लन्डन । भूपू गोर्खाका बयस्क सन्तान र विधवाका हकमा बेलायती अदालत पछिल्लो समय उदार देखिएको छ । बेलायत सरकारले भिजा रिफ्यूज गरेपनि अदालतले मुद्दा धमाधम जिताइरहेको गोर्खा र अध्यागमन वकिलले बताएका छन् । बेलायत सरकारले ५ जनवरी, २०१५ मा भूपू गोर्खाका ३० वर्ष मुनीका अविवाहित सन्तानले सशर्त आवासीय अधिकार पाउने नयां नीति ल्याएको थियो । तर, अदालतले नीतिमा नपरेपनि युरोपियन मानवअधिकार सम्वन्धि धारा ८ र ऐतिहासिक अन्यायका आधारमा व्यक्तिगत केस जिताइरहेको एभरेष्ट ल सोलिसिटर्स फर्मका सोलिसिटर राजु थापाले जनाए । ‘पारिवारिक जीवनलाई अलग गर्न मिल्दैन भन्ने अदालतको राय छ’, थापा भन्छन्, ‘यो ऐतिहासिक सफलता हो । हामीले अदालत पुगेका करिब ९० प्रतिशत केसमा सफलता पाइसकेका छौं । तर, सबैले पाउने भन्ने चाहिं होइन, व्यक्तिगत केस र प्रमाणका आधारमा भएको छ ।’
थापा सुनुवाइ अघि मुद्दा तयार गर्दा आवश्यक कागजात र प्रमाणहरु (भावनात्मक र आर्थिक सम्वन्ध झल्कने), निवेदक र स्पोन्सरको उचित बयान एवं अनुभवी ब्यारिस्टरको तर्कपूर्ण वहसले मुद्दा सफल हुने बताउंछन् ।
हालै ४६ वर्षीय अशोक राईले अदालतबाट मुद्दा जिते । नीतिमा नपरेपनि हालसम्म करिब २० जना एकल महिला (विधवा) का सन्तानले मुद्दा जितेका अनुभव थापासंग छ । बेलायतबाटै आवेदन दिएका ४० वर्षसम्मका विवाहितले समेत स्वविवेकीय अधिकार अन्तर्गत तीन वर्षको भिजा पाएको थापाले बताएका छन् । विधवाको तीस वर्ष नाघेका छोराछोरीले पनि मुद्दा जितेको थापा बताउंछन् । बाबु आमा नभएका दुईजना बेग्ला बेग्लै अनाथले भर्खर मुद्दा जिते । अदालतले जिताउने मुद्दामा सरकारले भने अनावश्यक झन्झट दिएको गुनासो गोर्खा अभियन्ताहरुको छ ।
यद्यपि, हालै कोर्ट अफ अपिलबाट भएको फैसलाले उमेर हदबन्दी र शर्त बिना सबै उमेरका विवाहित अविवाहित सन्तानले आवासीय अधिकार पाउने भन्ने कुरा भ्रमपूर्ण भएको सरोकारवाला बताउंछन् ।
प्राविधिक समितिको चौंथो वार्ता बिना निष्कर्ष
यसैबीच, भूपू गोर्खाले राख्दै आएका समान पेन्सन लगायत माग र अन्य समस्या समाधानका लागि बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिको चौंथो वार्ता बिना निष्कर्ष टुंगिएको छ । लन्डनस्थित नेपाली दूतावासले सहजीकरण गरेको पछिल्लो वार्तामा भूपू गोर्खाका तर्फबाट पेश भएको प्रतिवेदन (बटमलाइन) बेलायती पक्षले ग्रहण गरेपनि अन्तिम निर्णय गर्ने अधिकार आफूहरुलाई नभएको भन्दै केही निर्णय हुन सकेन । भूपू गोर्खाले मन्त्रीस्तरिय वार्ता गर्न बेलायती पक्षलाई सुझाएका छन् । समितिमा संलग्न मेजर रिटायर्ड जुदबहादुर गुरुङले अब भूपू गोर्खाहरु प्रत्यक्ष वार्तामा नबस्ने जनाउंदै यस मुद्दा सम्वन्धमा बेलायत र नेपाल सरकारबीच नै वार्ता हुने निष्कर्ष निकालिएको बताए । तर चौंथो चरणको वार्ता भइसक्दा भूपू गोर्खा सकारात्मक परिणाम आउनेमा आशावादी छन् ।
भूपू गोर्खाहरुले पहिलो बैठकमै ६१ पृष्ठ लामो दस्तावेज बेलायत सरकारसमक्ष बुझाएका थिए । त्यसयता चरणवद्ध वार्ता भएका हुन् । गत मार्च २९ मा नेपाल सरकार र बेलायत सरकारका प्रतिनिधि तथा गोर्खाहरुबीच भएको त्रिपक्षीय वार्तामा समस्या समाधानका सर्वपक्षीय प्राविधिक समिति गठन गरिएको थियो ।
भूपू गोर्खाहरुले अवकास पाए देखि अंग्रेज सरह समान पेन्सन, स्टेट पेन्सन, रिडन्डेन्सीमा पठाइएकालाई एकमुष्ट उपदान, विधवा र हवाइ काण्डमा परेका १२१ जनालाई उचित क्षतिपूर्ति, सन् १९६५ यता जन्मिएका वयस्क सन्तान सबैलाई आवासीय अधिकार आदि माग राख्दै आएका छन् । तर, बेलायतको उच्च अदालत र युरोपेली अदालतले समेत भूपू गोर्खाहरुको समान पेन्सन मुद्दा हराइसकेपछि समाधानका लागि अब कुटनीतिक विकल्पमात्र सम्भव छ ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि