सुरुभयो राष्ट्रसंघीय महासभा, के छन् एजेण्डा ?

काठमाडौं, ४ असोज – तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डि रुजबेल्ट र ब्रिटिश प्रधानमन्त्री विन्स्टन चर्चिलले दोस्रो विश्वयुद्ध चलिरहेकै बेला कल्पना गरेको संयुक्त राष्ट्रसंघका चार खास उद्देश्य थिए ।

ती चार उद्देश्य थिए– दोस्रो विश्वयुद्धबाट क्षतविक्ष भएको विश्वको भौतिक र मानसिक पुनर्निर्माण गर्ने, विश्वका सबैदेशहरुबीच दोस्रो विश्वयुद्धका समयमा कोरिएको शत्रुताको रेखा मेटाएर शान्ति र सद्भाव कायम गर्ने, समृद्ध र समुन्नत विश्व बनाउने र सम्भावित अर्काे विश्वयुद्धको सम्भावनालाई जन्मिनै नदिने ।

उहाँहरुको यो परिकल्पनाबाट सन् १९४५ को अक्टोबर २४ मा विश्व संस्था (वल्र्ड वडी) का रुपमा जन्मिएको संयुक्त राष्ट्रसंघले यी उद्देश्य पूरागर्न शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तहरुको मस्यौदा गरिरहेकै बखत यता विश्वका ठूला शक्तिहरुका बीच ‘कोल्ड वार’ शीतयुद्धको गर्भाधान पनि हुदैथियो । सम्भवत त्यही शीतद्धको बढ्दो उष्ण रुप हो यो जसले आजका दिनसम्म आइपुग्दा आणविक हतियारको उत्पादन मात्र गरेन परीक्षणका नाममा कोरियाली प्रायद्धीपमा छ म्याग्निच्युड भन्दा बढीको भूकम्प नै ल्याइरहेको छ ।

तर आजभन्दा सात दशकअघिको उहाँहरुको यो परिकल्पना बमोजिम विश्व शान्ति, भाइचारा र सहअस्तित्व निर्माणमा संयुक्त राष्ट्रसंघ सफल हुन सकिरहेको छैन । आज पनि विश्वमा विश्वयुद्ध त छैन तर त्यो भन्दा झनठूलो युद्ध छ । संयुक्त राष्ट्रसंघले परिकल्पना गरेजस्तो आणविक हतियारबिनाको विश्व छैन र उत्तर कोरियातिर आणविक शस्त्र प्रदर्शनको होडमा हाइड्रोजन बम नै परीक्षण सुरु भएको छ । यता इराक, अफगानिस्तान, सिरियामा जारी हिंसाको झन कुरै नगरौँ ।

लिबियाका शासक कर्णेल गद्दाफि यस्तै युद्धबाटै मारिए भने उता सिरियामा गएको पाँच बर्षमा झण्डै चार लाखको ज्यान गृहयुद्धनामको निहुँबाटै गएको छ । अनि हिंसाका नयाँ नयाँ रुपहरु विश्वका विभिन्न भूगोलबाट उदाउँदो छन् । पछिल्लो समय म्यानमारका कम्तीमा पाँच लाख मुस्लिम समुदायले बडो कष्टपूर्ण जिवनयापनको सुरुवात नाफ नदीको बङ्गलादेशतर्फको किनारबाट सुरु गर्दैछन् । यसले अबका दिनमा अर्काे कस्तो रुप लिने हो त्यसको अनुमान अहिल्यै गर्दा चाँडै हुनेछ ।

यी सबै युद्ध हुन् तर विश्व युद्ध हैनन् । विश्व युद्धको अन्त्य सन् १९४५ को अगष्ट ९ मा नागासाकीमा अमेरिकाले बम हानेसँगै भएको हो । त्यसको तीन दिनअघि जापानकै हिरोसिमा समेतमा भएको बम हमलाबाट करिब साढे तीन लाख नागरिकको ज्यान गएको थियो । र भौतिक क्षतिको कुरा गर्दा ती दुई सहरको पूरै संरचना नै ध्वस्त थिए भन्दा हुन्छ । यो त्यस समयसम्मको सबैभन्दा ठूलो नरसंहार थियो । र यस्तै नरसंहार रोक्नकै लागि संयुक्त राष्ट्रसंघ नामको यो विश्व संस्थाको जन्म भएको हो र यसको नामाकरण पनि रुजबेल्टले नै गर्नुभएको थियो ।

यस संस्थाले भाषामा कामना गरेजस्तै तेस्रो विश्वयुद्ध त भएको छैन तर दोस्रो विश्वमा ज्यान गुमाएका मानिसभन्दा बढी मानिस त सिरियामा चार बर्षमै मारिइसकेका छन् गृहयुद्धका नामबाट । इराक, अफगानिस्तान, पाकिस्तानमा अहिले पनि कुन दिन कहाँ कति जना मरे भनेर विज्ञप्ति प्रकाशन गर्ने काम जारी छ । केहीबर्ष अघिसम्म यो क्रम लिबिया, इजिप्ट लगायतमा थियो । बर्षेनी संसारका लाखौँ नागरिक विस्थापित छन, लाखौँ शरणार्थी बन्दैछन् देशभित्र र बाहिर । यसरी हेर्दा विश्वयुद्धको भन्दा कम्ती बिकराल रुप यहाँ छैन र त्यससमयको जस्तै शीतयुद्ध अहिले पनि देशहरुबीच भित्रभित्रै भुसको आगो झैँ सल्किरहेकै छ ।

राष्ट्रसंघका विगत कैयौँ बर्षयताका महासभाहरुमा एजेण्डा शान्तिकै छ । विश्वमा शान्तिको स्थापना महासभाको पहिलो एजेण्डा बन्दै गएको छ । तर एकातर्फ राष्ट्रसंघले यो एजेण्डामा छलफल गरिरहेको हुन्छ अर्काेतर्फ आतङ्कवादका जराहरु विश्वव्यापी रुपमा विभिन्न नाम र रुपले फैलिँदो छ । यसले पछिल्लो समयमा युरोप प्रवेश गरेको छ । यता महासभाको सुरुवातको तयारी भैरहँदा लन्डनको रेल सेवामा यसले हमला गर्न समेत भ्याएको छ । यही आतङ्कवादको सार र रुपसँग लड्ने एजेण्डाहरुमै गएका केही बर्षयता कैयन् शब्द राष्ट्रसंघीय महासभाले खर्चिएको छ ।

तर सोमबारदेखि न्युयोर्कमा सुरु भएको ७२ औँ महासभाको तात्तातो विषय बनेको छ उत्तर कोरियाको आणविक परीक्षण । सायद यस महासभाको सबैको मुख्य चासो नै यही बन्नेछ । यसको सङ्केत उद्घाटन भाषण दिनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिले थोरै धेरै गरिनै सकेको छ । उहाँले उत्तर कोरियाले यसरी नै संसारसामु निहुँ खोज्ने हो भने उसलाई ध्वस्त पार्नु बाहेकको अर्काे विकल्प अमेरिकासँग नरहेको सङ्केत उहाँले गर्नुभएको छ ।

वास्तवमा उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय एवम् अन्तर्राष्ट्रिय कानुनको नै नराम्रोसँग उल्लङ्घन गरेको छ । सन् २००६ देखि जारी राखेको उसको यो आणविक परीक्षणको कार्यले पछिल्लो समयमा विस्फोटक रुप लिइसकेको छ । सेप्टेम्बर ३ मा उसले हाइड्रोजन बम नै परीक्षण गरेर संसारमा त्रास फैलाइदिएको छ । त्यसपछि विश्व समुदायले यस्तो बम परीक्षणको औचित्य कुनै पनि हिसाबले पुष्टी हुन नसक्ने हुदा यस्ता कार्य तुरुन्त बन्दगर्न चेतावनी दिइरहेको छ ।

तर त्यसको विपरीत उसले क्षेप्यास्त्र परीक्षणको काम निरन्तर राखेको मात्र नभई करिब हप्तादिनमात्र अघि उसले जापानको आकासमै पर्नेगरी अर्काे आणविक परीक्षण गरेको थियो । यस परीक्षणले आणविक उर्जारहति विश्व निर्माण अभियानमा लागिरहेको र दोस्रो विश्वयुद्धमा आम नरसंहार ब्यहोेरेको जापानका लागि ठूलो चोट पुगेको मात्र नभएर यसरी देशको सीमाको ख्यालै नगरी सुरु भएको शस्त्रको होडले संसारलाई फेरि युद्धको भूँमरीमा पार्ने त होइन भन्ने अर्काे त्रास थपिदिएको छ ।

यतिबेला संसारको र सम्भवत यो महासभाको पनि केन्द्रबिन्दुमा उत्तर कोरिया छ । त्यसमाथि खनिनुभएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । जसरी अमेरिकी नीतिले राष्ट्रसंघका हरेक महासभामा चर्चा र स्थान पाउँथ्यो त्यसैगरी यतिखेर पनि अमेरिकी राष्ट्रपतिको कोरियाप्रतिको नीतिले नै चर्चा पाउने निश्चित छ । त्यसो त उहाँको धारणा आइसक्यो उत्तर कोरियामाथि सैन्य बाहेकको अर्काे कारबाही छैन भनेर । तर पनि यो अमेरिकी धारणामा चीन र रुस तथा अरु शक्तिशाली देशहरु कसरी मिसिन्छन् भनेर पनि हेर्नुपर्ने हुन्छ ।

संसार बाँडिएको छ । उत्तर कोरियामा पनि त्यस्तै छ । कतिपय शक्ति राष्ट्रहरुले उत्तर कोरियासँग सैन्य नभएर वार्ताको विकल्प खोज्नुपर्ने भन्दै आएका छन् । तर यसप्रति अमेरिका सहमत छैन । तर उसको असहमति जति व्यक्त हुदै छ त्यति उत्तरले पनि आणविक परीक्षणहरुको मात्रा थप्दै गएको छ । उसले वार्ताको लवज अहिलेसम्म निकालेको छैन । त्यसैले पनि वार्ता हो या सैन्य कारबाही भन्ने बारेमा समग्र विश्वको नै एउटै धारणा हुनुपर्ने आसय उत्तरको देखिन्छ ।

सन् २००१ मा अमेरिकाको ट्वीन टावरमा आतङ्ककारी हमला भएपछि त्यसपछिका दशक संसारमा आतङ्कवादले राष्ट्रसंघीय महासभामा चर्चा पाएको थियो र यस विरुद्धका कामकारबाही मुख्य एजेण्डा बनेको हो । त्यसपछिका केही बर्षहरु जलवायु परिवर्तन तथा सहस्राब्दि विकास लक्ष्यमा केन्द्रित भए पनि पछिल्ला बर्षहरुमा आतङ्कवाद युरोप प्रवेश गरेसँगै फेरि यसैको चर्चा सुरु भएको छ । यस एजेण्डालाई माथगर्दै यस पटकको महासभामा आणविक सस्त्राश्त्रको होडलाई कम गर्न उत्तर कोरियामाथिको दबाबले बढी स्थान लिन सक्छ । जुन अहिलेको विश्वका लागि आवश्यक पनि छ । यस पटकको महासभाको एजेण्डा पनि जनतामा केन्द्रित तथा शान्तिका लागि प्रयास र दीगो पृथ्वीका लागि मर्यादित जीवन भनेर नै राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री