
चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा रहेको घडियाल गोही । यहाँका गोहीका बच्चाहरु एक बर्ष नपुग्दै मर्न थालेपछि अनुसन्धान थालिएको छ । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
रत्ननगर (चितवन), २३ असार । आहारा खाँदै नखाने, दुब्लाउने, अनि मर्ने । सरसर्ती हेर्दा निकुञ्जमा प्रजनन गराइएका घडियाल गोहीका बच्चाको मृत्युको लक्षण यस्तो देखिन्छ । हरेक वर्ष यस्तै रोगको लक्षणले बच्चा मर्दै आएका छन् ।
प्रजनन गराइएका गोहीको मृत्युदर कुनै कुनै वर्ष ५० प्रतिशतसम्म पुगेको चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रका प्रमुख तथा सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का बताउनुहुन्छ ।
खड्काले भन्नुभयो –’अरु बेला ३० प्रतिशतको हाराहारीमा गोहीका बच्चा मर्ने गरेका छन् । मुख्य गरी नखाने अनि दुब्लाएर मर्ने । यही मुख्य समस्या होे । रामपुरमा अनुसन्धान थालिएको छ त्यसको रिपोर्ट आएपछि कारण पत्ता लाग्ला ।’
गैँडाभन्दा पनि दुर्लभ मानिएको घडियाल गोहीको बच्चाको मृत्युदर पत्ता लगाउन यहाँ अनुसन्धान थालिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको सहकार्यमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले यसरी अनुसन्धान थालेको हो ।
उक्त विश्वविद्यालयको जैविक प्रविधि केन्द्रका विज्ञ तथा अध्ययनरत विद्यार्थीको सहभागितामा अनुसन्धान भइरहेको उपकुलपति डा आइपी ढकालले जानकारी दिनुभयो । अनुसन्धानमा केन्द्रका उपप्राध्यापक डा हिमाल लुइँटेल सहभागी हुनुहुन्छ ।
डा लुइँटेलले अनुसन्धानबारे भन्नुभयो – ‘मुख्यगरी हामीले तीन पक्षलाई हेर्न खोजेका छौँ । एउटा किन खाना खाँदैन, दोस्रो कुनै संक्रमणबाट हुनसक्छ भनेर कारण खोज्दै छौँ र तेस्रो भनेको पानीमा विषादी मिसावट कतिको छ हेरिरहेका छौँ ।’ अहिले संवेदनशील अङ्गको भिसेरा परीक्षणको क्रम चलिरहेको छ ।
पटकपटक गरेर यहाँबाट ४०-५० वटा गोहीका मरेका बच्चा अनुसन्धानका लागि ल्याइसकिएको छ । मर्ने बित्तिकै निकुञ्जले फ्रिजमा राख्छ, अनि त्यसलाई ल्याएर कृषि विश्वविद्यालयको अत्याधुनिक प्रयोगशालामा अनुसन्धान हुन्छ ।
अनुसन्धान कार्यमा डा लुइँटेलसँगै निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरे, डा अमिर षडौँला र शैलेश शर्मा सहभागी हुनुहुन्छ ।
अनुसन्धान सफल भयो भने प्रजनन केन्द्रका लागि त्यो उपलब्धि हुने चितवन निकुञ्जले जनाएको छ । ‘एक वर्षमाथिका मर्ने चान्स कम हुन्छ, जति पनि मर्छन् तलकै मर्छन्’, प्रजनन केन्द्रका प्रमुख वेदबहादुर खड्काले भन्नुभयो ।
गोहीमा सन् २००७ मा वरिष्ठ पशुचिकित्सक डा कमल गैरेले अध्ययन गर्दा १०-१२ किसिममा समस्या फेला परेका थिए । पानीको संक्रमणको समस्या बढी देखिएको थियो । खोलाको पानी नहाली जमिनमुनिको पानी प्रयोग गर्न आफूले सुझाव दिएको डा गैरेले बताउनुभयो । अहिले समस्या थपिएको हुनसक्ने भएकाले फेरि अनुसन्धान हुँदैछ ।
डा गैरेले सन् २००७ मा एउटा नयाँ परजीवी पत्ता लगाउनुभएको थियो । फ्लुटे प्रजातिको परजीवीलाई उहाँकै नामसँग जोडेर प्रोक्टोसिकन गैरे आई परजीवी भनेर नामकरणसमेत गरिएको थियो ।
पछिल्लो समयमा बर्दिया राष्ट्रिय निकुञ्जमा पनि गोहीले बच्चा कोरल्न थालेको छ । बर्दियामा मृत्युदर २० देखि ३० प्रतिशत रहेको बताउँदै निकुञ्जका प्रमुख रमेश थापा शुरुमै टन्न नखाँदा सुक्दै मर्ने गरेको अनुभव सुनाउनुभयो । ‘त्यसैले हामीले शुरु मै मान्छेले नखुवाई उसलाई आफैँ खान लगाउने गरेका छौँ’, थापाले भन्नुभयो ।
यसरी हुर्काइन्छ घडियाल गोही
सन् १९७८ देखि शुरु भएको निकुञ्जको गोही प्रजनन केन्द्र नेपालकै एकमात्रै सुविधायुक्त प्रजनन केन्द्र हो । एक वर्षमा यहाँ करिब २५० सम्म बच्चा निकाल्ने गरिएको छ । बर्दियामा रहेको गोही केन्द्रले गएको वर्षदेखि मात्रै बच्चा कोरल्न थालेको छ ।
केहीले प्रजनन केन्द्रमै अण्डा पार्छन् भने प्राकृतिक बासस्थानमा गोहीले पारेका अण्डा संकलन गरेर ल्याई बच्चा कोरल्ने काम भई केही मात्रामा हुन्छ ।
हाल चितवनको प्रजनन केन्द्रमा ५०० भन्दा बढी गोही छन् । करिब २०० जति बच्चा छन् । एउटा वयस्क भाले छ भने १२ वटा वयस्क पोथी छन् । यसपालि पनि जोखिम क्षेत्रका अण्डा ल्याएर प्रजननमा राखिएको छ । हाल निकुञ्जले एक हजार २२६ गोही विभिन्न नदीमा छाडेको थियो ।
अधिकांश गोही नारायणी र राप्ती नदीमा छाडिएको थियो । तर अहिले अनुगमनमा जम्मा १६६ मात्र फेला प¥यो । अनुगमनले गोही दशप्रतिशत पनि नबाँचेको देखायो ।
अझ प्राकृतिक बासस्थानमा घडियालका बच्चा मर्ने दर डरलाग्दो छ । प्रजनन केन्द्रका प्रमुख वेदबहादुर खड्का ९९ प्रतिशत बच्चा विभिन्न कारणले मर्ने गरेको बताउनुहुन्छ ।
मर्नुमा सहायक नदीको अवस्था, भारत जाने नदीमा प्रदूषण जस्ता कारण छन् । निकुञ्ज बाहिर बासस्थान नै छैन गोहीका लागि । कतिलाई गोहीले खाइदिन्छ । कतिलाई चरा चिलले पनि लैजान्छ । बाघले खाइदिने समस्या पनि छ । तर रोगब्याधीले पनि मरेको हुनसक्छ । अनुसन्धान नभएकाले यसै भन्न सक्ने स्थितिमा निकुञ्ज छैन । तर बाँच्ने दर भने अत्यन्त न्यून रहेको खड्का बताउनुहुन्छ ।
एकमात्रै भाले गोही पनि मरेपछि भने अहिले प्रजननमै समस्या परेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल भारतबाट गोही ल्याउने विषयमा छलफल भइरहेको बताउनुहुन्छ ।
घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको छ । चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदीमा बस्दै आएको दुर्लभ घडियाल गोही अघिल्लो महिना महाजालमा अड्किएर मरयो ।
प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार चितवनको गोलाघाट क्षेत्र आसपासमा बस्दै आएको एकमात्र बयस्क भाले घडियाल गोही मरेको हो ।
‘मुखमा जाल बेरिएको पाइयो’, कँडेलले भन्नुभयो – ‘माछा मार्ने सिजन नै नभएका बेला घटना हुनपुग्यो ।’ निकुञ्जमा सन् २०१६ मा गरिएको अनुगमनमा जम्मा १६६ गोही थिए । त्यसमध्ये टाउकामा डल्लो निस्किएको गोही त्यो एक मात्र थियो ।
टाउकामा डल्लो निस्किएका गोही भाले हुन् । ‘अरुमा डल्लै निस्किएको छैन, त्यो ननिस्किएसम्म भाले भन्न मिल्दैन’, गोही प्रजनन केन्द्रका प्रमुख खड्का भन्नुहुन्छ ।
माछा मार्न प्रयोग गरिएको तियारी जाल (महाजाल) मा अड्किएर गोही मरेको हो । अझै पनि मानिसमा चेतना नआएको यो घटनाले देखाउँछ ।
माछा मार्न बन्देज लगाइएको तियारी जाल अझै लुकीछिपी प्रयोग हुँदै आएको छ । यसअघि पनि विभिन्न समयमा जालमा अड्किएर गोही मरेको पाइएको छ ।
घडियाल लोपोन्मुख बनेपछि चितवन निकुञ्जले घडियाल प्रजनन केन्द्र नै स्थापना गरेर गोही हुर्काउँदै नदीमा छाड्दै गरे पनि प्राकृतिक बासस्थानमा १० प्रतिशत मात्र फेला परेका छन् । यो दुःखद स्थिति हो ।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग