काठमाडौँ, १० असार । आफ्नो कार्यकालको उत्तरार्धमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले बडो मेहनतका साथ क्युबासँग गर्नु भएको बिभिन्न राजनीतिक सम्झौता र सम्बन्ध नवीकरणको कामले अब भने निरन्तरता नपाउने खतरा बढेको छ ।
एकपछि अर्काे गर्दै ओबामाका नीतिमा आँखा लाउँदै आउनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक क्युबासँगको नीतिलाई उल्ट्याउने संकेत दिनुभएको छ । उहाँले करिब आधा शताब्दिपछि क्युबासँग पुनस्र्थापित दौत्य सम्बन्धका केही विषयमा पुनर्विचार गर्नुपर्ने भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामाको क्युबा–नीति उल्टाइदिने स्पष्ट संकेत गर्नुभएको छ ।
पूर्वराष्ट्रपति ओबामाले क्युबा–अमेरिकाबीचको यात्रा प्रतिबन्ध खुकुलो बनाएको, व्यापारमाथिको कडाइलाई केही सहज बनाएको र तत्कालिन समयमा गरिएका अन्य कतिपय सुधारोन्मुख कार्यहरु केही दिन अगाडि पुनःप्रतिबन्ध लगाइएपछि दुई देशबीचको राजनीतिक सम्बन्धमा पुनः प्रश्न चिह्न खडा भएको छ ।
छिमेकी भए पनि यी दुई देशबीच निकै लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रही आएको थियो । ओबामाले संसारमा सम्बन्ध विकास गरिसकेको अमेरिकाजस्तो विश्वको शक्तिशाली देशले छिमेकीसँगको सम्बन्धमा किन यति लामो समयदेखि कठोर बनेको हो भन्ने भन्ने दबाबको सामनास्वरुप क्युबासँगको सम्बन्धमा सुधार गर्नुभएको थियो । उहाँ नै क्युबा गएर अमेरिकी दूताबासको स्थापना गर्ने र अमेरिकी झन्डाको झण्डोत्तोलन गरी सम्बन्धको नवीकरण गर्नुभएको हो । यसलाई क्युबा र विश्वका कैयौँ देशले राम्रो मानेका थिए ।
विश्वका बहुसङ्ख्यक राष्ट्रहरुसँग गाँसिएको सम्बन्ध अमेरिकाले बिगार्नुको साटो यसलाई थप सुदृढ र विस्तृत बनाउँदै लानेछ भन्ने विश्वास सम्पूर्ण विश्व समुदायलाई उहाँले दिनुभएको थियो । तर अब त्यो अनुमान गरिरहेको ठीक बिपरित केही समय अघि ह्वाइट हाउसले जारी गरेको एक विज्ञप्तिमा ओबामाको क्युबा नीतिलाई लगभग रद्ध गरेर पुरानै अवस्थामा फर्काउने गरी प्रक्रिया सुरु भएको घोषणा गरिएको छ ।
पूर्वराष्ट्रपति बाराक ओबामाले क्युबाको ऐतिहासिक भ्रमण सम्पन्न गरेपछि क्युबाली बुद्धिजीवीले अमेरिकासँगको सम्बन्ध सुधारबाट अथाह नयाँ अवसर पाउने र राष्ट्र लाभान्वित हुने सपना देखेका थिए । दुई मुलुकबीच ५७ वर्षदेखि रहँदै आएको स्थायी मतभिन्नता पनि चाँडै नै अन्त्य हुने सुखद् अड्कल पनि त्यतिखेर गरिएको थियो ।
यद्यपि पहिलेदेखि नै जरो गाडीबसेको दुई देशबीचको मनमुटावको अंश भने नष्टहुन बाँकी नै थियो । यस मनमुटावलाई राष्ट्रपति ट्रम्पले मेटाउनु होला भन्ने क्युबाली र अमेरिकी जनतामा रहेको चाहनालाई झनै आश्चर्यपूर्णरुपमा बाहिर ल्याइदिनुभएको छ ।
त्यस बखत भएको अमेरिकी राष्ट्रपतिको भ्रमणले गत अगस्टमा सुरु भएको दुई देशबीचको सम्बन्ध अगाडि रहेको तिक्तता सामान्यीकरण गर्नमा कोशेढुङ्गा सावित भएको थियो ।
एक जना क्युबाली राजनीतिक विश्लेषक हेडेलबर्टो लोपेजको शब्दमा अमेरिकी सरकारले क्युबालाई महत्व नदिँदा अमेरिकाभित्रै विरोधी शक्तिको सङ्ख्या बढ्छ र अमेरिकाकै आत्म–सम्मानमा नकारात्मक असर परिरहनेछ भन्ने कुरा बल्ल बुझेको छ ।
यस्तो सकारात्मक सोचतर्फ ध्यान नदिई हाल राष्ट्रपति ट्रम्पले प्रतिपादन गर्नुभएको नीतिको कारण क्युबाप्रति ५७ वर्ष अघिको बैमनस्य पुनः फर्काउने गतिबिधिलाई बढावा दिन खोज्नु भएको महसूस हुन लागेको छ ।तत्कालिन समयमा अमेरिकी राष्ट्रपतिको क्युबा भ्रमण एक अकल्पनीय घटना सत्यमा परिणत भएको क्षण थियो । वास्तवमा क्युबालीहरु अमेरिकी जनताको साथ सहयोग पाउन चाहन्छन् । त्यस बखत अमेरिकी राष्ट्रपतिको भ्रमणले क्युबाली जनताको अमेरिकासँग आफ्नो माग र चाहना पनि उजागर हुने अवसर प्राप्त भएको थियो ।
इतिहासको लामो कालखन्डसम्म दुई प्रतिद्वन्द्वी वा शत्रुवत् व्यवहार हुँदै आएका मुलुकबीच पुनःसम्बन्ध कायम हुनुले आगामी अमेरिकी राष्ट्रपति पदमा जोसुकै निर्वाचित भएपनि यस सम्बन्ध थप सुदृढ पार्दै लग्ने विश्वास गरिएको थियो । सम्बन्ध एकैपटक नाटकीय रुपमा विस्तार हुने पनि होइन । विस्तारै यसको विकास हुँदै जाला भन्नेमा विश्वास गरिएको थियो । तर त्यसो हुन सकेन । परिस्थितिले अर्कै रुप लियो र सम्बन्धका विगतका कैयन् प्रयासमा अवरोध उत्पन्न भएको देखियो ।
पूर्वराष्ट्रपति ओबामा क्युबामाथिको प्रतिवन्ध तत्काल हटाउने र व्यापारिक सम्बन्ध विस्तार पनि अरू मुलुक सरह गर्ने विचारमा रहनु भएपनि रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी संसद्ले भने यसमा हतार गरिहाल्नु पर्ने स्थिति नभएको मत राखेको थियो । त्यस मतलाई कदर गर्दै त्यसकै पक्षमा अहिले राष्ट्रपति ट्रम्पको नीतिगत निर्णय आएको देखिन्छ । उहाँले राष्ट्रपतिको पदभार सम्हालेलगत्तै क्युबा नीतिमा आंशिक रुपमा परिवर्तन गर्ने प्रक्रियाको सुरुवात भने गर्नुभएको थियो ।
सोही सम्बोधनको क्रममा क्युबामाथि लागू गरिएको पूर्वकानुनी बन्देज खुकुलो पारिएको बारेमा पनि पुनःविचार गरिने बताउनुभयो । साथै क्युबामा अमेरिकाले खोलेको राजदूताबास पनि बन्द गर्न लगाउनुभएको छ राष्ट्रपति ट्रम्पले । उपराष्ट्रपति माइक पेन्स, फ्लोरिडाका सिनेटर मार्को रुबियोसमेत उपस्थित उक्त कार्यक्रममा उहाँको भनाइलाई केही समर्थकले तालीको गड्गडाहट र ‘भाइभा क्युब लिब्रे’, ‘गड ब्लेस अमेरिका’ ‘थ्याङ्क यु मिस्टर प्रेसिडेन्ट, वि लभ यू’ जस्ता ट्रम्पका कर्णप्रिय नाराहरुले स्वागत गरेको देखिएको थियो ।
अमेरिका र क्युवाबीच सन् १९६१ देखि विग्रिएको सम्बन्ध पूर्वराष्ट्रपति ओबामा–प्रशासन कालखन्डमा अपेक्षित सुधारोन्मुख रही निकै अगाडि बढिसकेको थियो । अमेरिकाले सन् २०१६ मा हवानामा राजदूताबास खोलेपछि क्युबा यात्रा गर्ने अमेरिकी पर्यटकहरुको सङ्ख्या ह्वात्तै बढ्नुका साथै अमेरिकी महादेशमा व्यापारिक क्षेत्र पनि फराकिलो भएको थियो ।
यता क्युबामा पनि सैनिक शासक तथा अत्यन्त कट्टरपन्थी फिडेल क्यास्ट्रोको अवसानपछि त्यहाँको जनताले आफूलाई स्वतन्त्र भएको महसुस गरेका थिए । बहुसङ्ख्यक क्युबालीको मातृभाषा स्पेनिस करोडौँ अमेरिकी जनताको प्रिय भाषासँग मिल्दछ । भाषा मिलेपछि भेषभूषा, संस्कार र विचार स्वतः मिल्ने नै भयो । अमेरिकी भ्रातृत्वको चाहना राख्ने दशौँ लाख क्युबाली जनताको सपना ओबामा प्रशासनको लचकताले पूरा हुने देखिएको थियो । तर भने अहिले पुनः पहिलेकै स्थितिमा फर्कने लक्षण देखा परेको छ ।
विश्वबाटै आतङ्कवाद निर्मूल पार्ने अभियानमा होमिएको अमेरिकालाई आफ्नो छिमेकी सानै भए पनि सुदृढ र रसियाली युद्ध प्रविधिसँग परिचित क्युबासँगको सम्बन्ध विस्तारबाट मित्रता प्राप्त हुने कुरामा दुई मत थिएन । दौत्य सम्बन्ध विस्तारबाट उसले क्युबालाई बाझाबाझ गरिरहने छिमेकीको सट्टा आफ्नो समर्थक र परिआएमा सम्पूर्ण अमेरिकी महादेश एक ढिक्का बन्नका लागि जस्तोसुकै सहयोग गर्न तत्पर एक घनिष्ठ र इमानदार सहयात्रीको रुपमा पाउने थियो । तर यस्तो अवस्था अब रहने देखिएन । त्यसतर्फ अमेरिकी राष्ट्र«पति ट्रम्पको नीति अघि बढिसकेको छ ।
रुसको विदेश मन्त्रालयले समेत केही दिन अघि गरेको टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालको क्युबा सम्बन्धी नीतिले अमेरिका र क्युबाबीचको शीतयुद्ध पुनः ब्युँतिने भन्दै चिन्ता ब्यक्त गरेको थियो । यो संयोग पनि हुनसक्छ कि रुसको यो चिन्ता र राष्ट्रपति ट्रम्पको नीति एकसाथ मिल्न गएको छ । हालका लागि उहाँले यसअघिको ओबामा प्रशासनले अमेरिकीलाई बिदाको समयमा एक्लै र स्वतन्त्र रुपमा घुम्न जान दिने नीतिमा परिवर्तन ल्याइसक्नुभएको छ । अब अमेरिकी क्युबा पर्यटकको रुपमा जाँदा ट्राभल एजेन्ट वा टुर गाइड चाहिने छ ।
त्यसैगरी यसअघि अमेरिकीले क्युबामा र क्युबालीले अमेरिकामा लगानी गर्न, बैँकमा पैसा पठाउन र अन्य सामान्य आर्थिक कारोबारमा सहजता प्रदान गरेकोमा हालसालै तिनमा पनि प्रतिबन्ध लागेको छ । राष्ट्रपति ट्रम्पको तर्क छ, यस्तो आर्थिक नीतिले अमेरिकीलाई कुनै फाइदा पुगेको छैन, अमेरिकी अर्थतन्त्रमा कुनै सकारात्मक परिवर्तन आएको छैन । त्यसैले अब यसमा प्रतिबन्ध लागेको छ । यी दुई नीतिमा अहिले नै गरिएको परिवर्तन र हालै उहाँले गर्नुभएको एक सार्वजनिक सम्बोधनमा क्युबामा अवस्थित अमेरिकी दूताबास बन्द गरिने भनी दिएको नीतिगत ब्यवस्थाले पनि अबका दिनमा उहाँको क्युबा नीति पहिलेकै अवस्थामा पुग्ने अनुमान अधिकतम रुपमा लगाउन सकिन्छ । (विभिन्न समाचार समितिको सहयोगमा)
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम