वासिङ्टन, २७ असार । अमेरिकी राष्ट्रपतिको कार्यालाय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको भेटवार्तामा नाकाबन्दीका विषयमा पनि कुराकानी भएको स्पष्ट गरेको छ ।
जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा गत हप्ता दुई देशका राष्ट्रपतिको हैसियतमा उहाँहरुबीच पहिलो पटक भेटवार्ता भएको हो ।
सो वार्ताका क्रममा उहाँहरुबीच सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसको हस्तक्षेप भएको भन्दै नाकाबन्दीका विषयमा पनि कुराकानी भएको बताइएको थियो ।
तर सो विषयलाई अमेरिकी राष्ट्रपति ट्रम्पले भने अस्वीकार गर्नुभएको थियो । उहाँले आफ्नो भेटका क्रममा रुसी राष्ट्रपति पुटिनसँग अन्य विषयमा कुराकानी भए पनि नाकान्दीका बारे भने कुरा नभएको बताउनुभएको थियो ।
राष्ट्रपति ट्रम्पले यो दाबी गरेको दुई दिनपछि ह्वाइट हाउसले भने त्यसको पनि खण्डनको स्वरुपमा यो खुलासा गरेको हो । ह्वाइट हाउसका प्रवक्ता सराह हकाबी स्यान्डर्सले उहाँहरुबीच नाकाबन्दीका बारेमा पनि कुराकानी भएको जानकारी सोमबार दिनुभएको थियो ।
यो भेटमा दुई देशबीचको सम्बन्ध थप विकास र प्रवर्धनका लागि पहिलो परीक्षणका रुपमा यो भेटवार्तामा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जी–२० समूहको सम्मेलनमा सहभागिताका लागि जर्मनीको ह्यामबर्ग जानुभएको थियो । सो सम्मेलनपछि उहाँहरुबीच भेटवार्ता भएको थियो ।
रुससँग संयुक्तराज्य अमेरिकाका धेरै विषयमा मतभेद छन् । सन् २०१६ को आम निर्वाचनमा रुसको संलग्नताको कुरा गत वर्ष नै बाहिर आएको थियो । यद्यपि यो मुद्दा पुष्टि भइसकेको भने होइन ।
यसैगरी उहाँहरुबीच पछिल्लो समयमा उत्तर कोरियाले गर्ने गरेको आणविक परीक्षणको विषयमा पनि कुराकानी भएको बताइएको थियो । उत्तर कोरियाप्रति रुस विगत देखि नै तटस्थ रहँदै आएकोले अमेरिकाले रुसलाई सो विषयमा कुराकानी गर्न आग्रह गरेको बताइएको थियो ।
राष्ट्रपति ट्रम्पले जुन विषयमा आफूले कुराकानी नगरेको बताउनुभएको थियो सोही विषयमा विवादास्पद हुनेगरी कुरा भएको भनी ह्वाइट हाउसले नै यो बिषय बाहिर ल्याएको सञ्चारमाध्यमले जनाएका छन् ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर