मेक्सिकोको भूकम्पमा मृत्यु हुने २४८ पुगे

घाइते महिलाको उद्दार गरिंदै । तस्विरः एएफपी

मेक्सिको सिटी, ४ असोज (रासस-सिन्ह्वा) – मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ ।

भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ ।

मृत्यु हुनेमा प्राथमिक विद्यालयमा अध्ययनरत २१ जना बालबालिका पनि परेका छन् । उनीहरु अध्ययनरत विद्यालयको भवन भत्किएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पपछि उद्वारकार्य जारी छ । कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।

इजरायलले मेक्सिकोमा ७० सैनिक र इन्जिनियरको समूह पठाउने

जेरुसेलम, ४ असोज (रासस-एएफपी) – मेक्सिकोमा मंगलबार राति गएको शक्तिशाली भूकम्पको उद्धार र खोजीकार्यका लागि इजरायलले सैनिक र इन्जिनियर गरी ७० जनाको एक समूहलाई मेक्सिको पठाएको बुधबार जानकारी दिएको छ ।

स्थानीय समयअनुसार बुधबार ३ बजे अपराह्नमा इजरायलबाट प्रस्थान गरेका ती सैनिकहरू १८ घण्टापछि मेक्सिको पुग्ने इजरायली सैनिक प्रवक्ताले जानकारी दिनुभएको छ । यस समूहमा २५ जना इन्जिनियर रहेको जनाइएको छ ।

मेक्सिकोमा गएको यस ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी २ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको र उद्वारकार्य जारी रहेको जनाइएको छ ।

भूकम्पपछि कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि दुई हप्तामात्र अघि पनि मेक्सिकोमा योभन्दा झनै शक्तिशाली भूकम्प गएको थियो । मेक्सिकोमै यही सेप्टेम्बर ७ मा ८.१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो ।

मेक्सिकोमा यस शताब्दीकै यी दुई वटा सबैभन्दा ठूला भूकम्प हुन् । मेक्सिकोलाई दुई हप्ताभित्रै यसरी शक्तिशाली भूकम्पले क्षति पुराएको भन्दै यहाँका सरकारी अधिरकारीहरूले धैर्यधारण गर्न सबै नागरिकमा आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री