन्डन । पूर्व गोर्खा फोटोग्राफर बिजेन गुरुङले प्रतिष्ठित ‘रोयल फोटोग्राफिक सोसाइटी’ को मानार्थ सदस्यता पाएका छन् । उनी त्यो सदस्यता (लाइसेन्सिएट) पाउने पहिलो नेपाली भएको सोसाइटीले जनाएको छ । स्टिल र मोसन पिक्चरमा व्यावहारिक दक्षता हुने व्यक्तिलाई प्रदान गरिने उक्त सर्टिफिकेट विश्वमै प्रतिष्ठित मानिन्छ ।
गत शनिबार वीन्चेस्टरस्थित गोर्खा म्यूजियममा आयोजित एक समारोहमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गुरुङलाई सोसाइटीका तर्फबाट उक्त सर्टिफिकेट प्रदान गरे । राजदूत डा. सुवेदीले गुरुङलाई बधाइ दिंदै यो उपलव्धि समस्त नेपाली र गोर्खाहरुका लागि पनि भएको बताए । डा. सुवेदीले बेलायत नेपाल सम्वन्ध सुदृढ बनाउन गोर्खाहरुले २०० वर्षदेखि योगदान गरिरहेको बताउंदै पूर्व गोर्खा गुरुङको फोटोग्राफीले नेपालको प्राकृतिक सौन्दर्य विश्वभर उजागर गरेको समेत उल्लेख गरे । राजदूतले गुरुङलाई लन्डनस्थित दूतावासमा आएर फोटो प्रदर्शनी गरी अन्य बेलायतीलाई समेत नेपालबारे सुसूचित गराउन आग्रह गरेका थिए ।
‘इच्छा र समर्पणले सफलता मिल्ने रहेछ,’ सर्टिफिकेट पाएपछि प्रसन्न हुंदै गुरुङले भने- ‘यो योग्यता पाउने पहिलो नेपाली हुनुमा मलाई गर्व छ र आफूलाई भाग्यमानी ठानेको छु ।’
ब्रिगेड अफ गोर्खाजमा २२ वर्ष सेवा गरेका गुरुङ ब्रिटिश सेनामा आफ्नो परिवारबाट पांचौं पुस्ता हुन् । दुवै आंखाको दृष्टि करिब करिब गुमेपछि उनको फोटोग्राफी यात्रा सन् २००४ मा झण्डै रोकिएको थियो । उनी सात वर्ष यस पेशामा आवद्ध हुन सकेनन् । तर, भाग्यवश साउथ हयाम्पटन आंखा अस्पतालले शल्यक्रिया गरेर पूर्ण रुपमा दृष्टि दिलाएपछि उनी पुनः यस क्षेत्रमा सक्रिय भएका थिए ।
हङकङ, चीन, युरोप, अमेरिका र मातृभूमि नेपाल भ्रमणका क्रममा सयौं सुन्दर तस्वीर आफ्नो क्यामेरामा कैद गरेका उनले हङकङ र बेलायतबाट फोटोग्राफी सम्वन्धि प्रशिक्षण लिएका थिए ।
गुरुङले वीन्चेस्टर फोटोग्राफी सोसाइटीबाट सन् २०१३ मा सम्मान समेत प्राप्त गरेका थिए ।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो